वाइइबडी प्रकरण

आदर्श समाज सम्वाददाता
पौष २२, २०७५

सत्य, तथ्य पत्ता लगाउन आयोग : पोखरेल

जोसुकै भए पनि कारबाही हुनुपर्छ : देउवा

पोखरा, २१ पुस । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइडबडी खरिद प्रकरणमा लेखा समितिले गठन गरेको उपसमितिले बदनियतपूर्ण प्रतिवेदन बनाएको आरोप लगाएका छन् । प्रेस संगठन नेपाल कास्कीले पोखरामा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले सोको सत्यतथ्य छानबिनका लागि सरकारले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेको स्पष्ट समेत पारे ।

उनले भने, ‘सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले छानबिनको प्रतिवेदन मूलसमितिमा नपठाइ सार्वजनिक गर्नु बदनियत देखिएकाले सत्यतथ्य पत्ता लगाउन आयोग गठन गरिएको हो।’

उनले आयोगद्वारा तयार पारिएका प्रतिवेदनको आधारमा दोषी देखिएका व्यक्तिमाथि सरकारले कारबाही गर्ने बताए ।

उनले निर्मला पन्तका हत्यारालाई पक्राउ गरिछाड्ने वचन दिए । त्यस्तै, रेशम चौधरीको शपथ ग्रहणको सम्बन्धमा उपप्रधानमन्त्री पोखरेलले फौजदारी अभियोग लागेपछि संसद् सदस्यता नरहने र कारबाही गर्ने तत्कालीन एमालेका सांसदले यसअघिको संसद्को छलफलमा अडान लिएको स्मरण गराए ।

उनले जनताको मतबाट निर्वाचित भएपछि निर्वाचन आयोगले प्रमाणपत्र पाउने देखिएको उल्लेख गर्दै यी सबै विषयलाई ध्यानमा राखेर संसद्मा शपथ ग्रहण गराइएको जानकारी गराए । उनले केन्द्र र प्रदेशमा पार्टी एकताको कार्य सम्पन्न भइसकेको र जिल्ला, जनवर्गीय संगठन, प्रवासी संगठन लगायतमा एकताका लागि कार्य भइरहेको जानकारी दिए ।

पार्टी एकताका लागि गठित कार्य दलले पुस मसान्तसम्म प्रतिवेदन सचिवालयमा बुझाएपछि पार्टी एकताको कार्यले गति लिने उल्लेख गरे ।

यसैबीच, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्नेमा जोड दिएका छन् । पार्टीको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर संघको आयोजनामा मोरङको लेटाङ नगरपालिकामा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति देउवाले वाइडबडी विमान प्रकरणमा जुनसकै पार्टीको भए पनि कारवाही हुनुपर्ने पार्टीको धारणा रहेको स्पष्ट पारे । सरकारले छुट्टै छानविन समिति बनाएर घटनालाई लुकाउने शङ्का उत्पन्न भएको बताउँदै उनले भने, “घटनामा संलग्न जोसुकै भए पनि काङ्ग्रेसले छाड्दैन”, सभापति देउवाले जनताको इच्छा र चाहनाअनुसार काम गर्न नसकेका कारण सरकार विभिन्न विवादमा फस्दै गएको आरोप लगाए ।

उनले सरकारले शिक्षा, सञ्चार, प्रहरी सङ्गठन लगायत क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाउँदै त्यसका विरुद्ध अब देशभर आन्दोलन शुरु गर्ने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width