अपाङ्गता संवेदनशीलता सरलीकरण गर्न जोड

आदर्श समाज सम्वाददाता
असार २५, २०७६
Mad

लमजुङ, २५ असार । गण्डकी प्रदेश सभाका सदस्य मधु अधिकारीले अपाङ्गताको संवेदनशीलतालाई सरलीकरण गरौं भन्ने आग्रह गरेकी छन् ।

राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेश समितिको आयोजना तथा नेत्रहीन संघ लमजुङको समन्वयमा बेसीशहरमा आयोजना गरिएको जनप्रतिनिधि र अगुवाका लागि अभिमुखीकरण कार्यक्रमको उदघाटन गर्दै उनले त्यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘यस्ता अभिमुखीकरण धेरै हुने तर उपलब्धी कम हुने स्थितिलाई चिर्न आवश्यक छ ।’ अपाङ्गता संवेदनशील क्षेत्र हो यसलाई सरलीकरण गर्न जरुरी छ हामीको प्रयास त्यसतर्फ उन्मुख हुन र व्यवहारिक रूपमा फलदायी बनाउनु पर्नेमा उनको जोड थियो

राष्ट्रिय अपाङ्ग महासंघका निवर्तमान अध्यक्ष सुदर्शन सुवेदीले अन्यले गरेका ससाना काम पनि हाइलाइट हुने र राज्यले गरेका राम्रा काम पनि गुमनाम हुने गरेको स्थिति तोडिनु पर्ने बताए । नेपालको संविधान विश्वकै उत्कष्ट दश भित्र पर्ने बताउँदै यसले सुनिश्चित गरेका अधिकारलाई अवसरमा बदल्ने तर्फ स्थानीय तहका जनप्रतिनिधिसहित सबैको प्रयास हुनुपर्ने उनले भने ।

बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले परिचयपत्र दिने नीतिमा परिवर्तन आवश्यक रहेको बताउँदै नीति कमजोर हुँदा कोही पाउनै पर्नेले पनि सुविधा नपाएको र नपाएर पनि हुनेले पाएको आफूले देखेको बताउँदै यो न्योयोचित हो भन्ने लाग्दैन भने ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले अपाङ्गताको स्थिति संवेदनशील हो भन्ने गाउँपालिकाले महसुस गरी आगामी आवका लागि १० लाख रुपैयाँ यो क्षेत्रका लागि विनियोजन गरेको बताए । खासगरी आयआर्जनतर्फ के कसरी जोड्न सकिने हो भन्ने चिन्ता छ हामी अपाङ्ग महासंघसँग सहकार्य गर्न तयार छौं उनले भने ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय सदस्य चन्द्रकान्त पौडेलले स्वागत गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । उदघाटन र प्रशिक्षण गरी दुई चरणमा सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा ‘मलाई समावेस गर, मलाई गणना गर’ भन्ने नाराका साथ अयोजना गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका निवर्तमान अध्यक्ष सुदर्शन सुवेदीले जनप्रतिनिधिका लागि सेतो कार्ड चुनौति रहेकोले त्यो बनाउँदा विशेष ध्यान दिनु पर्ने बताए । सैद्धान्तिक र व्यवहारिक प्रयोग गरी अपाङ्गता भएका व्यक्तिलाई विकास छुट्टै चाहिएको नभई भइरहेको वा हुने विकासमा उनीहरूको सहभागिता सुनिश्चित हुने वातावरण सिर्जना गर्न नीति, योजना र कार्यक्रम बनाउँदा ध्यान दिनु पर्ने आवश्यकता औंल्याए ।

उक्त अभिमुखीकरण कार्यक्रममा मस्र्याङ्दी गाउँपालिका र दोर्दी गाउँपालिका तथा बेसीशहर नगरपालिकाका २०÷२० जना प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरूले भाग लिएको अपाङ्ग संरक्षण समाज लमजुङका अध्यक्ष चन्द्रकान्त पौडेलले बताए । नेत्रहीन संघका जिल्ला अध्यक्ष विष्णु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको राष्ट्रिय अपाङ्ग महासंघका गण्डकी प्रदेशका सचिव राजेन्द्र घिमिरेले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width