फेवाताल किनारमा साहित्यको कुम्भमेला

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७६
Event photo_Fotor

पछिल्ला वर्षमा साहित्य र राजनीतिको जमघट हुने राम्रै मेलो बनेको छ, लिटरेचर फेस्टिभल। खासगरी शब्दसँग रमाउनेलाई यो एउटा महोत्सव नै हो। सुन्दर प्रकृतिको काखमा साहित्यको वर्षा हुन्छ। कहीँकतै मिसिन्छ राजनीति पनि।

बुकवर्म फाउण्डेसनले प्रत्येक वर्ष गर्ने यो महोत्सव यसपालि पनि पोखराको फेवाताल किनारमै हुने भएको छ। लेकसाइडस्थित बाराहीघाट नजिक मंसिर २७ देखि ३० गतेसम्म आठौं संस्करणको महोत्सव हुँदैछ।

फेस्टिभलमा १ सय १० भन्दा बढी वक्ता सहभागी हुनेछन्। एक दर्जनभन्दा बढी विदेशी लेखक छन् भने राजनीतिज्ञ, साहित्यिक व्यक्तिको जमघट हुने आयोजक संस्थाका निर्देशक अजीत बरालले मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

‘फेस्टिभलमा अन्तराष्ट्रिय लेखकहरुलाई पनि ल्याउन लागेका छौं। त्यसले यहाँको साहित्यलाई अन्तराष्ट्रियकरण गर्न पनि सहयोग मिल्ने अपेक्षा छ, ’ उनले भने।

‘शुरुका संस्करणमा एउटै अनुहार दोहोरियो भन्ने धेरै गुनासा र सुझाव आयो, ’ उनले भने, ‘यसपटक हामीले ९८ प्रतिशत नयाँ वक्तालाई फेस्टिभलमा ल्याउन लागेका छौं। ’ फेस्टिभलमा ४० भन्दा बढी सेसन समावेश गरिएको छ।

फेस्टिभलमा अर्का आयोजक र्यान्डम रिडर्स सोसाइटी अध्यक्ष केशवशरण लामिछानेले फेस्टिभलले पोखरेली साहित्य उजागर गर्न मद्दत पुगको दाबी गरे। ‘फेस्टिभलका सबै संस्करणमध्ये ४ वटा पोखरामै भएका छन्। त्यसले पनि हामीलाई अपन्वत्व महसुस भएको छ, ’ उनले भने, ‘यस संस्करणमा २० प्रतिशतभन्दा बढी वक्ता पोखरेली बुद्धिजीवीलाई नै सहभागी गराउन पाउँदा हामी पनि खुसी छौं। ’ व्हाट द बुक क्लबकी उपाध्यक्ष अनिशा बराइलीले महोत्सव पोखराका युवा पाठकमाझ पठन संस्कृतिमा उत्प्रेरकको रुपमा आएको बताइन्।

यसैबीच, महोत्सवकै अवसरमा दक्षिण एसियाली राष्ट्रको सर्वोत्कृष्ट पुरस्कार डिएससी पुरस्कार प्रदान गरिने भएको छ। २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशि बराबरको उक्त पुरस्कार दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले ८ वर्षदेखि प्रदान गर्दै आएको हो। पुरस्कार र महोत्सव दुवैले दक्षिण एसियाली साहित्यलाई प्रवद्र्धन गर्ने पुरस्कारका सहसंस्थापक सुरिना नरुला बताउँछिन्। महोत्सव फेवातालको संरक्षण केन्द्रित बहसबाट शुरु हुनेछ।

महोत्सव उद्घाटन शुक्रबार गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गर्ने छन्। उद्घाटन सत्रमा पूर्व अर्थमन्त्री एवं नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको विद्वत्प्रवचन दिनेछन्। नेपाल लिटरेचर फेस्टिभल ४ वर्षयता सन् २०१६ देखि लगातार पोखरामा हुँदै आएको छ। यो सन् २०११ मा पहिलो पटक ललितपुरमा भएको थियो। यसअघि कात्तिकमा महोत्सवको जनकपुर संस्करण भैसकेको छ।

पोखरा महोत्सवमा पहिलो दिन लेक रहे पो रहला लेकसाइड, समानताको लडाईँ, हास्यव्यङ्ग्य : भैरव अर्याल मीमांशा, संघीयाको सकस, बाह ! गजल, बालबालिकाको हातमा मोवाइल कि पुस्तक? आफ्नै गाउँ फर्की आएँ, काव्यिक आन्दोलनबारे दोस्रो दिन लोकगीत कि लोकप्रियता, सपनाको सम्मान, अध्ययनको भोक, दृष्टिदान, बतासमा बारुदको गन्ध : नक्सलवाददेखि लेखनसम्म, जाग, लम्क, चक्क हे : खेलकुद जगतका बदलिँदा आदर्श, नेपाल नेक्ससः राजनीतिमा भूराजनीति, नारायण ढकालको पुस्तक ‘तमस’ विमोचन, कारागारमा किताबी संसार, राजनीतिको अपराधिकरण : अपराधको राजनीतिकण, राइटिङ होम एण्ड द होमल्याण्ड लगायत सेसन हुनेछ।

यस्तै, तेस्रो दिन अबको नेतृत्व कस्को? पावर सस्टेनेब्ली, मुर्झाएको निबन्ध, नेपाली समाजको वर्गविन्यास, हामीले बाँच्न चाहेको नेपाल, राइटिङ इन द एज अफ पपुलिज्म, नेपाली बजारको विश्वव्यापीकरण, कथाका अन्तक्र्रिया, भगसागर घिमिरेको पुस्तक ‘हजुरबाको बगैँचा’ र हेमलता राईको चङ्गा चैट’ विमोचन, किन हुर्किनुपर्छ बालसाहित्य? , ट्रान्सलेटिङ सायथ एशिया, आर्टिफिसियल इन्टेलिजेन्स र कलाको नयाँ परिभाषाबारे र अन्तिम दिन पात्रको तयारी, विदेशी मिडियामा नेपाल, कहाँ आइपुग्यो सिंहदरबार? शिवालिक सभ्यता, हिन्दी कविता वाचन, छाउ विद्रोह, राइटिङ द पास्टबारे सेसन चल्ने आयोजकले जनायो।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै