लैङ्गिक हिंसाविरुद्धको अभियान शुरु

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७५
Mahila Hinsha Ralley PkR

पोखरा, ९ मंसिर । पोखरामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान र सेतो रिवन अभियान शुरु भएको छ । विगतमा जस्तै यस वर्षपनि कास्कीलगायत गण्डकी प्रदेशको ११ वटै जिल्लाहरुमा गैरसरकारी संस्थाहरुबाट लैङ्गिक हिंसाविरुद्धको अभियान थालिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले कास्की जिल्लामा नोभेम्बर महिनाको २५ देखि डिसेम्बरको १० तारिक अर्थात मंसिरको ९ देखि २४ गतेसम्म हिंसाविरुद्धको मनाइने उक्त अभियानसम्बन्धी कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेश, सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेश मातहतका सबै जिल्लाहरुमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउन पत्राचार गरिएको बताइन् । स्थानीय तहमा समेत अभियान मनाउनका लागि समन्वय समितिहरुलाई पत्राचार गरिएको मन्त्री पुनको भनाई थियो । अभियानलाई प्रभावकारी बनाउन संचार माध्यमहरुबाट नियमित प्रसारण र प्रकाशन गरिने मन्त्री पुनले बताइन् । उनका अनुसार राष्ट्रिय मानवअधिकार आयोगको समन्वयमा मानवअधिकार दिवससमेत यसै अभियान अन्तरगत मनाइनेछ ।

अभियानको कार्यक्रमअन्तरगत पहिलो दिन आइतबार विहान ११ बजे गण्डकी प्रदेशको सामाजिक मन्त्रालय, सहिदचोकदेखि पोखराको लेकसाइडस्थित हल्लनचोकसम्म प्लेकार्डसहितको र्‍याली निकालिएको थियो ।

सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा र गैरसरकारी संस्थाहरुको सक्रियतामा निकालिएको र्‍यालीमा महानगरपालिकाका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, महिला समूह, गैरसरकारी संस्थाका सदस्य तथा कर्मचारीहरुको सहभागिता थियो । अभियान अन्तरगत मंसिरको २० गते महिला मानवअधिकार रक्षक सञ्जालको आयोजनामा सामाजिक मन्त्रालयमा यौनजन्य हिंशा तथा मनोसामाजिक सुरक्षा विषयमा अन्तरक्रिया कार्यक्रम हुने छ । कार्यक्रममा प्याब्सन र एन प्याब्सनमा संलग्न विद्यालयहरुका शिक्षकशिक्षिकाहरु सहभागी हुनेछन् ।

नोभेम्बर २५ देखि डिसेम्बरको १० तारिखसम्म बालकल्याण संस्थाको पहलमा लैङ्गिक हिंसाविरुद्धको विषय समेटिएको पम्प्लेट छपाई तथा प्रचार प्रसार गर्ने कार्यक्रम छ । जुन यस्तो अभियानमा सरोकारवाला सबैलाई सहभागी गराइने कार्यक्रम तय गरिएको छ । महिला हिंसाविरुद्धको १६ दिने अभियानभरी शक्ति समूहद्धारा सेतो रिवन वितरण गर्ने कार्यक्रम छ । यस अभियानलाई प्रदेश मन्त्रालय र प्रदेशस्तरिय गरिने सामाजिक विकास मन्त्रालय, सामाजिक महाशाखा प्रमुख तुलसी अर्यालले जानकारी दिइन् । अभियानअन्तरगत बालकल्याण संस्था, कोपिला नेपाल र मानवअधिकार रक्षक सञ्जालको आयोजनामा पोखराको भरतपोखरी, कालिका र बैदाममा सम्बन्धित क्षेत्रका महिलाहरुको सहभागितामा महिला कानूनी सचेतनासम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्ने जनाइएको छ । यस कार्यक्रमका लागि सम्बन्धित वडाका वडा अध्यक्षहरुसंगको समन्वयमा मिति तय गर्ने जनाइएको छ । १६ दिने अभियानकै क्रममा मंसिरको २८ गते थ्रीएन्जल्स नेपालको आयोजनामा पोखरा महानगरको १०, १५ र १७ वडामा लैङ्गिक हिंसासम्वन्धी अन्तरक्रिया कार्यक्रम गरिने बताइएको छ ।

उक्त दिन गैरसरकारी महासंघको आयोजनामा सामाजिक विकास मन्त्रालयको सामाजिका विकास महाशाखाको हलमा कार्य प्रगति विवरण प्रस्तुत गर्ने कार्यक्रम छ । महाशाखा प्रमुख अर्यालले गैरसरकारी महासंघमा आबद्ध सबै संस्थाहरुको कार्यप्रगति संकलन गरेर प्रतिवेदन प्रस्तुत गरिने बताइन् ।

अभियान अन्तरगत डिसेम्बर ३ तारिख अर्थात मंसिरको ७ गते अन्तराष्ट्रिय अपाङ्गता दिवस पर्ने भएकोले उक्त दिन अपाङ्ग महासंघ गण्डकी प्रदेशको आयोजनामा सरोकारवालाहरुलाई  सहभागी गराएर दिवस मनाउने कार्यक्रम तय गरिएको छ ।

पोखराको ५ नं वडामा मंसिरको ८ गते, ७ नं मा मंसिरको १८ गते, ९ नं मा मंसिरको १४ गते, १० नं मा मंसिरको १३ गते, १४ नं मा मंसिरको १२ गते, १५ नं मा मंसिरको १७ गते र १७ नं वडामा मंसिरको १६ गते लैङ्गिक हिंसाविरुद्धको सचेतना कार्यक्रम तथा सेतो रिवन अभियान गरिने जनाइएको छ । मानवअधिकार रक्षक सञ्जालको आयोजनामा हुने उक्त कार्यक्रममा वडाका प्रतिनिधि सदस्यहरू महिला समुह, सरोकारवालाहरुको सहभागिता रहने जनाइएको छ । अभियानकै क्रममा नेपाल हाउसको आयोजनामा अभिभावकसँग लैङ्गिक हिंसासम्वन्धी मनोसामाजिक परामर्शका कार्यक्रमसमेत तय गरिएको महाशाखा प्रमुख अर्यालले जनाइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width