बराहपोखरीमा पर्यटकीय सम्भाव्यता अध्ययन

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७६
Ghalegaun

A view of mountain range from Ghalegaun in Lamjung district, on Friday, February 12, 2016. Photo: Ramji Rana

लमजुङ, ४ जेठ । ग्रामीण पर्यटनको पर्याय बन्दै गरेको लमजुङमा बराहपोखरी क्षेत्रको पर्यटकीय सम्भाव्यता अध्ययन गरिएको छ । मस्र्याङदी गाउँपालिका र दोर्दी गाउँपालिकाको सिमानामा पर्ने ऐतिहासिक तथा धार्मिक महत्वको बराहपोखरीको पर्यटकीय सम्भाव्यता बारेमा मस्र्याङदी गाउँपालिकाले अध्ययन थालेको हो ।

मस्र्याङदी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सम्बन्धित वडाका अध्यक्ष, सोही क्षेत्रका प्रदेश सांसद धनञ्जय दवाडी, पर्यटन व्यवसायी लगायतको ३१ जनाको टोलीले बराहपोखरीको अवलोकनसंगै सम्भाव्यता अध्ययन थालिएको मस्र्याङदी गाउँपालिकाका उपाध्यक्ष होम विकले बताए । उनका अनुसार सो अध्ययन तथा अवलोकन टोलीले बराहपोखरी क्षेत्रमा पर्यटकीय सम्भावना रहेको र यसलाई पर्यटकीय केन्द्र बनाउने निष्कर्ष निकालेको छ ।

त्यसका लागि आवश्यक आउँदो आर्थिक वर्षबाट विशेष योजनाका साथ पूर्वाधार तयार गर्ने योजनावद्ध तरिकाले अघि बढाई निर्णय भएको मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बराहपोखरीसम्म पुग्नको लागि मोटर बाटो निर्माण गरिने बताए । उनका अनुसार मस्र्याङदी गाउँपालिका, बेसीशहर नगरपालिका र दोर्दी गाउँपालिकाबाट जान सकिने बराहपोखरीसम्म तीन स्थानीय तहले बाटो निर्माण कार्य संयुक्त रूपमा गर्न सहमत भएका छन् । उनले भने, ‘बराहपोखरी सम्भावना बोकेको ठाउँ हो । ऐतिहासिक, धार्मिक, पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण छ । यसको प्रचारप्रसार हुन सकेको छैन हामी यसको योजनावद्ध रुपमा पर्यटकीय स्थल निर्माण कार्यलाई अघि बढाउने छौं ।’

विशेषगरी हरेक वर्ष वैशाख पूर्णिमा अर्थात बुद्ध पूर्णिमा र भदौमा पर्ने जनै पूर्णिमामा बराहपोखरीमा भक्तजनहरूको भीड लाग्छ । पोखरीमा नुहाउन जाने भक्तजनका अनुसार ती पोखरीमा नुहाए वषौँदेखिको रोगव्याधि निको हुने, मुख नबोल्नेहरू बोल्ने, मनोकामना पुरा हुने किंबदन्ती छ । आज बुद्ध पूर्णिमाका दिनमा सो क्षेत्रमा स्नान गर्न जानेको संख्या ३० हाजरभन्दा माथिको रहेको अनुमान गरिएको स्थानीय पत्रकार इन्द्र सुयलले सो क्षेत्रबाट जानकारी दिए ।

बराहपोखरीमा सो टोलीले वैशाख २३ गतेदेखि २५ गते तीन दिनसम्म अध्ययन अवलोकन भ्रमण गरेको गाउँपालिका उपाध्यक्ष होमबहादुर विश्वकर्माले बताए । उनका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश सभा सदस्य धनन्जय दवाडी, संविधान सभा सदस्य जमीन्द्रमान घले, पूर्वपाइलट एवं पर्यटन व्यवसायी त्रिपल पी गुरुङ, पर्यटन व्यवसायी बलराम थापा, दोर्दी गाउँपालिका नेकपाका अध्यक्ष युवराज अधिकारी, पत्रकार खिम घले, फोटो पत्रकार लाला गुरुङलगायत टोलीले अध्ययन अवलोकन गरको हो ।

लमजुङको मस्र्याङदी गाउँपालिका र दोर्दी गाउँपालिकाको सीमा क्षेत्रमा बराहपोखरी पर्दछ । त्यसको सम्भाव्यता अध्ययन गर्न पुगेको टोली बराहपोखरीसम्म पुग्ने बाटो निर्माण गरी पर्यटकीय तथा ऐतिहासिक स्थलको रूपमा विकास गरिने दोर्दी गाउँपालिकाका नेकपाका अध्यक्ष युवराज अधिकारीले बताए । उनका अनुसार उक्त टोलीले भ्रमणको क्रममा बराहपोखरी र वरिपरी साथै पदमार्गको सरसफाई गरेका थिए । पर्यटन प्रवद्र्धनबारे अन्तरक्रिया गरिएको थियो ।

नेकपाका गण्डकी प्रदेश प्रमुख सचेतक मायानाथ अधिकारीले बराहपोखरी व्यवस्थित हुन नसक्दा त्यहाँ पुग्ने पर्यटकलाई असहज हुने भएकाले यसको व्यवस्थापनमा जोड दिनु पर्ने देखिएको बताए । उनका अनुसार धार्मिक रुपमा पवित्र मानिएको उक्त स्थलको विकास गरी पर्यटक भित्र्याउन सकिने सकिने सम्भावना बलियो छ । त्यस्तै, प्रदेश सभा सदस्य धनञ्जय दवाडीले बराहपोखरीको सरसफाईसंगै भौतिक संरचनामा जोड दिनुपर्ने आफूलाई लागेको बताए ।

पर्यटन व्यवसायी त्रिपल पी गुरुङले बराहपोखरी प्राकृतिक र वातावरणीय रुपमा उत्कृष्ट भएकाले पर्यटकीय केन्द्रको रूपमा विकास गर्न सकिने प्रसस्त सम्भावना रहेछ यस्तो ठाउँ आजसम्म ओझेलमा पर्नु दुःखद हो उनले भने । उनले भने, ‘बराहपोखरी पदयात्रा र हाइकिङको लागि उपयुक्त रहेछ ।’

बराहपोखरीको धार्मिक महत्वमा विष्णु भगवानको बासस्थान तथा थकाई मेटेको कथासंग जोडिएको जनश्रुती छ ।
तीन हजार छ सय ५० मीटर उचाईमा रहेको बराहपोखरी बेसीसहर, मस्र्याङदी र दोर्दीका ग्रामीण भेगबाट एक दिनको पैदल यात्राबाट पुग्न सकिन्छ । तर अव ती तीनवटै स्थानीय पालिकाले त्यो क्षेत्रमा मोटरबाटो निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width