पर्यटनको राजधानी घोषणा वर्ष

विजय नेपाल
वैशाख १, २०८१
tourism

पोखरा । नेपालकै सुन्दर सहर पोखराको लागि वर्ष २०८० सुखद् रह्यो । ‘पर्यटनको राजधानी’ सपना वर्षको आखिरी महिनामा अन्तत पूरा भयो । ४ चैतमा फेवाताल किनार वाराहीघाटमा आयोजित विशेष समारोहमा नेपालका तीनै तहका सरकार प्रमुखले हजारौं पोखरेलीलाई साक्षी राखेर ‘पर्यटनको राजधानी’ घोषणा गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो जन्मस्थलमा उपस्थित भएर पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिए । उनले ‘नेपालको पर्यटन राजधानी’ अंकित स्तम्भ पनि अनावरण गरेका थिए । उनले प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय संगम पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पाउँदा खुसी लागेको बताए । उनले पोखरा चिनाउने विभिन्न सम्पदाको नाम उच्चारण गर्दै यहाँ अब पर्यटन प्रवद्र्धनबाट गुणात्मक सफलता हासिल गर्न सकिने विश्वास लिएको बताए ।

लोकप्रिय गायक प्रकाश सपूतले त प्रधानमन्त्री प्रचण्डसहित गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संघीय सरकारका पूर्व गृहमन्त्री एवं पूर्व मुख्यमन्त्री (तत्कालीन) खगराज अधिकारीलाई त ‘पछ्यौरी च्यातियो तिम्ले तानेर…’ गीतमा छमछमी नचाए । र, नाचे सम्पूर्ण पोखरेली पनि ।

वास्तवमा उक्त सुखद क्षणको पर्खाइ पोखरेलीको डेढ दशकदेखिको सपना थियो । जतिबेला पोखराले पर्यटनको राजधानीका लागि आवश्यक मापदण्ड पूरा गरिसकेको थियो । त्यसैले पनि यहाँका पर्यटन व्यवसायीले बेलाबेलामा विभिन्न फोरममा यो माग टड्कारो राख्दै आउँथे । पोखराका मेयर धनराज आचार्यले पदस्थापनामा पर्यटकीय राजधानी घोषणाको पहलका लागि पहिलो निर्णय नै गरे । तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले १२ मंसिरमा प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा संयोजकत्वमा ११ सदस्यीय अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले विभिन्न २० सूचकमा टेकेर अध्ययन गरी मुख्यमन्त्रीसमक्ष प्रतिवेदन बुझाएकोमा गत २३ फागुनको मन्त्रिपरिषद् बैठकले पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो ।

४ चैतमा पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको थियो

यो घोषणाले अब पोखरा अन्तर्राष्ट्रियस्तरमै ट्रान्जिटरुपमा ब्रान्डिङ हुने पोखरेलीको विश्वास छ । गण्डकी प्रदेशको राजधानी सहर पोखरा ‘पर्यटनको राजधानी’ बनेपछि यहाँका पर्यटन व्यवसायी पनि हर्षित छन् । केही वर्षअघि कोरोनाले थपिएको यहाँको पर्यटन क्षेत्र बिस्तारै गतिशील बन्दै जाँदा र यो घोषणासँगै लगानी थप्ने व्यवसायी हौशिएका छन् । मुलुकको आर्थिक स्थिति सुध्रिँदै गए नयाँ वर्ष २०८१ ले झन् व्यापकता पाउने पर्यटन व्यवसायीको विश्वास छ ।

पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले पहिलेदेखिको आफूहरुको माग वर्ष २०८० मा आएर बल्ल पूरा भएको बताउँछन् । ‘हामीहरु उत्साहित छौं । ‘यो घोषणाले अन्तर्राष्ट्रिय रुपमा ट्रान्जिट रुपमा ब्रान्डिङ हुनेमा अवसर प्रदान गर्नेछ,’ उनी भन्छन् ‘अबदेखि केन्द्र, प्रदेश, स्थानीय सरकार सबै तिनै तहका सरकारले आ–आफ्नो कार्यक्रममा पोखरा क्षेत्रमा धेरैभन्दा धेरै पर्यटक कसरी भित्राउन सकिन्छ भन्ने योजनाका साथ बजेट विनियोजन गर्नुपर्छ । हामी पर्यटन व्यवसायीहरु पनि सरकारसँग हातेमालो गर्दै अघि बढ्ने छौं ।’ पर्यटकीय राजधानी घोषणाले पोखरा फेरि घुम्न जानुपर्छ भन्ने भावना यहाँ घुमिसकेकालाई पनि जागेको उनी बताउँछन् । उनका अनुसार यसबाट पर्यटन प्रवद्र्धन र विकासमा अन्तर्राष्ट्रियरुपमा ब्रान्डिङ गर्ने छ ।

होटल संघ पोखरा अध्यक्ष लक्ष्मण सुवेदी पोखराको प्राकृतिक संरचना, पूर्वाधार, आवश्यक सेवासुविधा, राजधानी हुनका लागि होटल, ट्राभल, टे«किङ, क्यासिनो, नाइट लाइभ, एयरपोर्ट लगायत सबै सुविधा पर्याप्त रहेको बताउँछन् । उनका अनुसार यहाँको पर्यटनमा सबैभन्दा ठूलो लगानी होटल क्षेत्रको छ । हाल पोखरा र आसपासमा १ हजार २ सय होटल छन् । लेकसाइड र ड्यामसाइडमा ७ सय वटा पर्यटकीयस्तरका होटल छन् । पोखराले एकै रातमा ४० हजार पाहुना राख्न सक्छ । होटल क्षेत्रमा मात्र १५ हजार कर्मचारी कार्यरत छन् । करिब पौने ५ खर्बको लगानी त होटल क्षेत्रमै छ । पोखरा पर्यटनको राजधानी घोषणाले त अझ पर्यटन प्रवद्र्धन र लगानी बढ्ने सुवेदीको अपेक्षा छ । राजधानी घोषणा दिनदेखि हाल जारी फेवा नव वर्ष महोत्सव–२०८१ सम्म होटल संघले आफ्नो सेवामा २० प्रतिशत छुट सुविधासमेत दिएको छ ।

पर्यटन क्षेत्रका विज्ञहरू पर्यटन राजधानी घोषणासँगै पोखराको दायरा फराकिलो बनाउनुुपर्ने जोड दिन्छन् । पर्यटन राजधानी घोषणासँगै आसपासका पर्यटकीय गन्तव्य समेट्न गरी पर्यटनसम्बद्ध संघसंस्थाले विभिन्न कार्यक्रम तीव्र पारेका छन् । पोखरा पर्यटन परिषद्, नाट्टा गण्डकी, ओटेफ लगायतले हालैमात्र पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरे ।

नेपालमा बर्सेनि १०÷११ लाख पर्यटक भित्रिने गरेको तथ्यांक छ । काठमाडौं घुम्न आउनेमध्ये ४० प्रतिशतजसो पर्यटक पोखरा आउने हचुवा अनुमानबीच अब पृथ्वीराजमार्ग स्तरोन्नतिसँगै ५० प्रतिशतसम्म पर्यटक पोखरा भित्रिने अनुमान पोखरा पर्यटन परिषद् अध्यक्ष श्रेष्ठको छ । ‘अब हामीहरु गण्डकी प्रदेश क्षेत्रमै २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ अघि बढ्नुपर्छ,’ उनी भन्छन्, ‘पर्यटकको बसाइँ कसरी लम्ब्याउने भन्नेमा ध्यानकेन्द्रित गर्नुपर्छ । गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा ७ खर्बभन्दा बढीको लगानी रहेको उनी बताउँछन् । यो लगानी सुरक्षित गर्दै थप सम्भावनाका निम्ति पोखरा घुम्ने पर्यटकको सरदर बसाइँ ४÷५ दिनसम्म लम्ब्याउनतर्फ लाग्नुपर्नेछ । नयाँ वर्ष २०८१ मा पर्यटकीय गन्तव्यको थप पहिचान गर्दै पर्यटनसम्बद्ध पक्ष त्यसतर्फ मुखरित हुनु जरुरी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै