आइसीसी विश्वकप क्रिकेट : इङल्याण्डको तेस्रो जित

एजेन्सी
असार १, २०७६
england

इङल्याण्डले घरेलु भूमिमा जारी १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा तेस्रो जित निकालेको छ। साउथह्याम्पटनमा भएको खेलमा वेष्ट इण्डिजलाई ८ विकेटले पराजित गर्दै इङल्याण्डले तेस्रो जित निकालेको हो।

द रोस बल ओभलमा वेष्ट इण्डिजले दिएको २ सय १३ रनको सामान्य लक्ष्य इङल्याण्डले ३३ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।

इङल्याण्डको जितमा अलराउण्डर प्रदर्शन गरेका जोय रुटले शतकीय इनिङ्स खेले। अविजित रहेका रुटले ९४ बलमा ११ चौकासहित सय रन बनाए। जारी विश्वकपमा रुटको यो दोस्रो शतक हो।

योसँगै रुट एकै विश्वकपमा २ शतक प्रहार गर्ने दोस्रो इङलिश खेलाडी बनेका छन्। यसअघि, केभिन पिटरसनले एकै विश्वकपमा २ शतक बनाएका थिए।

यस्तै, जोनी ब्रैस्टोले ४५ तथा क्रिस वोक्सले ४० रन बनाए। बेन स्टोक्स १० रनमा अविजित रहे। वेष्ट इण्डिजका टेरी गाब्रिलले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले ४४ ओभर ४ बलमा अलआउट हुँदै २ सय १२ रन बनाएको थियो।

खराब शुरुवात गरेको वेष्ट इण्डिजका लागि निकोलस पुरनले ६३ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै सिम्रन हिटमायरले ३९ रन जोड्दा क्रिस गेलले ३६ रन बनाए। आन्द्र रुसेल २१ रनमा आउट भए। इङल्याण्डका आर्चर जोफ्रा र मार्क उडले समान ३ विकेट लिए। त्यस्तै जोय रुटले २ विकेट लिए।

जितसँगै इङल्याण्डले ४ खेलबाट ६ अंक जोडेको छ। इङल्याण्ड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पराजित वेष्ट इण्डिजले ४ खेलबाट ३ अंक जोडेको छ। छैटौं स्थानको वेष्ट इण्डिजको यो दोस्रो हार हो।

Related News

सम्बन्धित समाचार

hero news full width