विदेशी पर्यटकलाई भाइटीका

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७५
20181109_160402

पोखरा, २४ कात्तिक । नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पश्चिमाञ्चल होटल संघ पोखराले तिहारको दिन पोखरामा १२ औं भाइटीका महोत्सव गरेको छ।

महोत्सव अवसरमा लेकसाइडको रेन्वो चिल्ड्रेन होमका छात्राहरुले विभिन्न १० देशका ६० जना पर्यटकलाई टीका लगाइदिएर भाइटीका महोत्सव मनाए।

नेपाली परम्परा अनुसार पर्यटकलाई तिहारको टीका लगाउने, देउसी भैलो खेल्ने र सेलरोटी लगायत अन्य परिकार खाने खुवाउने कार्यक्रम महोत्सवअन्तर्गत समेटिएको थियो।

गत वर्षको ११ औं भाइटीका महोत्सवमा १३ देशका ३५ पर्यटकले टीकामा सहभागिता जनाएको संघका पूर्व अध्यक्ष गोविन्दराज पहारीले जानकारी दिए।

स्वदेशी तथा विदेशी पर्यटकमाझ आपसी भाइचाराको अभिवृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई पहिचान प्रदान गर्ने उद्देश्य समेत महोत्सवको रहेको आयोजक संस्थाका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।

भाइटीका महोत्सवको निरन्तरतासँगै पछिल्ला वर्षमा पर्यटकहरु दोहोर्‍याएर समेत टीका लगाउन पोखरा आउन थालेका छन्।

भाइटीका महोत्सव पर्यटकका लागि नयाँ पर्यटकीय प्रोडक्ट समेत बन्न थालेको महोत्सवका संयोजक पार्वती पाण्डेले जानकारी दिइन्।

महोत्सव लेकसाइडस्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा आयोजना गरिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width