रिब्दीकोटकोमा पर्यटन क्षेत्रलाई प्राथमिकता

आदर्श समाज सम्वाददाता
असार ११, २०७६
palpa photo 10_Fotor

रिब्दीकोट गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेको छ। गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउने लक्ष्यसहित आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। गाउँपालिकाले पर्यटन बिकास मार्फत रोजगारी सृजनागरि समृद्ध रिब्दीकोट निमार्ण गर्न आर्थिक बर्ष ०७६/०७७ का लागि जम्मा ४८ करोड ८२ लाख ५६ हजार ३ सय १२ रुपैँयाको अनुमानित बजेट प्रस्तुत गरेको थियो।

गाउँपालिका स्रोतले जनाए अनुसार आगामी २०७७ साललाई पर्यटन वर्षको रुपमा मनाउने गरि यो वर्षको नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरिएको हो। गाउँपालिकाभित्रका ऐतिहासिक महत्त्वका सम्पदाहरूको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार गरी पर्यटकीयस्थलको रूपमा चिनाउन भैरवस्थान–रिब्दीकोट–जलेश्वर क्षेत्रलाई समेटी वि.स. २०७७ लाई रिब्दीकोट पर्यटन वर्ष मनाउने घोषणा गरी बजेट विनियोजन गरिएको स्रोतले जनाएको छ। त्यसै गरी भैंसी, पाडी, बाख्रा तथा बंगुर पालनलाई प्रोत्साहन गर्न ४० लाख, कृषि पशुपालनको यान्त्रिकीकरणका लागि १५ लाख, गाउँपालिकाको हिल रिङरोड निर्माण गर्न ७ लाख, कृषि उपज संकलन केन्द्रका लागि ६ लाख, जातीय विभेद अन्त्यका लागि ५ लाख, अति विपन्न कुमाल समुदायका वालवालिकाको वाहुल्यता रहेको जोगीथुमस्थित कालिका आधारभूत विद्यालयमा दिवा खाजा स्वरुप ७ लाख, शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि मापदण्डमा आधारित सहयोगका लागि ३५ लाख ५० हजार विनियोजन गरिएको छ।

गाउँपालिकाले ‘आफ्नो वडा आफै बनाऊँ’ अभियान अन्तर्गत ८ वटा वडा कार्यालयलाई एकमुष्ट कुल ५ करोड २६ लाख विनियोजन गरेको छ। यसैगरी आगामी आर्थिक वर्षमा बैशाख मसान्तभित्र पुँजीगततर्फको बजेट खर्च गरिसक्ने नीति अवलम्बन गरी सोही अनुसार बजेटको कार्यन्वयन पक्षलाई जोड दिने पनि गाउँपालिका स्रोतले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्यालले नीति तथा कार्यक्रको कार्यान्वयन पक्षलाई प्रभावकारी बनाइने सञ्चारकर्मीलाई बताए।

यस्तैगरी गाउँपालिकाले पानीका मूल संरक्षण गर्ने उद्धेश्यले एक वडा बहुपोखरी निर्माण गर्ने कार्यलाई निरन्तरता दिन ५ लाख विनियोजन गरिएको छ। यस्तै गतवर्ष खरको छानामुक्त हुन बाँकी घरहरूलाई टिन उपलब्ध गराई खरको छानामुक्त गाउँपालिका बनाउन १४ लाख विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिशीले जनाए। स्रोतका अनुसार गुणस्तरीय आर्थिक सामाजिक पुर्वधार बिकासको माध्यमद्वारा समृद्ध रिब्दकिोट गाउँपालिकाको निमार्ण गर्ने लक्ष्यका साथ गाउँ पालिकाकाले उत्कृष्ट काम गदै आएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमको समानान्तर हुने गरी रिब्दीकोट रोजगार कार्यक्रम सञ्चालन गर्न २० लाख बजेट विनियोजन गरेको जनाइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width