विदेशीलाई एयरपोर्टमै रातो साडी

आदर्श समाज सम्वाददाता
भाद्र १६, २०७६
1 main photo

पोखरा, १६ भदौ । पोखरा एयरपोर्ट । सोमवार हरितालिका दिनको दिन । छपक्कै रातो साडीमा सजिएका महिलाहरु हातमा चुरापोेते र टीका लिएर ब्यानरसहित कसैको पर्खाइमा थिए । करिब ९ बजेतिर बुद्ध एयरको विमान ल्याण्ड भयो । यात्रुहरु ओर्लिन सुरु गरे ।

कालो टिसर्ट र जिन्स हाफ पेन्टमा सजिएकी एक विदेशी सबैको आँखामा परे । किनकि पहिलो विदेशी को ओर्लिन्छ भन्नेमा सबैको नजर सोझिएको थियो ।
सँगै रहेका पोखरा पर्यटन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलले ती विदेशीलाई पर्खाइमा रहेका महिलाहरुको हुलतिर आउन अनुरोध गरे । कौतुहलपूर्वक नजिकिएकी उनलाई महिलाहरुले च्याप्पै समाएर हातमा चुरा लगाइदिए । घाँटीमा पोते र निधारमा रातो टीका पनि । र, बाँकी थियो रातो साडी । पर्यटन व्यवसायी मीना भट्टराईले रातो साडी फनफनी बेरिदिइन् । न्यूजिल्याण्डबाट नेपाल घुम्न आएको बताउने बुनेईको एकै छिनमा रुप बदलियो ।

हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज अवसरमा पोखरामा पर्यटक आकर्षण गर्न यस्तो कार्यक्रम गरिएको जनाइयो । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा पोखरामै पहिलो पटक सो कार्यक्रम गरिएको हो । आयोजक सामुदायिक बैदाम अध्यक्ष मीना भट्टराईले सम्भवतः नेपालमै पहिलो पटक आफूहरुले तीजको अवसरमा पर्यटकलाई नयाँ ढंगले स्वागत गरिएको दाबी गरिन् । उनले भनिन्, नेपाली कला, संस्कृति र चाडपर्व संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउन कार्यक्रम गरिएको हो ।’ पोखरा घुम्न आउने पर्यटकलाई पनि तीजमा यहाँ यस्तो खालको कार्यक्रम गरिन्छ है भन्नेबारे जानकारी हुने बताइन् ।

पोखरा पर्यटन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलले धार्मिक एवं सांस्कृतिक तीजलाई पर्यटनसँग जोड्नु राम्रो पक्ष भएको बताउँछन् । उनले पोखरा कुनै न कुनै रुपमा ह्याप्पेनिङ सिटी हो भन्नेबारे पर्यटकलाई हुने र बसाइँ अवधि बढाउन सहयोग पुग्ने बताए ।

कार्यक्रममा विदेशीसँगै अन्य आन्तरिक महिला पर्यटकलाई पनि चुरा, पोते र टीका लगाएर स्वागत गरिएको थियो । विदेशी पर्यटक बुनेईले आफूलाई अचम्म लागेको भन्दै स्वागतप्रति खुसी व्यक्त गरिन्् । अन्त्यमा सबैजनाले सामूहिक फोटो खिचेर तीजको शुभकामना साटासाट गरेका थिए । भ्रमण वर्षको सन्दर्भमा सो कार्यक्रमले पोखरामा आन्तरिक एवं बाह्य पर्यटक बढाउन केही सहयोग पुग्ने पर्यटन व्यवसायीको विश्वास छ ।

विजय नेपाल

Related News

सम्बन्धित समाचार

hero news full width