पर्यटन प्रवद्र्धनमा मिडियाको महत्वपूर्ण भूमिका- मन्त्री लम्साल

आदर्श समाज सम्वाददाता
पौष २५, २०७६
minister

पोखरा, २५ पुस गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटन प्रवद्र्धनका लागि मिडियाको भूमिका महत्वपूर्ण भएको बताएका छन् ।

फेवा टेलिभिजनको तेस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री लम्सालले पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार मुख्य कुरा भएको बताए । गण्डकी प्रदेशको लोकसंस्कृतिलाई उजागर गर्न फेवा आइडलको आयोजना गरेर फेवा टेलिभिजनले प्रशंसनीय कार्य गरेको भन्दै मन्त्री लम्सालले लोकसंस्कृतिका क्षेत्रमा काम गर्न यस्ता खालका कार्यक्रम प्रदेश सरकारका लागि आधार भएको उल्लेख गरे ।

मिडियाले सत्य, तथ्य सूचना प्रवाह गर्नुपर्नेमा जोड दिँदै उनले सरकारले गरेका राम्रा कामको प्रचार गरिदिन सञ्चारमाध्यमसँग आग्रह गरे । प्रदेशको समृद्धिका लागि मिलेर काम गर्न मन्त्रालय तयार रहेको भन्दै मन्त्री लम्सालले गण्डकी प्रदेश सरकारले विगत दुई वर्षमा विकासको जग हाल्ने काम गरेको बताए । सञ्चारमाध्यमलाई आधुनिक प्रविधिमा लैजानुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री लम्सालले सञ्चारमाध्यमको सबलीकरणका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गरे । सरकार र निजी क्षेत्र मिलेर रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।

गण्डकी प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले लोकसंस्कृति पर्यटनको मुख्य आधार भएको बताए । कार्यक्रममा संस्कृतिविद् तुलसी प्रभाष, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल, वरिष्ठ लोकगायक बुद्धिमान दुरा ‘धम्पु’ र नृत्य निर्देशक राम लामालाई गरिएको थियो । टेलिभिजनका अध्यक्ष तेजेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा फेवा टेलिभिजनका प्रबन्ध निर्देशक लीलाबहादुर जिसी र लेखा संयोजक राजु श्रेष्ठले पनि बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width