राष्ट्रिय भूमिअधिकार मञ्चको सम्मेलन पोखरामा

आदर्श समाज सम्वाददाता
फागुन २६, २०७५

पोखरा, २५ फागुन। राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको पाँचौ राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ।

मञ्चले पोखरामा शनिवार पत्रकार सम्मेलन गरी राष्ट्रिय सम्मेलनबारे जानकारी दिएको हो। सम्मेलन फागुन २७ देखि २९ गतेसम्म हुनेछ।

यसअघि मञ्चको पहिलो सम्मेलन २०६१ मा काठमाडौं, दोस्रो सम्मेलन २०६४ मा दाङ, तेस्रो सम्मेलन २०६८ मा जनकपूर र चौथो सम्मेलन २०७१ मा कञ्चनपुरमा भएको थियो।

सम्मेलनको पहिलो दिन उद्घाटन समारोह, दोस्रो दिन भूमि अधिकार आन्दोलन र सङ्गठन विकाससम्बन्धी प्रशिक्षण हुनेछ भने तेस्रो दिन सम्मेलनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ।

सम्मेलन उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गर्ने छन्। उद्घाटन पूर्व र्याली निकालिने जनाइएको छ ।

पोखरा–६, बैदाम गाईघाटबाट शुरु हुने र्याली शहीदचोक, रत्नचोक, सिर्जनाचोक हुदै सभागृह पुग्नेछ।

सम्मेलनमा ५९ जिल्लाका करिब १० हजार जना सहभागी हुने बताइएको छ। ‘सम्मेलनले भूमिहीनका सवालमा राज्यको ध्यानाकर्षण गर्ने अपेक्षा गरेका छौं,’ मञ्चका अध्यक्ष ल्यामबहादुर दर्जीले भने, ‘हाम्रा प्रतिनिधिले राज्यको ध्यानाकर्षण गराउँदै समस्या राख्ने छन्।’

मञ्चमा भूमि अधिकारबाट वञ्चित आवद्व छन्। मञ्चको अभियानको प्रभावका कारण भूमिहीन, सुकुम्बासी, मोही किसान, उखडा र विस्थापित परिवार गरी ६० हजारभन्दा बढी परिवारले जमिनमा अधिकार पाएको बताइएको छ।

पत्रकार सम्मेलनमा मञ्चकी महासचिव सरस्वती सुब्बा, गण्डकी प्रदेशका सचिव आशबहादुर गुरुङ र कास्की अध्यक्ष प्रेमबहादुर गुरुङले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width