लमजुङमा राति १० बजेपछि देउसीभैलो खेल्न रोक

आदर्श समाज सम्वाददाता
कार्तिक ४, २०७६
deusi

Locals obseve deusi-bhailo as local artists perfom dance during Tihar festival at Benni of Myagdi district, on Wednesday, October 18, 2017. Photo: RSS

लमजुङमा जिल्ला प्रशासन कार्यालयले तिहारको अवसरमा पटकाजन्य विष्फोटक पदार्थ बिक्रीमा रोक लगाउनुका साथै राति १० बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ।

तिहारलाई व्यवस्थित, सुरक्षित र सभ्य बनाउन राति १० बजेपछि देउसी भैलो खेल्न रोक लगाएको प्रशासन कार्यालयले जनाएको छ।

पटकाजन्य विष्फोटक पदार्थको विष्फोटनले आगजनीसँगै जनधनको समेत क्षति हुने र शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राख्दै राति १० बजेपछि देउसीभैलो, सांस्कृतिक कार्यक्रम सञ्चालन नगर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए।

उनका अनुसार रातको समयमा कार्यक्रम गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्ति सुरक्षामा प्रतिकुल असर पुर्याउन सक्ने भएकाले ती कार्य र समयमा प्रतिबन्ध लगाउनुपर्ने स्थिति उत्पन्न भएको हो।

‘नागरिकको जीउधनको सुरक्षा गर्नु प्रशासनको कर्तव्य हो, उनले भने, ‘त्यसैले राति १० बजेपछि देउसी भैलो नगर्न सूचना जारी गरेका हौं। ’

प्रशासनले जिल्लाभित्र कुनैपनि समयमा कुनैपनि प्रकारका पटका, अतिसवाजी, भुइँचम्पा बिक्री तथा प्रयोग गर्न नपाइने जनाएको छ।

देउसीभैलो खेल्दा, सांस्कृतिक कार्यक्रम गर्दा सामाजिक मूल्य मान्यतामा आँच नआउने गरी गर्न, शान्ति सुरक्षामा प्रतिकुल असर पार्ने कुनै पनि गैरकानूनी क्रियाकलाप नगर्न अनुरोध गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले दीपावलीको अवसरमा पटका, अतिसवाजी, भुइँचम्पालगायतका विष्फोटक पदार्थको बिक्री वितरणमा समेत रोक लगाएको बताए।

कोही कसैले गैरकानूनी क्रियाकलाप गर्ने र गराएमा कानून बमोजिम कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ।

आफ्ना बालबालिकालाई आतसबाजी, भुइँचम्पा र पटकाजस्ता पदार्थ प्रयोग गर्न नदिन प्रजिअ भट्टराईले आग्रहसमेत गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width