साहित्यिक महोत्सवमा महिला हिंसाविरुद्ध वहस

आदर्श समाज सम्वाददाता
पौष १२, २०७५
literature festival (1)

पोखरा, ११ पुस  । समाजमा महिला र पुरुषलाई अझै पनि समान व्यवहार नहुनु नै महिला हिंसाको प्रमुख कारण रहेकोमा जोड दिइएको छ । महिला हिंसामा संलग्नलाई कानूनी कठघरामा उभ्याउन सकेमात्र कतिपय यस्ता घटना स्वतः निर्मूल हुँदै जाने उनीहरुको भनाइ छ ।

आइएमई नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन मंगलबार ‘वुमेन्स सेफ्टी एन्ड सेक्युरिटी इन द टाइम अफ निर्मला’ सेसनमा बोल्ने वक्ताले सो कुरामा जोड दिएका हुन् । उनीहरुले आपराधिक घटनामा सरकारले पीडितलाई जतिसक्दो छिटो न्याय दिलाउन सक्नुपर्नेमा जोड दिए ।

अभिनेत्री मनीषा कोइरालाले समाजमा छोराछोरीलाई गरिने भेदभाव नहटेसम्म नेपालीले समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना कल्पनामै सीमित हुने बताइन् । समाजमा बलात्कारजन्य घटना बढ्नुमा कानूनी कार्यान्वयन फितलो रहेको भन्दै तत्काल दण्डसजाय व्यवस्था गरिनुपर्ने उनले औल्याइन् । निर्मला हत्याकाण्डका आरोपि तथा एसिड आक्रमणमा संलग्नहरु खुलेआमा हिडिरहँदा समेत राज्यले दोषी पक्राउ गरेर कानूनी कठघरामा उभ्याउन नसक्नु लाजमदो विषय रहेको कोइरालाको टिप्पणी थियो ।

गायिका आनी छोइङ डोल्माले बलात्कारमा संलग्न पुरुषको लिंगछेदन गर्नुपर्ने भन्दै कडारुपमा प्रस्तुत भइन् ।

केही समयअघि एसिड प्रहारमा परेकी संगीता मगरले अझै पनि एसिड प्रहारकर्ताले जेलबाटै धम्की दिइरहेको बताउँदै एसिड हान्नेमा अलिकति पनि पश्चात्तापबोध नभएको बताइन् । त्यति मात्र नभई उसले जेलबाटै आफ्नो परिवारलाई धम्की दिइरहेको र जे पनि गर्न सक्ने आशयका धम्कीपूर्ण भनाइ दिइरहेको उनको गुनासो छ ।

कार्यक्रममा सीमा बस्नेतले गायिका बन्ने लक्ष्य लिएर अघि बढेकी आफूमा एसिड आक्रमणपछि राजनीतिमा आउने र समाजमा व्याप्त विकृति उन्मूलन हटाउने काममा लागिपर्ने सोच आएको बताइन् । एसिड आक्रमणमा पर्दा अन्यबाट सहयोग पाए पनि सरकारीस्तरबाट उचित सहयोग नपाएको गुनासो गरिन् ।

सबैको प्रतीक्षाको सेसन ‘अबको नेतृत्वः कसको, कस्तो ?’ मा प्रस्तुत भए–नेकपा नेता नारायणकाजी श्रेष्ठ, काँग्रेस नेता गगन थापा र विवेकशील साझा पार्टी संयोजक रवीन्द्र मिश्र । उनीहरुसँग अन्तरसंवाद चलाए पत्रकार गुणराज लुइँटेलले ।

नेतृत्वको कमजोरी एवम् स्वार्थी चरित्रका कारण नेपालले विकासको मूलबाटो पहिचान गर्न नसकेको उनीहरुको भनाइ थियो ।

नेता श्रेष्ठले आफ्नो नाममा अहिलेसम्म बैंक ब्यालेन्स, घरघडेरी केही नभएको दाबी गरे । उनले समाजलाई सहीमार्गमा डोर्याउन आफू सदा लागिपर्ने बताए । पार्टीमा रहेका विभिन्न संघसंगठन हटाउने पक्षमा रहेको उनको भनाइ छ ।

नेता मिश्रले पुराना पार्टीमा मौलाएको भ्रष्टाचार निर्मूल नभएसम्म समाजले अझै पनि उज्यालो देख्न नपाउने दाबी गरे । उनले विवेकशील भने नयाँ विचार लिएर अघि बढेको भन्दै अबको २० वर्षभित्रै मुलुकले समृद्धिको काँचुली फेर्ने दाबी गरे ।

काँग्रेसका थापाले नेतृत्व वर्गमै सही दिशा निदेर्श हुनुपर्नेमा जोड दिए ।

यस्तै, कुन्ता शर्मा, अशोक थारु र हनिफ मियासँग ‘संघीय नेपालमा आञ्चलिक स्वर’ शीर्षकमा केदार शर्माले संवाद गरे । संघीयतामा गएको नेपालमा आञ्चलिकताको प्रभाव एवम् यसको प्रयोग सन्दर्भका विविध पक्षमाथि वक्ताले विश्लेषण गरे । ‘म किन राष्ट्रवादी होइन ?’ मा खगेन्द्र संग्रौला र ‘ह्वाई आन्र्ट यू अ फेमिनिस्ट’ शीर्षकमा अर्चना थापाले सम्बद्ध विषयमाथि प्रकाश पारे ।

‘साहित्यमा सेन्सरसीप’ मा महेशविक्रम शाह, युग पाठक र सरस्वती प्रतीक्षासँग नयनराज पाण्डेले बहस चलाए भने ‘गणतन्त्रपछिको नेपाली समाज’ मा राधेश्याम अधिकारी, सुरेश ढकाल र दुर्गा सोबसँग किरण नेपालले अन्तरसंवाद गरे । ‘द वेवार्ड डटर : अ काठमान्डू स्टोरी’ शीर्षकमा मुना गुरुङ र श्रद्धा घलेले विचारविमर्श गरे । ‘दन्त्यकथा’ शीर्षकमा प्रदीप गिरीले दन्त्यकथासँगै मिथकबारे प्रवचन दिए ।

बुकवर्म फाउन्डेसन र र्यान्डम रिडर्स सोसाइटीको आयोजनामा चार दिनसम्म फेवाताल किनारमा भएको सातौं संस्करणको सो फेस्टिभल कविता वाचनसँगै समाप्त भयो ।

फेस्टिबल अवसरमा देशविदेशका साहित्यकार, लेखक, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तिसँग झण्डै ३ दर्जन सेसनमा विभिन्न शीर्षकमा छलफल, बहस र संवाद भएको आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width