लाभकरको किचलोले शेयरबजार तनावमा

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७६

बजार सुधार हुने सिजनमा पुँजीगत लाभकरको विवादले दोस्रो बजार निकै प्रभावित हुन पुगेको छ।

पुँजीगत लाभकरको गणनामा किचलो उत्पन्न भएपछि नेपालको शेयरबजार अहिले तनावमा छ। साढे ७ प्रतिशत पुँजीगत लाभकरको व्यवस्थालाई चालु बजेटले ५ प्रतिशतमा झारेपछि अर्थमन्त्री डा युवराज खतिवडाले वाहवाही पाए। तर पुँजीगत लाभकर गणनामा गञ्जागोल उत्पन्न भएपछि शेयर लगानीकर्ता र ब्रोकरहरु अहिले हैरानी खेप्दै छन्।

पुँजीगत लाभकरको गणना अब भारित औसत लागतको आधारमा हुने भनिएको छ। सीडीएससीले भारित औसत लागतको आधारमा लाभकरणको गणना हुने सूचना निकालेको पनि थियो। २०७२ माघ १ गतेअघि धितोपत्र कारोबारमा डिम्याट विधि लागू भइसकेको छ। उक्त मिति अगाडि भएका कारोबारको रेकर्ड सीडीएससीसँग नभएकोले यो सबै गञ्जागोलको अवस्था सिर्जना भएको हो। सम्बन्धित निकाय आन्तरिक राजस्व विभागले समेत कट अफ डेट नतोक्दा अन्यौल सिर्जना भएको छ। लाभकरको विषयमा अन्यौल बढेपछि शेयर बजारका लगानीकर्ताले अर्थ मन्त्रालय गुहारेका छन्। नेपाल धितोपत्र बोर्ड र सीडीएससँग भएको छलफलले ठोस निस्कर्ष नदिएपछि नेपाल इन्भेष्टर्स फोरम र शेयर लगानीकर्ता संघका प्रतिनिधिले अर्थमन्त्रालयको शरण खोजेका हुन्।

शेयर बजारको तनाव यतिमा मात्र सीमित छैन। लगानीकर्ताले सीडीएससीमाथि सेयर बजारलाई प्रविधिमैत्री बन्न नदिएको आरोप समेत लगाउन थालेका छन्। सेयर लगानीकर्ताको दबाब समूहका अध्यक्ष हरि ढकालले शुक्रवार विज्ञप्ति प्रकाशित गरी साउन १ देखि लागू हुने गरी पुँजीगत लाभकर गणना विधिको सम्बन्धमा प्रयोग गर्न खोजिएको विधि र प्रक्रिया झन्झटिलो, अवैज्ञानिक र त्रुटिपूर्ण रहेको भन्दै यो तत्काल फिर्ता नभए कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्। शेयर कारोबारलाई अनलाइनबाट पुनः कागजी प्रक्रियामा नै फर्काउन लागिएको भन्दै सीडीएससीको कडा आलोचना लगानीकर्ताबाट भएको छ।

यसैगरी, गत विहीवार ब्रोकरको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा समस्या देखिएपछि कारोबारमा कठीनाइ आएको शेयर दलालहरुको गुनासो छ। उनीहरुले कहिले माकेर्ट डेप्थ नदेखिने, आदेश प्रविष्ट गर्न नमिल्ने, प्रणालीले आदेश नलिने र आदेश देखाएपनि कारोबार नहुने समस्याले कारोबार दिनभरी अवरुद्ध भएको गुनासो सुनाएका थिए। जबकि शेयर बजारको अनलाइन कारोबार प्रणालीमा जोडिने लगानीकर्ताको संख्या ११ हजार नाघिसकेको छ।

बजार सुधार हुने सिजनमा पुँजीगत लाभकरको विवादले दोस्रो बजार निकै प्रभावित हुन पुगेको छ। आइतवार शेयर बजार ३.७५ अंकले घटेर १२६८.७४ अंकमा रोकिएको छ। गत विहीबार पनि यही विवादले शेयर बजार प्रभावित भएको थियो। सूचक घटेसँगै कारोबार रकम २९ करोड ८१ लाख रुपैयाँमा खुम्चिएको छ। चारवटा लगानीकर्ताका संगठनका अध्यक्षहरुले सीडीएससीलाई कारोबार राफसाफ नगर्न र लगानीकर्तालाई ब्रोकर कार्यालयमा गएर हस्ताक्षर गरी विवरण नबुझाउन आग्रह गरेका थिए। आन्तरिक राजश्व विभागले शेयरको पुँजीगत लाभकर भारित औसतको लागतमा गणनाका लागि लगानीकर्ता भौतिक रुपमा नै ब्रोकर कार्यालयमा गएर विवरण बुझाउनुपर्ने बाध्यात्मक व्यवस्था गरेका कारण शेयर बजारमा लगानीकर्ताको उत्साहमा कमी आएको हो।

यसैगरी, धितोपत्र बजार पुँजीकरण वार्षिक विन्दुगत आधारमा ७.३ प्रतिशतले वृद्घि भई २०७६ जेठ मसान्तमा १५ खर्ब ७९ अर्ब ३९ करोड कायम भएको छ। समीक्षा अवधिको बजार पुँजीकरणको आर्थिक वर्ष २०७५/७६ को कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४५.५ प्रतिशत रहेको छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७६ जेठ मसान्तमा २ सय १३ रहेको छ। आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा कुल ७ अर्ब ९० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका राष्ट्र बैंकले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width