त्रिवेणी कपको उपाधि आयोजक हरियोलाई

आदर्श समाज सम्वाददाता
पौष २१, २०७६
Tribeni Cup, Lamjung_Fotor

आयोजक त्रिवेणी युवा क्लब हरियोले राष्ट्रियस्तरको २८ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। फाइनलमा टोखा भगवति युवा क्लब काठमाण्डौंलाई १–० ले हराउँदै आयोजक क्लबको हरियोले उपाधि जितेको हो।

उपाधिसँगै आयोजकले ३ लाख नगद र त्रिवेणी कप तथा मेडल र प्रमाणपत्र पाएको छ। उपविजेता टोखा भवगती युवा क्लब काठमाडौंले १ लाख ५० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

सेमीफाइनलिस्ट दुई टिम सामना युवा क्लब तुरतुरे तनहूँ र समाज कल्याण युवा क्लब काठमाडौंले ५०/५० हजार पुरस्कार र प्रमाणपत्र पाएका छन्। त्रिवेणी युवा क्लबका अफ्रिकन खेलाडी गाजा फाइनल खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए। गाजाले ५ हजार र ‘म्यान अफ दी म्याच’ को ट्रफी पाए।

प्रतियोगितमा त्रिवेणी युवा क्लबका पासाङ लामा प्रतियोगिताका सर्वोत्कष्ट खेलाडी बने। त्यस्तै प्रतियोगितामा बिवाइसी भोटेओडार लमजुङका सन्दीप राना सर्वाधिक गोलकर्ता बने। उनीहरुले समान १५/१५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पुरसकार पाए।

यसैगरी, अनुशासित टिम लमजुङमै रहेको नेपाली सेनाको विभागीय श्रीजंग गण अनुशासित टिमका रुपमा घोषित भयो। उसले नगद १० हजार, ट्रफी र प्रमाणपत्र हात पार्यो।

पोखरालाई खेलकुदको राजधानी बनाउँछौं : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतियोगिताको फाइनल खेल उद्घाटन गर्दै पोखरालाई पर्यटनको मात्र नभई खेलकुदको पनि राजधानी बनाउने प्रतिवद्धता जनाए। आफ्नो गृह जिल्ला लमजुङ आएका मुख्यमन्त्री गुरुङले हालै सम्पन्न सार्क राष्ट्रस्तरका मुख्य खेलहरू पोखराले सम्पन्न गर्ने मौका पाएर त्यो सम्भावनाको ढोका खोलेको उनको भनाई थियो।

‘अवको ८/१० वर्षमै पोखरालाई खेलकुदको समेत राजधानी बनाउँछौं,’ उनले भने, ‘पोखराको सम्भाव्यतालाई उपयोग गर्दै हामी त्यो नगरीलाई पर्यटकीय गन्तव्य मात्र नभई खेलकुदको समेत राजधानी बनाउन चाहन्छौं। त्यो लक्ष्यका साथ प्रदेश सरकारले कामको थालनी गरेको छ।’

लमजुङमा त्रिवेणी युवा क्लबको स्थान लमजुङको खेलकुद क्षेत्रमै उँचो रहेको मुख्यमन्त्री गुरुङले बताए। क्लबले संचालन गर्दै आएको त्रिवेणी खेल मैदानलाई अन्तराष्ट्रियस्तरको सुविधा सम्पन्न मैदान बनाउन प्रदेश सरकारकाले आवश्यक सहयोग गर्ने मुख्यमन्त्री गुरुङको स्पष्टोक्ति थियो। सो अवसरमा अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पाले गण्डकी प्रदेश सरकारसँग मिलेर पहिलो पटक अण्डर–१४ को प्रतियोगिता माघ महिनामा संचालन गरिने बताए। उनले त्रिवेणी खेल मैदानको स्तरोन्नतिका लागि प्रदेश सरकारलाई अनुरोध गरे। उनले यो खेलका बारेमा पटक पटक आफूले राष्ट्रिय सञ्चारमाध्यममा समेत पढ्ने गरेको बताए। यसको स्तरोन्नतिका लागि आफूले सहकार्य गर्न चाहेको शेर्पाको कथन थियो।

शेर्पाले भने, ‘फुटबल संघले यो वर्ष विभिन्न १० जिल्लामा जिल्लास्तरका प्रशिक्षण केन्द्र निर्माण गरी संचालनको तयारीमा छ। यदि, यस जिल्लाका कुनैपनि स्थानीय सरकारहरूले त्यसका लागि जग्गा उपलब्ध गराउन सकेमा हामी प्रशिक्षण केन्द्र बनाउन सघाउँछौं।’

उनले प्रशिक्षण केन्द्र संचालनका लागि कम्तिमा ५० रोपनी जग्गा आवश्यक पर्ने बताए। उनले भने, ‘एक ठूलो र दुई साना खेल मैदान आवश्यक पर्छ। ति मैदानहरुमा कार्यालय, शौचालय आदि निर्माण गरिने हुँदा त्यतिको जग्गा आवश्यक हुन्छ।’

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै