पीडित परिवारले शुरु गरे अनसन

आदर्श समाज सम्वाददाता
असार १, २०७६
ansan pic butwal (1)_Fotor

बुटवल उपमहानगरपालिकाले डोजर लगाएर घर भत्काइदिएपछि विस्थापित भएका बुटवलका १६ घरपरिवारले सामूहिक अनसन शुरु गरेका छन्। बसोबासको वैकल्पिक व्यवस्था गर्न माग गर्दै उनीहरुले सोही स्थानमा अनसन शुरु गरेका हुन्।

बुटवल–१ स्थित जामे मस्जिद अगाडि २ कठ्ठा बढी जग्गामा २०२८ सालदेखि बस्दै आएका १६ परिवारका टहरा उपमहानगरले विहीवार डोजर लगाएर भत्काइदिएको थियो।

आफूहरु घरवारविहीन भएको भन्दै शनिवार बिहानैदेखि उनीहरुले अनसन शुरु गरेका हुन्। अनसनको ब्यानरमुनि बालबालिका र वृद्धवृद्धाहरु समेत छन्।

आफूहरुको अन्यत्र बस्ने ठाउँ नभएकाले उपमहानगरले वैकल्पिक व्यवस्था नगरेसम्म अनसन जारी राख्ने पीडित बताउँछन्।

‘यो जग्गाबारे अदालतमा मुद्दा छ, मुद्दाको अन्तिम फैसला नहुदै वर्षायामको मुखमा आफूहरुलाई घरवारविहीन बनाएर अन्याय गरेको विरोधमा अनसन शुरु गरेका हौं’ अनसनरत हरिबहादुर विश्वकर्माले भने। उनले ४८ वर्षदेखि आफूहरुले संरक्षण गर्दै बसेको जग्गाबाट वैकल्पिक व्यवस्था नगरी हटाउन नमिल्ने भन्दै आक्रोश व्यक्त गरे। उपमहानगरपालिकाले वस्तीमा डोजर लगाएर ४८ वर्षदेखि गरीब तथा विपन्न परिवारलाई विस्थापित गराएको भन्दै घटनाप्रति राजनीति दलले समेत विरोध जनाएका छन्।

वर्षा लाग्यो कहाँ जाने?

‘चुनावका बेला भोट माग्न आउँदा सबैलाई लालपुर्जा दिन्छौं भने अहिले ४८ वर्षदेखि बसेको ठाउँबाट डोजर लगाएर हटाएर अलपत्र पारे। अब हामी कहाँ जाने? बरु यही अनसन बसेर मर्छौ। ’

यो भनाइ हो बुटवल १, जामे मस्जिद अगाडि बुटवल उपमहानगरपालिकाले डोजर लगाएर वस्ती भत्काइदिएपछि विस्थापित ६५ वर्षीय हरिबहादुर विश्वकर्माको। ९५ वर्षीया करिदरुन निशाको त अवस्था झन् बेहाल छ, श्रीमान र छोरा नभएकी र छोरीसँग बस्दै आएकी उनी उपमहानगरपालिकाले घर भत्काइदिएपछि रुंदै दिन कटाइरहेकी छन्।

जोसँग भेट हुँदा पनि उनी धरधरी रुन शुरु गरी हाल्छिन् तर उनको पीडा कसले सुनिदिने। हरिबहादुर र किदरुन निशा जस्तै १६ परिवार शनिबार बिहानैदेखि आफूहरु बस्दै आएको ठाउँमा अनसन बस्न थालेका छन्।

उनीहरुले आफूहरुमाथि उपमहानगरपालिकाले घोर अन्याय गरेको भन्दै वैकल्पिक व्यवस्था नभएसम्म उक्त ठाउँ नछाड्ने बताएका छन्। बुटवल–१ स्थित जामे मस्जिद अगाडि २ कठ्ठा बढी जग्गामा २०२८ सालदेखि बस्दै आएका १६ परिवारका टहरा उपमहानगरले डोजर लगाएर भत्काइदिएपछि उनीहरु घरबारविहीन भएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width