फागुनको ३ गते पोखरा म्याराथन, पुरस्कार राशीमा वृद्धि

आदर्श समाज सम्वाददाता
पौष १५, २०७६
PKR Marathon_Fotor

फागुनको ३ गते पोखरामा १४ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको आयोजना मिति तय भएको छ। भूतपूर्व खेलाडी मञ्च नेालले हरेक वर्ष आयोजना गर्दै आएको पोखरा म्याराथनको पुरुस्कार राशी यस वर्ष बढाएको छ।

सुजल डेरीको मुख्य उत्पादन सफल दुधको मुख्य प्रायोजनमा हुने सफल पोखरा अन्तराष्ट्रिय म्याराथन बारे जानकारी दिन मञ्चद्वारा आयोजित पत्रकार सम्मेलनमा पुरुस्कारको राशी बढाइएको जनाएको छ।

पोखरालाई म्याराथन शहरको रुपमा विश्वमा परिचित गराउन तथा विदेशी धावकहरुलाई आकर्षित गर्न पुरुस्कारको राशीमा वृद्धि गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले बताए। भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स लगायतका देशबाट सहभागिताका लागि मञ्चले पुरस्कार राशीमा समेत वृद्धि गरेको हो।

पोखरा म्याराथनमा कूल २८ जना धावकहरुलाई पुरस्कृत गरिनेछ। मञ्चले यस पटक ४२.१९५ किमीको पोखरा म्याराथन जित्नेले २ लाख नगद प्रदान गर्ने जनाएको छ। त्यसैगरि, दोश्रोले १ लाख, तेस्रोले ७५ हजार र चौथोले १५ हजार पाउनेछन् । त्यस्तै, पोखरा म्याराथन अन्तर्गत १० किलोमिटर महिला, पुरुष, ५ किलोमिटर छात्रछात्रा, ह्विल चियर र दृष्टीविहीनका लागि दौडलाई निरन्तरता दिएको छ। १० किलोमिटर तर्फको दौडमा विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पुरस्कार पाउनेछन्।

५ किलोमिटरतर्फको विजेताले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ४ हजार पाउने छन्। महिला तथा पुरुष ह्विल चियर र दृष्टीविहिन दौडका लागि समेत विजेताले ५ हजार, दोस्रोले ३ र तेस्रोले २ हजार पाउनेछन्।

आम सर्वसाधारणमा खेलकुदको जनचेतना फैलाउन र महत्वलाई उजागर गर्न मञ्चले यस्तो ठूलो इभेन्टट गर्दै आएको हो, ’ अध्यक्ष गुरुङले उल्लेख गरे, ‘यसले स्वच्छ नागरिक उत्पादन गर्ने राष्ट्रले लिएको लक्षलाई सहयोग पुर्याउँछ। ’

अध्यक्ष गुरुङले भने, ‘विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना हुँदै आएको सिटी म्याराथनको अवधारणाअनुरुप पर्यटकीय शहर पोखरालाई खेलकुदको विश्व मानचित्रमा स्थापित गराउँदै पर्यटन प्रवद्र्धन गर्ने प्रतियोगिताको प्रमुख लक्ष्य हो। ’

मञ्चले यस पटक प्रविधिलाई उपयोग गर्दै खेलाडी दर्ता समेत अनलाइनबाट गर्ने जनाएको छ। पोखराम्याराथन डट ओआरजी अनलाइन र मोवाइल एप्सबाट समेत खेलाडीले सहभागिताका लागि नाम दर्ता गर्न सक्ने प्रतियोगिता संयोजक एवम हरिप्रसाद पराजुलीले बताए। पोखरा म्याराथन सफल बनाउन गत वर्ष पोखरेली मञ्च यूके, हङकङ नेपाली समाज, नेपाली समाज बोष्टन र न्यू ह्याम्पसायरको निकै ठूलो सहयोग रहेको बताउँदै अध्यक्ष गुरुङले यस वर्ष समेत सहयोगका लागि छलफल अगाडि बढेको उल्लेख गरे।

‘हामी उहाँहरुलाई धन्यबाद दिन चाहन्छौं, ’ गुरुङले भने, ‘पोखरा म्याराथनको इतिहासमा उहाँहरुले इट्टा थप्ने काम गर्नु भएको छ। ’ यस वर्ष समेत च्यारिटीका लागि यूकेबाट पूर्व भलिबल खेलाडी मञ्जु गुरुङ र धावक पाण्डब महतो पोखरा आउने भएका छन्। यि दुबै जना क्यान्सर जस्तो रोगलाई समेत जितेर च्यारिटी मार्फत सामाजिक अभियानमा जुटिरहेका छन्।

पोखरा म्याराथनमा ‘रन फर फन’ सहित यस पटक ७ हजार धावकहरु दौडने मञ्चले जनाएको छ। गत वर्षको भन्दा यो २ हजारले बढी हो। अध्यक्ष गुरुङका अनुसार पोखराका ४ सय भन्दा वढी विभिन्न संघसंस्थाका सदस्यहरु, विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरु र खेलप्रेमी सहभागिता जनाउन रंगशाला पुग्नेछन्।

गत वर्षको म्याराथनमा चीन लगायत आठ/दश वटा विदेशी धावकहरुको सहभागिता थियो। पोखरासँग भगिनी सम्बन्ध राखेको जापानको कोमागाने म्याराथन विजेताले यस पटकको म्याराथनमा सहभागी हुने भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले जनाए। पोखरासँग भगिनी सम्बन्ध जोडेको देशहरुमध्येबाट यसपालीको म्याराथनमा सहभागिता रहने गुरुङले दाबी गरे। ति देशहरुसँग पत्राचार भइरहेको

‘वल्र्ड पिस रन’ को सञ्जालमार्फत १५ जनाले म्याराथनमा सहभागिता जनाउनेछन्। संयुक्त राष्ट्र संघमा नेतृत्व लिएकाहरुले पनि म्याराथनमा सहभागिता जनाउने योजना छ।

पोखरा म्याराथन सम्पन्न गर्न करिब ४१ लाख खर्च लाग्ने मञ्चले जनाएको छ। मञ्चले पोखरा म्याराथनमा १ मिनेटको उत्कृष्ट भिडियो क्लिप बनाएर पेस गर्ने व्यक्तिलाई समेत पुरस्कारको व्यवस्था गरेको छ। खेललाई शान्तिसँग जोड्ने लक्ष्यका साथ खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गर्न ‘भ्रमण वर्ष २०२०’ लाई समेत १४ औँ संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनले भुमिका खेल्ने मञ्चका सचिब कृष्ण तिमिल्सिनाले जनाएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै