शान्तिका बाहक सिक्लेसमा

दाहाल र सिटौलाद्वारा शान्ति स्मारक अनावरण

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७५
dahal

सिक्लेस (कास्की), २४ मंसिर। मुलुकमा चलेको १० वर्षे जनयुद्धका बेला शान्तिका वाहक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस नेता कृष्णप्रसाद सिटौला शान्तिप्रक्रियाको प्रस्थानबिन्दु सिक्लेसमा सोमबार एकैसाथ उत्रिएका छन्। मादी गाउँपालिका-१ अन्तर्गत पर्यटकीय क्षेत्रमा सिक्लेसमा निर्मित शान्ति स्मारक अनावरणका लागि दाहाल र सिटौला एकसाथ उत्रिएका हुन् ।

शान्ति स्मारक अनावरण गर्दै नेकपा अध्यक्ष दाहालले दरबारबाट बाहिरिएकाहरुका कारण ढुक्क भएर बस्ने अवस्था नरहेको बताए ।  उनले दरबारबाट बाहिरिएकाहरु तथा देशमा अशान्ति मच्चाउनेहरुले विभिन्न नाममा देशमा आतंक मच्चाएर उपलब्धि खोस्ने षड्यन्त्र गरिरहेकाले ढुक्क भएर बस्ने स्थिति नभएको बताए ।

‘दरबारबाट बाहिरिएका शक्तिहरु अहिले पनि पहाडमा साम्प्रदायिकता मच्चाएर भएका उपलब्धि मास्ने षड्यन्त्रमा लागेका छन्। त्यसैले ढुक्क भएर बस्ने स्थिति छैन। तराईमा पनि बिखण्डनकारीहरु सल्बलाउने प्रयास गरिरहेका छन्,’ उनले भने, ‘परिवर्तनकारी शक्तिहरु सचेत हुन जरुरी छ। तत्कालीन गणतन्त्रका पक्षधर, परिवर्तनको पक्षधर नेकपा, नेपाली काँग्रेस सहितका सात दल एक भएर अगाडि बढ्नुपर्छ।’

उनले संविधान, संघीयता, समावेशी लोकतन्त्र र धर्मनिरपेक्षता परिवर्तनका मूल आधार भएको बताए। उनले यसमध्ये कुनै एउटा आधार भत्किएमा सबै आधार भत्किने चेतावनी दिए। कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाजस्ता ‘टावरिङ पर्सनालिटी’ भएका व्यक्ति अहिले नहुँदा अभाव खड्किएको बताए।

‘बहुमत नभए पनि एक्लै निर्णय गरेर अगाडि बढ्न सक्ने गिरिजाजस्तो टावरिङ पर्सनालिटी भएको व्यक्ति पनि कांग्रेसमा छैन,’ उनले भने, ‘अहिले कांग्रेसकै केही नेताहरु संविधानमात्र होइन। परिवर्तनप्रति नै नाखुस् छन्। पार्टीा शान्तिप्रक्रियामा सहभागी नेताभन्दा ती परिवर्तनप्रति नाखुस व्यक्तिहरुकै बोलवाला छ। सुनिँदैछ, उनीहरु महासमितिमार्फत अकै बाटो लाग्ने प्रयासमा छन्।’

उनले परिवर्तनकारी दलहरु सचेत नभए प्रतिक्रान्ति र निरंकुशताको फेरि आएर परिवर्तन मासिन सक्ने बताए।

नेकपा अध्यक्ष दाहालले गिरिजालाई आफूले गणतन्त्रमा आउने भए आफूहरु शान्ति र लोकतन्त्रमा आउने बताएको स्मरण गरे। उनले भने, ‘मलाई गिरिजाबाबुले पहिलो भेटमा तपाईं शान्ति र लोकतन्त्रमा आउने हो कि होइन भनेर सोध्नुभयो। दोश्रो भेटमा मैले गिरिजाबाबुलाई तपाई गणतन्त्रमा आउने हो भने हामी शान्ति र लोकतन्त्रमा आउँछौं भनेको थिएँ।’

उनले पार्टीर व्यक्तिगत जोखिम मोलेर शान्तिप्रक्रियामा आएको बताउँदै नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय बनेको र अध्ययनको विषय बनेको उल्लेख गरे। उनले शान्तिप्रक्रियामा ल्याउन गिरिजाबाबु, माधव नेपाल, केपी ओली लगायत नेताको महत्वपूर्ण र जोखिमपूर्ण भूमिका रहेको सम्झे।

उनले सिक्लेस ऐतिहासिक, सांस्कृतिक, शान्तिप्रक्रियाको आरम्भ र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको उल्लेख गरे। उनले भने, ‘सिक्लेस सबै हिसाबले महत्वपूर्ण छ। यो ठाउँ शान्तिप्रक्रियाको प्रस्थानबिन्दु हो। नेपालको लागि मात्र होइन यो विश्वकै लागि अध्ययनको केन्द्रबिन्दु बन्नेछ।’

सो अवसरमा उनले सिक्लेसको बाटो बनाइदिने घोषणा गरे। १२ वर्षअघि वार्ताका लागि सिक्लेसमा प्रकट हुँदा आफैले गरेको वाचा सम्झँदै भने, ‘पोखराबाट नजिक भएर पनि सिक्लेस त टाढाजस्तो रहेछ। म यो पोखराको विजयपुरदेखि सिक्लेससम्मको ४० किलोमिटरको बाटो पिच गर्न बजेट पारिदिने प्रतिबद्धता व्यक्त गर्दछु। अब अर्को पटक आउँदा अहिलेजस्तो ४/५ घण्टाको बाटो पिच नभएर आधा घण्टा वा ५० मिनेटै झरेर सरर आउने भइसक्छ।’

काँग्रेस नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले परिवर्तनको स्पीरिटअनुसार वर्तमान सरकारले काम गर्न नसकेको आरोप लगाए। नयाँ सरकार आएको १ वर्षमा जति हुनुपर्थ्यो त्यति नभएकोमा रोष प्रकट गरे ।

‘एक वर्षमा यो सरकारले जति प्रगति र विकास गर्नुपर्थ्यो, त्यति हुन सकेको छैन। अपेक्षा अनुसार काम गर्न सकेन,’ उनले भने, ‘त्यस्तै प्रतिपक्षले पनि जति विरोध गर्नुपर्थ्यो त्यो पनि गर्न सकेन। कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका खेल्नेछ ।’

तत्कालीन सरकारी पक्षका वार्ता समिति संयोजकसमेत रहेका सिटौलाले द्वन्द्वकालका पीडित पक्षलाई न्याय दिनुपर्ने बताए। उनले द्वन्द्वकालमा १७ हजार मान्छेले ज्यान गुमाउनुका साथै कयौं बेपत्ता भएको बताउँदै ती पीडित पक्षलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत न्याय दिलाउनुपर्ने बताए।

सिटौलाले सिक्लेसमा दाहाल भएको भेटको स्मरण गर्दै गिरिजाकै कारण शान्तिप्रक्रिया अगाडि बढ्न सम्भव भएको बताए। उनले भने, ‘गिरिजाबाबु नभएको भए सायद नेपालको शान्तिप्रक्रिया र वार्ता के हुन्थ्यो थाहा छैन। उनले आफूलाई दाहालले वार्ता नमिले के हुन्छ भनेर सोध्दा आफूले सटिक जवाफ दिएको स्मरण गर्दै भने, ‘तपाई जहाँ जान चाहनुहुन्छ। म त्यही लगेर छोड्छु।’

प्रदेश सांसद मनबहादुर गुरुङले शान्तिको साक्षी सिक्लेस भएकाले उक्त शान्तिप्रक्रियाको प्रस्थानबिन्दु सम्झाउन शान्ति स्तम्भ बनाएको बताए।

नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक मुद्दा सकिएकाले अब सबैको मुद्दा विकास र समृद्धि भएको बताए। त्यसका लागि सरकारले सहजीकरण गर्दै निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिए।अनावरण गरिएको शान्तिस्तम्भ १५ लाख लागतमा बनेको हो । मादी गाउँपालिकाको १० लाख बजेटबाट शान्तिस्तम्भ निर्माण गरिएकोमा गाउँपालिका वडा-१ को १ लाख र स्थानीयको ४ लाख बराबरको श्रमदान परेको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’ ले जानकारी दिए।

करीब डेढ रोपनी क्षेत्रफलमा २० वटा भाव झल्कने गरी स्तम्भ निर्माण गरिएको उनले बताए। तीन महिना लगाएर निर्मित स्तम्भ परिसरमा अर्काइभमार्फत शान्तिप्रक्रियाका विभिन्न झलक देखाइने उनको भनाइ छ।

जनयुद्धबाट शान्तिप्रक्रियामा आउने वातावरण निर्माणका लागि तत्कालीन द्वन्द्वरत पक्ष नेपाल कम्युनिष्ट पार्टीअध्यक्ष पुष्पकमल दाहाल र अर्का नेता बाबुराम भट्टराई १२ वर्षपहिले पहिलोपटक सिक्लेसमा सार्वजनिक भएका थिए। सो दिन २०६३ साल असार २ गते थियो । सो बेला सरकारी वार्ता टोलीका तत्कालीन संयोजक कृष्णप्रसाद सिटौलाले माओवादी नेता दाहाल र भट्टराईलाई भेटेका थिए। त्यसको २ दिनपछि उनीहरु कास्कीकै लामाचौरबाट हेलिकोप्टरमार्फत सिधै काठमाडौं पुगेका थिए।

सो दिन ऐतिहासिक मान्दै मादी गाउँपालिकाले सम्झनास्वरुप शान्तिस्तम्भ निर्माण गरेको मादी गाउँपालिका अध्यक्ष वेदबहादुरले बताए। उनले शान्तिस्तम्भले व्रि्रोहको शान्तिपूर्ण रुपान्तरणको पाइलालाई चिरस्थायी रुपमा सम्झाउने बताए। यसले द्वन्द्वको विभिषिकाबाट पाठ सिक्दै समाज रुपान्तरणका कामलाई पनि निरन्तरता दिन नेतृत्वलाई दबाब दिने उनको विश्वास छ।

शान्ति स्तम्भले पर्यटक आगमनमा पनि सघाउ पुर्‍याउने उनले बताए। उनले भने, ‘शान्ति स्तम्भले नेपालमात्र नभई नेपालको शान्तिप्रक्रियाको पहिलो पाइला चालिएको ठाउँ सिक्लेसलाई विश्वमै परिचित गराउनेमा ढुक्क छौं।’

Related News

सम्बन्धित समाचार

hero news full width