बलेवा, २७ मंसिर। बागलुङ जिल्लाको जैमिनी नगरपालिका-१ कुश्मीशेराका वडा सदस्य रुद्रनाथ शर्मा हरेक बिहान र साँझको समयमा सडकमा देखिन्छन्। हातमा ठूलो सिल्टेको भाँडो बोकेका शर्माको हिँडाइको गति कुनै सवारी साधनको भन्दा कम हुँदैन। दूध बोकेर बिक्रीका लागि डेरीमा हिँडेका शर्माले फर्केपछि गर्नुपर्ने कैयौं काम साँचिएका हुन्छन्। त्यसैले उनको गति तेजले चलेको हुन्छ। बागलुङ-कुश्मीशेरा सडक खण्डको १९ किलोमिटरमा पर्ने उनको घरदेखि १८ किलोमिटरको दूरीमा रहेको डेरीसम्म दौडिनु उनको नित्य कर्म हो।
उन्नत जातका गाई र भैंसी गरेर आठ वटा वस्तुभाउ गोठमा बाँधेका उनले दिनमा २५ देखि ३० लिटरसम्म दूध बिक्री गर्दैआएका छन्। बिहान १५ लिटर र बेलुका १० लिटर भन्दा धेरै दूध बेच्ने शर्माले महिनामा औसत ६० देखि ७० हजार रुपैयाँ कमाउँछन्। दुर्इ छोरा र श्रीमतीसहित चारजनाको परिवारको दैनिकी चलाएर बचत गर्न समेत शर्मालाई दूधको कमाइले पुगेको छ। घरमा भएका श्रीमान् श्रीमतीको खर्च र बागलुङ बजारमा पढ्दै गरेका दुर्इ छोराको खर्च शर्माले दूधको कमाइले चलाएका छन्। उनी वडा सदस्य सँगै विभिन्न सामाजिक संस्थामा समेत जिम्मेवार पदमा छन्। बिहान बेलुका घाँस काट्ने देखि दुग्ध संकलन केन्द्रसम्म पुग्ने काम भ्याउने शर्मालाई घरको कामका लागि उनकी श्रीमती सरस्वती शर्माले साथ दिन्छिन्।
पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका शर्मा कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका सचिव पनि हुन्। कहिले वडा कार्यालयको काम त कहिले विद्यालय र सहकारीको काम भ्याउने शर्माको बिहान बेलुकाको दैनिकी भने गाई गोठ र दुग्ध सङ्कलन केन्द्रमै सीमित हुन्छ। “सामाजिक काम गरेर बचेको समय गोठमा लगाएको छु ” शर्माले भने-“गाईभैंसी पालेर भएको आम्दानीले मलाई थप आनन्द दिएको छ।” डेढ वर्ष पहिलासम्म जिल्लाको दक्षिण क्षेत्रका गाउँगाउँमा सामान ढुवानी गर्न खच्चड पालेका शर्माले वडा सदस्यमा निर्वाचित भएपछि गाईभैंसी पाल्न शुरु गरेका हुन्। एक-दुर्इ वटा भंैसी पालेर दूध बिक्री गर्न थालेको वषौर्ं बितिसकेको भए पनि व्यावसायिक रूपमा भने उनले जनप्रतिनिधिमा निर्वाचित भएपछि गाई पाले।
बिहान बेलुकाको समय व्यवस्थापन गरेर मासिक रूपमा राम्रो आम्दानी गर्न सकिने देखेर व्यावसायिक रूपमा गाई पालेको शर्मा बताउँछन्। “खच्चड पाल्दा दिनभर खच्चडकै पछि दौडिनु पर्दथ्यो, सामाजिक काम गर्न मलाई समय हुँदैन्थ्यो, ” शर्माले भने, “जनताका काम गर्न समय मिल्दैन कि भनेर खच्चडको विकल्पका रूपमा गाई पाल्न थालेको हुँ।” आगामी वर्षसम्ममा मासिक एक लाख रुपैयाँसम्म कमाइ हुने गरी शर्मा गाई फार्मको विस्तारमा लागेका छन्। “घाँसे मैदान प्रशस्त छ, दिनमा एक समय मिलाएर घाँसको प्रबन्ध गर्न सके १० देखि १५ वटा सम्म गाई पाल्न सकिन्छ, ” शर्माले भने, ‘दूधको कमाइले मलाई हौस्याएको छ। कामदार राखेरै भए पनि गाईको संख्या बढाउँछु।”
‘सरस्वती गाई फार्म’ दर्ता गरेर व्यावसायिक रूपमा दूधको उत्पादनमा लागेका शर्माको काम देखेर गाउँलेहरूले समेत सिको गर्न थालेका छन्। शर्माको गाई फार्मबाट राम्रो आम्दानी भएको देखेपछि गाईभैंसी पाल्न शुरु गरेका कुश्मीशेराकै टुनिवटका केदार पौडेल अहिले मासिक ४० हजार रुपैयाँ कमाउँछन्। दुर्इ वटा उन्नत जातका गाई र एउटा उन्नत जातको भैंसी ‘आशीष गाई पशु फार्म’ नाम गरेको उनको फार्ममा छन्। दिनमा १० देखि १५ लिटरसम्म दूध बिक्री गर्ने गरेको पौडेलले बताए। पौडेलले जस्तै खौर, किसेक र टुनीवटका १५ जना किसानले पशुपालनलाई नै मुख्य पेशा बनाएर दूध बिक्री गर्दैआएका छन्।
उनीहरूले व्यावसायिक गाईपालन शुरु गरेपछि कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाको सङ्कलन केन्द्रमा दूधको आपूर्र्ति हृवात्तै बढेको छ। सहकारीले कुश्मीशेराको खौर, किसेक र टुनीवटमा बस्ने किसानहरूको सहजताका लागि खोलेको दुग्ध सङ्कलन केन्द्रमा दूधको मात्रा बढेको सहकारीका अध्यक्ष मुक्तिराम आचार्यले बताए। “एक वर्ष पहिलासम्म ८० देखि १ सय लिटरसम्म दूध सङ्कलन हुन्थ्यो, ” आचार्यले भने, “एक वर्षयता दूधको मात्रै क्रमशः बढ्दै ३ सय लिटर पुगेको छ।” सहकारीले सो क्षेत्रका सबै किसानहरूलाई समेट्न २८ जनालाई शेयर सदस्य नै बनाएको छ। पन्ध्रजना किसानले तीन वटा भन्दा धेरै गाईभैंसी पालेर व्यावसायिक उत्पादन गरेको भए पनि बाँकीले भने शेयर सदस्यको दायित्वअन्तर्गत पूरा गर्नुपर्ने कोटामा मात्रै दूध उपलब्ध गराउने गरेका छन्।
एक वर्षको अवधिमा झण्डै ३५ लाख रुपैयाँको दूध बिक्री गरेको उक्त सङ्कलन केन्द्रले आगामी वर्ष ६० लाख रुपैयाँको दूध बिक्री गर्ने लक्ष्य राखेको सहकारीका सचिव रुद्रनाथ शर्माले बताए। बागलुङको बलेवा क्षेत्रमा रहेका किसानहरूको दूध सङ्कलन र बिक्री गर्दैआएको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले विभिन्न सङ्कलन केन्द्रमार्फत दूध सङ्कलन गरेर बागलुङ बजार तथा पर्वतको सदरमुकाम कुश्मा बजारमा बिक्री गर्दैआएको छ। वाषिर्क डेढ करोड रुपैयाँ भन्दा धेरैको दूध बिक्री हुने गरेको अध्यक्ष आचार्यले बताए।
दूधको बजार राम्रो रहेकाले किसानहरूलाई बिक्रीका लागि समस्या छैन। टाकुरीमा चिस्यान केन्द्र स्थापना गरेको सहकारीले बिहान बेलुका दुवै समयको दूध सङ्कलन गरेर स्तरीकरणसमेत आफ्नै केन्द्रमा गर्दैआएको छ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
विभेद न्यूनीकरणमा सञ्चारकर्मीको भूमिका
पाेखराकाे मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको २ करोड, कांग्रेस र एमालेले दिए ५० लाख
hero news full width
मुख्य समाचार
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने
असाेज २१, २०८१प्रधानन्यायाधीशमा राउत नियुक्त
असाेज २०, २०८१दशैँको बेला च्याङ्ग्राको व्यापार
असाेज २०, २०८१