वडाध्यक्षमा ५ जनाको उम्मेदवारी

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७६
lamjung_Fotor

सुन्दरबजार नगरपालिका २ को वडाध्यक्ष पदमा बुधबार ५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ४ राजनीतिक दलका प्रतिनिधिसहित १ स्वतन्त्रले उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ता गराउन बाजागाजासहित उनीहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए।

उम्मेदवारी दिनेमा नेकपाका नवीनकुमार श्रेष्ठ, नेपाली काँग्रेसका प्रकाश सेढाइँ, राप्रपाका पवनराज बसौला तथा मंगोल नेशनल अर्गनाइजेशन पार्टीका रामजी दर्जी छन्। स्वतन्त्र उम्मेदवारी दिनेमा कृष्णबहादुर केसी छन्।

यसअघि, स्थानीय तह चुनावमा सो वडाबाट अध्यक्ष पदमा तत्कालीन एमालेका लोकराज पाण्डे निर्वाचित भएका थिए। उनी जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि रिक्त पदका लागि चुनाव हुने भएको हो।

स्थानीय तह चुनावमा तत्कालीन एमालेका पाण्डेले ९ सय ५ मत ल्याएर विजयी भएका थिए। निकटत्तम प्रतिद्वन्द्वी काँग्रेसका पर्शुराम केसीले ३ सय ४७ मत तथा माओवादी केन्द्रका उम्मेदबार पूर्णबहादुर मौरतीले १ सय ६ मत ल्याएका थिए। त्यस्तै, राप्रपाका दीपकराज सेढाइँले ५२ मत पाएका थिए।

कुल १ हजार ४ सय ९२ मत खसेकोमा ८२ मत बदर भएको थियो। यसपटक उपनिर्वाचनमा मतदाता संख्या २ हजार २ सय ९७ मतदाता छन्। वडामा २ मतदानस्थलमा ३ मतदान केन्द्र तोकिएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width