लाप्राक बस्ती निर्माण

आदर्श समाज सम्वाददाता
माघ ७, २०७६
nrna

पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गोरखाको लाप्राकमा एकीकृत नमुना बस्ती निर्माण गरिरहेको छ । निर्माण थालिएको ३ वर्ष पुगिसक्दा पनि घरहरु तयार भएका छैनन् । घर पूरा नहुँदा भूकम्पपीडित नागरिक अझै त्रिपालमुनी रात कटाइरहेका छन् । यद्यपि भवन निर्माणको काम पूरा भएको र शौचालयको काम भइरहेकोमा हिउँ परेका कारण निर्माणमा समस्या परेको जनाइएको छ ।

हिउँ पर्न रोकिएलगत्तै लाप्राक बस्ती निर्माण सकेर हस्तान्तरण गरिने एनआरएनएका अध्यक्ष कुमार पन्तले पोखरामा सोमबार भएको पत्रकार सम्मेलनमा जानकारी दिए । ‘हिउँ धेरै परेको वर्ष किसानलाई खुसी लाग्ने रहेछ । तर हामीलाई हिउँले गर्दा समयमा काम गर्न अवरोध भयो,’ उनले भने, ‘हिउँ पग्लेको ३ हप्तामै काम सकेर हस्तान्तरण गर्छौं ।’ सम्झौता गर्दा शौचालय निर्माणको जिम्मा स्थानीयकै भए पनि अहिले स्थानीयले शौचालय समेत निर्माण गरिदिन आग्रह गरेपछि केही काम लम्बिएको उनले सुनाए ।

‘शौचालय निर्माणको पनि ५० प्रतिशत काम सकिएको छ । प्रतिशौचालय थप ४० हजार खर्च हुनेछ,’ उनले थपे । २०७२ को विनासकारी भूकम्पका कारण बस्ती ध्वस्त भएपछि विस्थापित लाप्राकीका लागि एनआरएनएले गुप्सीमा एकीकृत नमुना बस्ती निर्माण जिम्मा लिएको थियो । बस्तीका लागि सरकारले १८.३२ हेक्टर क्षेत्रफल जग्गाको भोगाधिकार दिएको छ । तर लालपुर्जाको प्रक्रिया भने अझै टुंगिएको छैन ।
‘बाहिर घर भएकालाई त्यहाँ दिन मिल्दैन । लाभग्राही सूची नै गाउँपालिकाले निकाल्न सकेको छैन,’ अध्यक्ष पन्त भन्छन्, ‘लाभग्राही सूचीका आधारमा लालपूर्जा बाँड्ने हो । सरकारी प्रक्रिया अझै बाँकी छ ।’ त्यस ठाउँमा ५ सय ७३ वटा घर निर्माण गरिएको छ । पन्तले लाप्राक बस्तीलाई पर्यटकीय गन्तव्य रुपमा विकास गर्न सरकारसँग आग्रह पनि गरे । त्यहाँ स्वास्थ्य चौकी, सामुदायिक भवन, बस्तीभित्रको सडक लगायत पूर्वाधारको काम पनि भैरहेको छ ।

काठमाडौंमा स्मार्ट शौचालय

एनआरएनएको ७१ औं बैठक गत शुक्रबार र शनिबार कास्कीको रुपाकोटमा बसेको थियो । बैठकका निर्णय सोमबार सार्वजनिक गर्दै एनआरएनएले काठमाडौंमा स्मार्ट शौचालय बनाउने घोषणा पनि गरेको छ । नमुना शौचालय निर्माणका लागि महानगरसँग सम्झौता भैसकेको अध्यक्ष पन्तले जानकारी दिए । ‘हामीले शौचालय बनाएर हस्तान्तरण गर्नेमात्रै होइन । शौचालय व्यवस्थापन कसरी हुनुपर्छ भनेर पनि सिकाउन लागेका हौं,’ उनले भने, ‘जहाँ धेरै फोहोर छ, त्यहाँको सरसफाइ पहिले गर्नुपर्छ । हाम्रो राजधानी अहिले बढी फोहोर छ ।’

बैठकले ग्रामीण विद्यालयहरुमा शौचालय निर्माण अघि बढाउने निर्णय पनि गरेको छ । नमुना शौचालय निर्माणका लागि बैठकबाटै ४० लाख रुपैयाँ संकलन भैसकेको उपाध्यक्ष रवीना थापाले जानकारी दिइन् ।
यस्तै, नेपाल भ्रमण वर्ष २०२० सफल पार्न विभिन्न कार्यक्रम गरिने बैठकको निर्णय छ । अन्तर्राष्ट्रिय शहरहरुमा महोत्सव सञ्चालन गर्ने र नेपालको प्रचारप्रसार गर्ने योजना अघि सारिएको हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषद्को वार्षिक कार्यक्रम रणनीतिक योजनासहित एकमुष्ट विवरण आगामी १ महिनाभित्र सार्वजनिक गर्ने थापाले बताइन् । यस्तै, सन् २०२० भित्रै नेपाल सरकारसँग समन्वय गरेर विश्व विज्ञ सम्मेलन गर्ने, मानव कल्याणकारी काम गर्न श्रोत जुटाउने उद्देश्यले एनआरएनए फाउण्डेसन स्थापना गर्ने, ६ महिनाभित्र स्मार्ट एनआरएनए परियोजनाको प्रस्तावना तयार गर्ने लगायत निर्णय पनि भएका छन् ।

वैदेशिक रोजगारीबारे श्वेतपत्र

वैदेशिक रोजगारीमा परेका समस्या, समाधान र सम्भावना खोजी गरी श्वेतपत्र जारी गर्ने भएको छ । ६ महिनाभित्रै श्वेतपत्र निकाल्ने र सोही अनुसार कार्ययोजना बनाएर काम गर्ने संघले जनाएको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सीप र क्षमताको सदुपयोग गर्न उनीहरुको विवरण संकलनका लागि सरकारले अघि सारेको श्रम बैंक कार्यक्रममा सहकार्य गर्ने निर्णय समेत बैठकले गरेको छ । वैदेशिक सामाजिक सुरक्षा कोषको कार्यान्वयन तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएको छ भने नागरिकता ऐन पारित गरी संविधानमा व्यवस्था भएअनुरुप गैरआवासीय नेपालीलाई नागकिता दिने व्यवस्था प्र्रारम्भ गर्न पनि आग्रह गरेको छ ।

लगानी, सम्पत्ति र गैरआवासीय नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसँग जोडिएका गैरआवासीय नेपालीसम्बन्धी ऐनको पुनर्लेखन गर्न र त्यसमा संघले पेस गरेका सुझाव समेट्न पनि बैठकबाट आग्रह गरिएको छ । संघको संरचना प्रयोग भइ प्रवद्र्धन भइ आएका व्यावसायिक कम्पनीको नाफाको निश्चित प्रतिशत संघको कोषमा जम्मा गर्न सम्बन्धित सबैलाई अनुरोध गर्नेसमेत निर्णय गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width