धमाधम मेलमिलाप केन्द्र

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७६
milap

पोखरा ।पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले पोखरा–२२ मा मेलमिलाप केन्द्र स्थापना गरेको छ । केन्द्रको महानगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले उद्घाटन गरिन् । उनले मेलमिलापले पैसा, समयको बचतसँगै समाजमा एकता कायम गर्ने बताइन् । उनले समाजलाई विवाद रहित बनाउनसके उत्तम हुने र त्यस्तो हुन नसके विवाद सृजना भए मेलमिलाप मार्फत मिल्दा उत्तम हुने बताइन् ।

अदालती प्रक्रियामा जाँदा सधँै प्रतिशोधको भावना रही रहने भएको बताउँदै उनले समाजमा शान्ति र सद्भाव कायम गराउन मेलमिलाप केन्द्रको अवधारणा ल्याएको बताइन् । समाजमा शान्ति, विकास र समृद्ध बनाउन आपसी सहमती र एकता आवश्यक हुने बताइन् ।वडा २२ का अध्यक्ष मित्रलाल बरालले वडा तहका विवाद समाधान गर्न सहज हुने बताए । न्यायिक समिति सदस्य किशोर बरालले न्यायिक समितिको कार्यक्षेत्र, मेलमिलापकर्ताको भूमिका, आचारण र योग्यताका बारेमा स्पष्ट पारेका थिए ।

कार्यक्रममा नेकपा वडा २२ का अध्यक्ष चण्डिका बराल, मेलमिलापकर्ता कमलप्रसाद बराल लगायतले मेलमिलापकर्ताले विवादका दुवै पक्षलाई जीतजीतको अवस्था सहित समाधान गर्नुपर्नेमा जोड दिए ।
वडाध्यक्ष मित्रलाल बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महानगरका कानून अधिकृत राममणि अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width