सिरुवारीमा ३ करोडको सामुदायिक भवन शिलान्यास

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७६
Sirubari

आँधिखोला गाउँपालिका– १ स्थित सिरुवारीमा बन्ने सामुदायिक भवनको शिलान्यासक्रममा राष्ट्रिय गानमा सहभागी अतिथि । तस्वीर : रुपनारायण ढकाल ।

रुपनारायण ढकाल : पोखरा, २७ मंसिर । स्याङ्जाको आँधिखोला गाउँपालिका– १ स्थित पर्यटकीय गाउँ सिरुवारीमा ३ करोड रुपैयाँ लागतमा बन्ने सामुदायिक भवनको विहीबार शिलान्यास गरिएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भवन शिलान्यास गरेका हुन् । उनले भवन निर्माणका लागि प्रदेश सरकारतर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।

उनले गाउँ पर्यटन माध्यमबाट समृद्धि सम्भव भएको भन्दै पर्यटकको सेवाका लागि सामुदायिक भवन उपयोगी हुने भनाइ राखे । सामुदायिक भवनको सट्टा यसलाई सिरुवारी सम्मेलन केन्द्र वा यस्तै कुनै नाम दिन सके थप पर्यटक भित्र्याउन सहज हुने सुझाव मुख्यमन्त्री गुरुङको थियो ।

उनले सिरुवारी आउने पाहुनलाई स्थानीय उत्पादन खुवाउन पनि सुझाव दिए । पर्यटनलाई उत्पादनसँग जोडेर अगाडि बढ्न सक्ने हो भने आयआर्जनमा सहजता र दीगोपन थपिने भनाइ उनको थियो । रोजगारी र उत्पादन बढाउन समेत होमस्टे सहायक हुनुपर्ने उनले बताए । सिरुवारीमा ग्रामीण पर्यटन शुरु गरेका स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले स्वर्गीय गुरुङको सपना पूरा गर्न सिरुवारीवासी लाग्नुपर्ने भनाइ राखे ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले तय गरेका ७ प्राथमिकतामध्ये पर्यटनलाई पहिलोमम राखिएको स्मरण गराए । यसकारण पनि गएको प्रदेश बजेटमा गण्डकीमा ३ सय होम स्टे शुरु गर्ने भन्दै बजेट विनियोजन गरिएको बताए । होमस्टेलाई रकम समेत वितरण गरिएको उनले कार्यक्रममा सम्झाए । गरिबी निवारण र जागिरका लागि होमस्टे ठूलो क्षेत्र हुन सक्ने भनाइ उनको थियो ।

उनले पर्यटनमा विविधिकरण चाहिने भन्दै गोरो छाला भएका पाहुनालाई मात्र पर्यटक नभनी २२ घण्टाभन्दा बढी घरबाहिर बिताउने व्यक्तिलाई पर्यटक मान्न सकिने सुनाए । अहिले विदेशीभन्दा स्वदेशी पर्यटक नेपाली पर्यटन बजारमा बढी भएको भन्दै उनले गण्डकी प्रदेश र खासगरी पोखरा क्षेत्रलाई पर्यटनको स्वर्ग भने ।

संविधानसभा सदस्य डा गणेशमान गुरुङले सिरुवारीमा पछिल्ला वर्षहरुमा पाहुना बढेको भन्दै कहिलेकाहीं आफ्नै सुत्ने कोठा समेत पर्यटकलाई उपलब्ध गराउनुपर्ने अवस्था आएको अनुभव सुनाए । सिरुवारीलाई थप प्रख्यात र लोकप्रिय बनाउन सिरुवारीको विशेष खाना के हो, त्यो विकास गर्न जरुरी रहेको सुझाव उनले राखे । पर्यटनलाई उत्पादनसँग जोड्नुपर्ने सुझाव उनले पनि राखे ।

गण्डकी प्रदेश सदस्य मीनप्रसाद गुरुङले २०५४ बाट ग्रामीण पर्यटन शुरु सिरुवारी पर्यटनको पाठसाला पनि हो भने । ग्रामीण पर्यटन मार्फत् समृद्धिको मूलधारमा जोडिने बाटोमा सिरुवारीले सघाउ पु¥याएको भनाइ उनको थियो ।

आँधिखोला गाउँपालिकाा अध्यक्ष सुधीरकुमार पौडेलले पर्यटन मन्त्रालयले छानेका ३ सय होमस्टेको सूचीमा सिरुवारी पर्नु गर्वको विषय भएको बताए । सिरुवारीमा बन्ने सामुदायिक भवनले पाहुना सेवामा सहयोग पुग्ने भन्दै उनले यही वर्ष भित्रमा उक्त भवनको निर्माण कार्य सकिने बताए ।

भवन निर्माण समिति कोषाध्यक्ष उर्मिला गुरुङले सिरुवारीमा दैनिक ६५ हाराहारीमा पाहुना राख्न सकिने जानकारी दिँदै कहिलेकाहीँ १ सयभन्दा बढी पाहुना आएर पाहुना फर्काउनुपर्ने अवस्था आउने गरेको स्मरण गराइन् ।
कार्यक्रमको अध्यक्षता कृष्णबहादुर गुरुङले गरेका थिए । कार्यक्रममा नव युवा क्लबतर्फबाट कौरा नृत्य प्रस्तुत गरिएको थियो ।

स्थानीय आमा समूह, बाबा समूह, युवा क्लब, पर्यटन विकास समिति, धर्मोदय सभा लगायतको पहल र आर्थिक सहयोगमा भवन बन्न लागेको हो । भवनका लागि गाउँपालिकाले पनि आर्थिक सहयोग गर्ने जनाइएको छ । वरिष्ठ समाजसेवी एवं तत्कालीन पञ्चमूल गाउँ विकास समिति अध्यक्ष स्वर्गीय क्याप्टेन हर्कबहादुर गुरुङको स्मृतिमा उनका पुत्र समाजसेवी कृष्णबहादुर गुरुङले निःशुल्क प्रदान गरेको जग्गामा भवन बन्न लागेको स्थानीय समाजसेवी जुमकाजी गुरुङले जानकारी दिए ।

यसैबीच, मुख्यमन्त्री गुरुङले १८ लाख बढीमा रुपैयाँ लागतमा गाउँको शिरानमा निर्मित सिरुवारी सामुदायिक होमस्टे भवनको उद्घाटन पनि गरे । उक्त रकममा डिभिजन वन कार्यालय, स्याङ्जाको १५ लाख सहयोग रहेको छ भने अरु रकम जनश्रमदानबाट जुटाइएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै