भारतलाई हराउँदै न्यूजिल्याण्ड फाइनलमा

आइसीसी एकदिवसीय विश्वकप क्रिकेट

एजेन्सी
असार २५, २०७६
New Zealand v India – ODI Game 5

न्यूजिल्याण्ड एकदिवसीय विश्वकप क्रिकेट–२०१९ को फाइनल पुगेको छ ।

उपाधिको बलियो दाबेदार मानिएको भारतलाई १८ रनले हराउँदै न्युजिल्यान्डले एकदिवसीय विश्वकप क्रिकेट २०१९ को फाइनलमा स्थान पक्का गरेको हो ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतमाथि १८ रनको रोमाञ्चक जित निकाल्दै न्युजिल्यान्डले फाइनलमा स्थान पक्का गरेको हो । न्यूजिल्यान्डले अब उपाधिको लागि १४ जुलाईमा अष्ट्रेलिया र इङ्ल्यान्डबीचको सेमिफाइनलको विजेतासँग खेल्नेछ । २ सय ४० रनको विजयी लक्ष्य पछ्याएको भारतले अन्तिम ओभरमा अलआउट हुनुअघि २ सय २१ रन मात्रै बनायो ।

चौथो ओभरमा नै आफ्ना प्रमुख तीन ब्याट्सम्यान गुमाएको भारतले राम्रो ब्याटिङ गरेपनि जित दर्ता गर्न सकेन । कप्तान विराट कोहलीसँगै ओपनरद्वय रोहित शर्मा र केएल राहुललाई समान १ रनमा गुमाएपछि भारत धरापमा परेको थियो ।

दोस्रो ओभरको तेस्रो बलमा म्याट हेनरीले ओपनर रोहित शर्मालाई विकेट कीपर टम लेथमबाट १ रनमा क्याच आउट गराए । तेस्रो ओभरको चौथो बलमा कप्तान विराटलाई टेन्ट बोल्टले १ रनमा एलवी डब्ल्यू आउट गरे । लगत्तै म्याट हेनरीले विकेट कीपर लेथमबाट ओपनर के एल राहुललाई १ रनमा क्याच आउट गराएपछि न्यूजिल्यान्ड खेलमा हावी भएको थियो ।

त्यस्तै, १० औं ओभरको अन्तिम बलमा म्याट हेनरीले दिनेश कात्तिकलाई ६ रनमा क्याच आउट गराए । जेम्स निशमले उत्कृष्ट एक हातले क्याच आउट गराउनुअघि उनले २५ बलमा १ चौका प्रहार गरे । पाँचौ विकेटका लागि हार्दिक पान्डेय र ऋषभ पन्तले ४७ रनको साझेदारी गर्दै केही आशा जगाएका थिए ।

२३ औं ओभरको पाँचौ बलमा मिचेल सान्टनारले कोलिन डी ग्राण्ड होमबाट क्याच गराउँदै पन्तलाई ३२ रनमा आउट गरेपछि भारतको लागि झिनो जितको सम्भावना देखियो । पन्तले ६२ बलमा ४ चौका प्रहार गरे । सान्टनारले नै हार्दिक पान्डेयलाई ३१ ओभरको तेसो बलमा ३२ रनमा क्याच आउट गराए । त्यसपछि, भारत ९२–६ को कमजोर अवस्थामा पुग्यो ।

सातौं विकेटका लागि महेन्द्रसिंह धोनी र रविन्द्र जडेजाले १ सय १६ रनको साझेदारी गर्दै जितको संभावना कायमै राखे । तर, बोल्टले ४८ ओभरको पाँचौ बलमा रविन्द्र जडेजालाई ७७ रनमा कप्तान केन विलियम्सनबाट क्याच गराउँदै शतकीय साझेदारी तोडेपछि भारतको जितको सम्भावना सकिएको थियो ।

जडेजाले ५९ बलमा समान ४ चौका र छक्का प्रहार गरेपछि खेलमा रोमाञ्चकता थपिएको थियो । महेन्द्रसिंह धोनीले ७२ बलमा १ चौका र छक्कासहित ५० रन जोेड्न सफल रहे ।

म्याट हेनरीले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै, ट्रन्ट बोल्टले पनि १० ओभरमा २ मेडनसहित ४२ रन खर्चेर २ विकेट लिए । जेम्स निशमको नाममा १ विकेट रह्यो । मिचेल सान्टनारले १० ओभरमा २ मेडनसहित ३४ रन खर्चेर २ विकेट लिए ।

मंगलबार म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ थालेको न्यूजिल्यान्डले वर्षाले खेल रोकिनुअघि ४६ दशमलव १ ओभरमा ५ विकेट गुमाएको थियो । अघिल्लो दिन उसले २ सय ११ रन बनाएको थियो । बुधबार त्यही स्थितिबाट सुरु गरेको न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३९ रन बनायो ।

न्यूजिल्यान्डका अनुभवी ब्याट्सम्यान रोस टेलरले ६७ रनबाट खेल्न सुरु गरेका थिए । उनी ४८ ओभरमा रन आउट हुँदै ७४ रनमा पेभिलिएन फर्किए । उनले ९० बलमा ३ चौका र १ छक्का प्रहार गरे । मिचेल सान्टनार ९ र टेन्ट बोल्टले समान ३ रन जोडे । म्याट हेनरी १ र टम लेथम १० रनमा आउट भए ।

मंगलबार वर्षाले खेल रद्द हुनुअघि कप्तान केन विलियमसनले ६७ रनको योगदान दिए । ३६ औं ओभरको दोस्रो बलमा युजभेन्द्र चहलले रविन्द्र जडेजाबाट क्याच आउट गराउनुअघि विलियमसनले ९५ बलमा ६ चौका प्रहार गरे ।

न्यूजिल्यान्डले चौथो ओभरको तेस्रो बलमा ओपनर मार्टिन गुप्टिललाई १ रनमा गुमाएको थियो । गुप्टिललाई जसप्रित बुमराहले कप्तान विराट कोहलीबाट क्याच आउट गराए । त्यस्तै, हेनरी निकोलसले ५१ बलमा २ चौकासहित २८ रनको योगदान दिए । जेम्स निशम १२ र कोलिन डी ग्राण्डहोम १६ रनमा आउट भए ।

भारतका लागि भुवनेश्वर कुमारले १० ओभरमा १ मेडनसहित ४३ रन खर्चेर ३ विकेट लिए । जसप्रित बुमराह, हार्दिक पान्डेय, रविन्द्र जडेजा र युजभेन्द्र चहलले समान १ विकेट लिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै