शिवालय माविको ५९ औँ वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
पौष २३, २०७६
shivalaya ma_Fotor

कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ५९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षत्रीले सामुदायिक विद्यालयलाई सामुदायिक जस्तै बनाउनुपनेर्मा जोड दिए। जिल्ला शिक्षा समितिका अध्यक्षसमेत रहेका क्षत्रीले सामुदायिक विद्यालयमा भएको सरकारको ठूलो लगानीको सदुपयोग गर्न समुदायसँग आग्रह गरे। ‘पैसा जसले तिरे पनि जनताकै पैसा हो’ उनले भने, ‘गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी र अभिभावक मिलेर अघि बढ्नैपर्ने हुन्छ। ’

सामुदायिक विद्यालयलाई अघि बढाउन ‘झिकाउ, टिकाउ, सिकाउ र बिकाउ’ गरी चार ‘काउ’मा जोड दिनुपर्ने क्षेत्रीको भनाइ थियो। विकास भनेको बाटा, पुल मात्रै हो भन्ने धारणालाई परिवर्तन गर्नुपर्ने भन्दै अध्यक्ष क्षेत्रीले विकासको पहिलो खुड्किलो नै शिक्षा भएको बताए। ‘लगानीको पहिलो प्राथमिकता शिक्षा क्षेत्रले पाउनुपर्छ, शिक्षामा गरिएको लगानीको प्रतिफल आजको भोलि नदेखिएला, उनले भने, वषौर्ँपछिसम्म यसले प्रभाव राख्दछ, सुसंस्कृत समाज निर्माणमा यसले भूमिका खेल्दछ। ’ क्षेत्रीले रुपा गाउँपालिकाभित्र उत्कृष्ट बनिसकेको शिवालय माविले आफूलाई जिल्ला हुँदै देशकै उत्कृष्ट सामुदायिक विद्यालय बनाउने क्षमता देखाएकोमा खुशी व्यक्त गर्दै रु. ५ लाख पुरस्कार दिने घोषणा समेत गरे।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले निजी विद्यालयमा भन्दा क्षमतावान् शिक्षकहरु सामुदायिक विद्यालयमा छन् भन्ने प्रमाण शिवालयले प्रस्तुत गरेको उल्लेख गरे।

शैक्षिक गुणस्तरका लागि ल्याइएका योजनाहरुलाई कहिल्यै निराश हुन नदिने भन्दै उनले गाउँपालिकाले सम्पूर्ण शिक्षक/कर्मचारी, जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने बाध्यकारी नियम लागू गर्दाको परिणाम सकारात्मक देखिएको अनुभव सुनाए।

रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल र शिक्षा शाखा प्रमुख सन्दिप पौडेलले शिवालय माविबाट अन्य विद्यालयले सिक्नुपर्ने धेरै कुरा रहेको भन्दै गाउँपालिकाले गर्व गर्न सक्ने विद्यालयका रुपमा शिवालय रहेको बताए।

कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले गाउँपालिकाभित्र २ वर्षसम्म उत्कृष्ट भएर पुरस्कृतसमेत भइसकेको विद्यालयलाई जिल्लामै उत्कृष्ट बनाउने अभियानमा विद्यालय लागिपरेको सुनाए।

उनले पाठ्यक्रमले तोकेकोबाहेक विद्यार्थीमा अन्तर्निहीत विभिन्न प्रतिभा विकासका लागि आफूहरुले प्रयास गरेको जानकारी दिए। कार्यक्रममा लेखापाल पूर्णबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा पूर्व विद्यार्थी मञ्चका अध्यक्ष राजन सुवेदी, लेखनाथ उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष राजेन्द्र ओझा, रामकोट माविका प्रधानाध्यापक भरतमणि भट्टराई, वडा नं. २ की कार्यवाहक वडाध्यक्ष हिता रुपाखेती, विव्यस सदस्य दुर्गाबहादुर विक, अक्षयकोष संस्थापक एकबहादुर गुरुङ, शिक्षक–अभिभावक सङ्घकी अध्यक्ष लीला ओझा, कक्षा १० का छात्र सरोज सुवेदीलगायतले बोलेका थिए।

सो अवसरमा विद्यालयका शिक्षकहरु बिना तिमल्सेना, जयराम सुवेदी र सुकबहादुर थापासँगै समाजसेवी रुमबहादुर गुरुङ, अक्षयकोष संस्थापक विमला अधिकारी, व्यवसायी दीपेन्द्र मल्ल, सहयोगी संस्था युनाइटेड क्लब र राइट फर चिल्ड्रेनलाई शिवालय वर्ष सम्मान २०७६ प्रदान गरिएको थियो। कार्यक्रममा चुडामणि तथा बसुन्धरा ओझा अक्षयकोष, पूर्णबहादुर थापा अक्षयकोष, तुलाराम गुरुङ अक्षयकोष, झगबहादुर गुरुङ अक्षयकोष, जमुनादेवी गुरुङ अक्षयकोष, तुलसी ढुङ्गाना अक्षयकोष र पदमराज तथा मैनादेवी सुवेदी अक्षयकोषबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो। विद्यार्थीहरुले नृत्य, गायन, नाटकलगायतका प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रममा वार्षिक शैक्षिक तथा अतिरिक्त क्रियकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापाले आगामि शैक्षिक सत्रदेखि नयाँ ढङ्गले अघि बढ्न केही योजना निर्माण गरिरहेको जानकारी दिए। कार्यक्रमको सञ्चालन शिक्षक जयराम सुवेदीले गरेका थिए। सोही अवसरमा स्थानीय भागीरथी ओझा र राधिका ओझाले विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीलाई सहयोग रकम हस्तान्तरण गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width