पीडित परिवारले शुरुगरे अनशन

आदर्श समाज सम्वाददाता
जेठ ३२, २०७६
ansan pic butwal

बुटवल ३२ जेठ । बुटवल उपमहानगरपालिकाले डोजर लगाएर घर भत्काइदिएपछि विस्थापित भएका बुटवलका १६ घर परिवारले सामुहिक अनशन शुरु गरेका छन् । बसोबासको वैकल्पिक व्यवस्था गर्न माग गर्दै उनीहरुले सोही स्थानमा अनशन शुरु गरेका हुन् ।

बुटवल–१ स्थित जामे मस्जिद अगाडि २ कठ्ठा बढी जग्गामा ०२८ सालदेखि बस्दै आएका १६ परिवारका टहरा उपमहानगरले बिहिबार डोजर लगाएर भत्काइदिएको थियो ।
आफूहरु घरबारविहीन भएको भन्दै शनिबार बिहानैदेखि उनीहरुले अनशन शुरु गरेका हुन् । अनशनको ब्यानरमुनि वालवालिका र वृद्धवृद्धाहरु समेत छन् ।आफूहरुको अन्यत्र बस्ने ठाउँ नभएकाले उपमहानगरले वैकल्पिक व्यवस्था नगरेसम्म अनशन जारी राख्ने पीडितहरु बताउछन् ।

‘यो जग्गाबारे अदालतमा मुद्दा छ, मुद्दाको अन्तिम फैसला नहुदै वर्षायामको मुखमा आफूहरुलाई घरवारविहीन बनाएर अन्याय गरेको विरोधमा अनशन शुरु गरेका हौं’ अनसनरत हरिबहादुर विश्वकर्माले भने । उनले ४८ वर्षदेखि आफुहरुले संरक्षण गर्दै बसेको जग्गाबाट वैकल्पिक व्यवस्था नगरी हटाउन नमिल्ने भन्दै आक्रोश व्यक्त गरे । उपमहानगरपालिकाले वस्तीमा डोजर लगाएर ४८ वर्षदेखि गरीब तथा विपन्न परिवारलाई विस्थापित गराएको भन्दै घटनाप्रति राजनीति दलले समेत विरोध जनाएका छन् ।

पीडितको याचनाः वर्षा लाग्यो कहां जाने ?

चुनावका बेला भोट माग्न आउंदा तपाईहरु सबैलाई लालपुर्जा दिन्छौं भने,अहिले ४८ वर्षदेखि बसेको ठाउंबाट डोजर लगाएर हटाएर अलपत्र पारे, अब हामी कहां जाने बरु यही अनसन बसेर मर्छौं’ – यो भनाई हो बुटवल १ जामे मस्जिद अगाडि बुटवल उपमहानगरपालिकाले डोजर लगाएर वस्ती भत्काइदिएपछि विस्थापित भएका ६५ वर्षिय हरिबहादुर विश्वकर्माको ।

९५ वर्षीया करिदरुन निशाको त अवस्था झन् बेहाल छ, श्रीमान र छोरा नभएकी र छोरीसंग बस्दै आएकी उनी उपमहानगरपालिकाले घर भत्काइदिएपछि रुंदै दिन कटाइरहेकी छन् ।
जोसंग भेट हुंदा पनि उनी धरधरी रुन शुरु गरिहाल्छिन् तर उनको पीडा कसले सुनिदिने ।

हरिबहादुर र किदरुन निशा जस्तै १६ परिवार शनिबार बिहानैदेखि आफूहरु बस्दै आएको ठाउंमा अनसन बस्न थालेका छन् । उनीहरुले आफूहरुमाथि उपमहानगरपालिकाले घोर अन्याय गरेको भन्दै वैकल्पिक व्यवस्था नभएसम्म उक्त ठाउं नछाड्ने बताएका छन् ।

बुटवल–१ स्थित जामे मस्जिद अगाडि २ कठ्ठा बढी जग्गामा २०२८ सालदेखि बस्दै आएका १६ परिवारका टहरा उपमहानगरले बिहीबार डोजर लगाएर भत्काइदिएपछि उनीहरु घरबारविहीन भएका छन् यो जग्गाबारे अदालतमा मुद्दा छ,मुद्दाको अन्तिम फैसला भएको छैन ।

वर्षात शुरु हुने आफूहरुलाई घरवारविहीन बनाएर अलपत्र पारेको उनीहरुको दुखेसो छ । उपमहानगरपालिकाले वैकल्पिक व्यवस्था नगरी हटाउन नमिल्ने उनको तर्क छ । उक्त जग्गा तत्कालीन स्वर्गीय श्री ३ बडामहारानीको जग्गा भएको बताइन्छ ।

सांसदद्धारा अवलोकन

उपमहानगरपालिकाले डोजर लगाएको स्थानमा केहि दलका सांसदहरु पुगेर अवलोकन गरेका छन् । समाजवादी पार्टीका सांसद सन्तोष पाण्डे र राष्ट्रिय जनता पार्टीकी सांसद कल्पना पाण्डेले घटनास्थलमा पुगेर पीडितको पक्षमा आवाज उठाउने बताएका थिए ।

उनीहरुले स्थानीय सरकार निरकुश बन्दै गएको भन्दै त्यसका विरुद्ध आवाज उठाउने बताएका थिए । शुक्रवारको प्रदेश सभा वैठकमा समेत समाजवादी पार्टीका सांसद पाण्डेले बुटवल उपमहानगरपालिकाले अदालतको अपहेलना गर्दै वस्तीमा डोजर चलाएको भन्दै विस्थापितलाई वैकल्पिक व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै राष्ट्रिय जनता पार्टीकी सांसद पाण्डेले उपमहानगरपालिकाको कदमको विरोध गरिन् ।

कभर्ड हल शिलन्यासको तयारी
डोजर लगाएर बस्ति हटाइएको स्थानमा उपमहानगरपालिकाले शनिवार नै कभर्ड हल शिलान्यास गर्ने तयारी गरेको छ । बुटवल उपमहानगरपालिका वडा नंं १ का अध्यक्ष महेन्द्र लिगलका अनुसार सो स्थानमा ४० लाखको लागतमा कवर्डहल निमार्ण गरिने छ ।

अख्तियारको निर्देशन अनुसार उक्त जग्गा खाली गराएर उपमहानगरले कभर्ड हल बनाउने योजना बनाएको लिगलको दावी छ । विगतमा राणाहरुको घोडा बाँध्ने तबेलाको रुपमा रहेको उक्त स्थानमा रहेका टहरामा ९ परिवार मुस्लिम र ७ परिवार हिन्दु समुदायका गरीवहरु बस्दै आएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width