भ्रमण वर्षलक्षित छुट घोषणामा ढिलाइ

आदर्श समाज सम्वाददाता
मंसिर २६, २०७६
visit-nepal-2020

नेपाल भ्रमण वर्ष २०२० ढोकैमा आइपुग्दा देशविदेशका पर्यटकलाई प्रदान गरिने छुटका कार्यक्रम घोषणामा ढिलाइ भएको छ।

सरकारले २० लाख पर्यटक एकै वर्षमा नेपाल भित्र्याउने योजना सहित भ्रमण वर्षको घोषणा गरेको भए पनि सरकारीस्तरबाट पर्यटकलाई कुनै पनि छुट कार्यक्रम हालसम्म घोषणा गरिएको छैन। ­

नेपाल भ्रमण वर्ष शुरु हुन अब साढे २ हप्तामात्र बाँकी छ। तर ढिलो गरी छुट घोषणा गरिए विदेशी पर्यटकले सोसम्बन्धी जानकारी पनि ढिलै प्राप्त गर्ने र उल्लेखित अवधिको लक्ष्य प्राप्तिमा असर पर्ने आँकलन गर्न सकिन्छ।

यसैगरी २० लाख पर्यटक नेपाल भित्र्याउने ठोस आधार सरकारले अझै पनि प्रस्तुत गर्न सकेको छैन भने सो संख्यामा पर्यटक आकर्षण गर्न के गर्ने भन्ने निष्कर्षमा समेत सरकार र पर्यटन मन्त्रालय पुगेको देखिँदैन। उपल्लो मुस्ताङ, उपल्लो डोल्पा लगायत अर्धप्रतिबन्धित क्षेत्रमा जाँदा लाग्ने शुल्कमा केही छुट दिने तयारी सरकारले गरिरहेको खबर केही दिन अघि सार्वजनिक भने भएको थियो। तर सम्पूर्ण रुपमा दिइने छुटका सम्बन्धमा पूर्ण प्याकेज सरकार र मन्त्रालयले अहिलेसम्म ठोस रुपमा बाहिर ल्याउन सकेका छैनन्।

निजी क्षेत्रका सीमित संघसंस्थाबाट भने छुटसम्बन्धी केही घोषणा भएका छन्। होटल संघ नेपालले सन् २०२० मा आउने पर्यटकका लागि विशेष छुटको व्यवस्था गरेको छ। देशभर आफू मातहत रहेका होटल, लज, रिसोर्टहरुमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको संघले जनाएको छ। संघद्वारा केही हप्ता अघि जारी प्रेस विज्ञप्तिअनुसार खानामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको संघले जनाएको छ।

यसैगरी नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले भ्रमण वर्षमा पर्यटकलाई १० प्रतिशत छुट दिने भएको छ। नेपाल भ्रमण वर्ष सचिवालय र नाट्टाबीच भएको सम्झौता कार्यक्रममा नाटाका अध्यक्ष सिएन पाण्डेले उक्त कुरा बताएका हुन्। भ्रमण वर्षभरि आफूहरुको टुर प्याकेजमा पर्यटकलाई १० प्रतिशत छुट दिने गरी नयाँ कार्यक्रम सार्वजनिक गरेको नाटा अध्यक्ष पाण्डेले जानकारी दिएका हुन्।

नेपाल आउने र आन्तरिक पर्यटकलाई समेत पर्यटकीय प्याकेजहरु समेत हालसम्म बनेको पाइएको छैन। निश्चित प्याकेज लिएर नेपाल घुम्न चाहने पर्यटकको हिस्सा समेत ठूलै हुने भए पनि त्यसप्रकारका प्याकेज सरकारी र निजी कुनै पनि क्षेत्रबाट सार्वजनिक गरिएको छैन।

सरकारले झण्डै ८ महिना अघि नेपाल भ्रमण वर्ष २०२० को सफ्ट आरम्भ पोखराबाट गरेको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पश्चिमाञ्चल होटल संघले लेकसाइडको कोमागाने पार्कमा गरेको १६ औं नव वर्ष फेवा महोत्सवकै कार्यक्रमस्थलबाट भ्रमण वर्ष आरम्भ गरेका थिए। पोखरामा यही पुस अन्त्यमा रेवानले आयोजना गर्ने पोखरा सडक महोत्सव र बाग्लुङमा आयोजना हुने बाग्लुङ महोत्सवमा पनि भ्रमण वर्षको उद्घाटन गर्ने योजना सम्बन्धित संस्थाले बनाएका छन्।

यसैबीच, भ्रमण वर्षका कार्यक्रम संचालन गर्न भ्रमण वर्षको सचिवालयले ६१ करोड ७४ लाख रुपैयाँ खर्च गर्ने गरी विभिन्न कार्यक्रमको तर्जुमा भने गरेको छ। गत वर्षको र चालु वर्षको गरी जम्मा २५ करोड रुपैयाँ बजेट सचिवालयले पाएको जनाइएको छ। भ्रमण वर्षको सचिवालयले सन् २०२० का प्रत्येक महिनामा फरक फरक पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गर्ने योजना बनाएको छ।

खेल पर्यटन प्रवद्र्धन, विदेशमा नेपालको पर्यटन प्रवद्र्धनात्मक गतिविधि, डिजिटल माकेर्टको विस्तार, नेपालमा आयोजना हुने विभिन्न अन्तराष्ट्रिय महत्वका सभा समारोहको सहजीकरण लगायतका गतिविधि गर्न सचिवालयले ६१ करोड ७४ लाख रुपैयाँ खर्च गर्ने गरी कार्यक्रम तर्जुमा गरेको छ। सचिवालयले तय गरेको कार्यक्रमअनुसार प्रचारप्रसारका लागि २६ करोड २५ लाख रुपैयाँ छुट्याएको छ।

भ्रमण वर्षको उद्घाटन भने नेपाल झल्काउने गरी अगाडि बढाउने तयारी भएको भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज बैद्यले जानकारी दिएका छन्। सबै पर्यटन व्यवसायीसहित नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्कुल, कलेज, प्याब्सनलगायत संघसंस्थालाई पनि सहभागी बनाइने र मन्त्रालयमार्फत् विभिन्न ४० देशका मन्त्रीहरुलाई पनि निम्त्याइएको उनले सुनाए। कार्यक्रमको मुख्य उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने कार्यक्रम तय भएको छ। यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० राष्ट्रिय उत्सवका रुपमा मनाउनुपर्ने बताएका छन्। राष्ट्रिय एकताबिना यो अभियान सफल नहुने भन्दै उनले पर्यटन व्यवसायीलाई भ्रमण वर्षको उद्घाटनका दिन भव्य दीपावली गर्नसमेत आग्रह गरे।

भ्रमण वर्षको सफलताका लागि अहिले पूर्वाधार विकासको कुरालाई लिएर पनि प्रश्न उठाइएको छ। सडक मार्ग अझै पनि राम्रा हुन नसकेको र हवाई सेवा समेत महंगो भएका कारण पर्यटक नेपालप्रति आकर्षित हुनेमा शंका व्यक्त गनेर्को संख्या पनि ठूलै रहेको छ।

भ्रमण वर्षकै अवधिमा भैरहवामा बन्दै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा आउन सक्यो र हवाई भाडासमेत सस्तिन सक्यो भने पर्यटक थप आकर्षित हुने वातावरण भने बन्ने अपेक्षा गर्न सकिन्छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width