मोना–बेनी–लभ्लीहिल पदमार्ग उद्घाटन

साधन राम्जाली
असाेज १३, २०७६
hill_Fotor

बेनीदेखि पर्यटकीयस्थल खबरास्थित लभ्लीहिल जाने मोना–बेनी–लभ्लीहिल पदमार्ग उद्घाटन गरिएको छ।

म्याग्दी प्रवासी नेपाली संघ मोना आइईसी, म्याग्दी उद्योग वाणिज्य संघ र बेनी नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको सो पदमार्गको आइतबार उद्घाटन गरिएको हो।

नवनिर्मित पदमार्गको प्रतिनिधिसभा सदस्य सांसद भूपेन्द्रबहादुर थापाले उद्घाटन गरे। प्रवासी म्याग्दीलीले जिल्लाको सामाजिक, भौतिक र मानवीय क्षेत्रमा पुर्याएको योगदान जिल्ला र देशकै लागि नमुनायोग्य भएको बताए। पदमार्ग निर्माण पदमार्गलाई दिगो बनाइराख्न सबैको दायित्व भएको बताए। विदेशमा सिकेको सिप र पुजि लगानीका लागि जिल्लामा पर्याप्त सम्भावना भएको बताए।

गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले प्रवासी म्याग्दीलीले जिल्लाको विकासमा पुर्याएको योगदान महत्वपूर्ण भएको बताए । प्रदेश सरकारले पर्यटन क्षेत्रलाई जोड दिएकाले जिल्लाका पर्यटकीय स्थलमा पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले लभ्लीहिलमा निर्माण भएको पदमार्गले पर्यटन क्षेत्रमा थप सहयोग पुग्ने बताए।

प्रदेश र संघीय सरकारको पर्यटन वर्षको अभियानलाई लक्षित गरी नगरपालिकाले पर्यटकीय स्थलमा पूर्वाधार निर्माणलाई जोड दिएको जानकारी दिए।

मोना आइईसी अध्यक्ष चक्रबहादुर थापाले प्रवासमा रहेका म्याग्देलीहरुको संयुक्त सहयोगमा लभ्लीहिलमा पर्यटन पदमार्ग निर्माण भएको बताए ।

जिल्लाको आथिक, भौतिक सामाजिक, तथा मानविय क्षेत्रमा मोनाले पुर्याएको योगदानको बारेमा जानकारी गराए। लगानीले मात्र जिल्लाको विकास सम्भव भएकाले प्रवासमा रहेका म्याग्देलीहरुले लगानी गर्न खोजे पनि जिल्लामा सहज वातावरण नभएको गुनासो गरे। जिल्लाको विकासमा सबै राजनितिक दलहरु एक हुनुपर्नेमा जोड दिए।

पदमार्ग निर्माणका संयोजक ओमनारायण जुग्जालीले बेनी नगरपालिकाको ३७ लाख ३६ हजार, मोना आईईसीको २९ लाख ८९ हजार र म्याग्दी उद्योग वाणिज्य संघको ७ लाख ४७ हजार रुपैयाँ लगानीमा पर्यटकीय पदमार्ग निर्माण भएको बताए। ६ सय ७७ मिटर पदमार्गको १.८ मिटर चौडाइ भएको दायाँबायाँ दुवैतर्फ रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ।

कार्यक्रममा नेकपा अध्यक्ष गोविन्द पौडेल, कांग्रेस म्याग्दीका सचिव क्याप्टेन मीनबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, मोनाका संस्थापक प्रकाश पुन, वडा अध्यक्ष हिराबहादुर थापा लगायतले बोलेका थिए । कार्यक्रम संचालन म्याग्दी उद्योग वाणिज्य संघका सहसचिव सुवर्ण रिजालले गरेका हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width