चीनबाट फर्किए मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
असाेज १७, २०७५

पोखरा, १६ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सातादिने लामो चीन भ्रमणपछि पोखरा फर्किएका छन् । चीनको हाईनान प्रान्तका गभर्नरको औपचारिक निम्तो मान्न मुख्यमन्त्रीको टोली असोज ९ गते त्यसतर्फ गएको थियो ।

सोमबार नेपाल फर्किएका मुख्यमन्त्री मंगलबार पोखरा आइपुगेका हुन् । पोखरा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गुरुङले चीन भ्रमणबाट कुनै पनि आर्थिक सहायता नल्याएको बताएका छन् । ‘विदेश गएपछि कति पैसा ल्यायो भनेर सोध्छन् । के-के सम्झौता भयो भनेर सोध्छन्,’ उनले भने, ‘तर मैले केही पनि ल्याएको छैन । उनीहरुलाई गण्डकी प्रदेशको बारेमा जानकारीमात्रै गराएको छु । गभर्नरको टोली पोखरा आएका बेला केही सम्झौता होलान् ।’

विशेषगरी गण्डकी प्रदेश र हाईनान प्रदेश तथा पोखरा महानगर र हाईकावो नगरबीच भगिनी सम्बन्ध स्थापित गर्ने विषयमा सहमति भएको उनले बताए । यसबाहेक टेक्निकल इन्स्टिच्युट स्थापना र नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिमा त्यहाँका कलेज तथा विश्वविद्यालयमा पढाउने सहमति पनि भएको छ । तर औपचारिक सम्झौता भने पोखरामा नै हुनेछ ।

त्यसका लागि नोभेम्वर ११ र १२ तारिखमा हाईनानका गभर्नर सहितको टोली पोखरा आउनेछ । हाईनानका निजी क्षेत्र र अन्य सरकारी निकायबीच पनि परस्पर सम्बन्ध स्थापित गर्ने गरी छलफल भएको उनले बताए । अर्गानिक खेती, नेपालको पर्यटन, उर्जा, औषधि कारखानामा चिनियाँहरु लगानीका लागि इच्छुक देखिएका मुख्यमन्त्री गुरुङले बताए ।

उनले नेपाल संघीय संरचनामा गएको विषय समेत चीनमा जानकारी नभएको बताएका छन् । ‘नेपालमा पनि प्रदेश छ भनेर उनीहरुलाई जानकारी गरायौं । संघीयतामा गएको कुरा पनि थाहा रहेनछ,’ उनले भने, ‘हाईनानमा राजनीतिक स्थिरता छ । नेपालमा अस्थिरताका कारण पनि विकास हुन नसकेको मैले महसुस गरें ।’ अरु देशको नक्कल गरेर आफ्नो ठाउँको विकास नहुने उनले बताए । ‘हाईनान पनि ३० वर्ष पहिले नेपालको कर्णाली जस्तै रहेछ । तर उनीहरुले आफ्नो विशेषता पहिल्याएर त्यसैमा लगानी केन्द्रित गरे,’ उनी भन्छन्, ‘अर्काको नक्कल गरेर विकास हुँदैन भन्ने उदाहरण हामीले देख्यौं । त्यसैले विशेषता पहिल्याएर लगानीको वातावरण तयार गर्ने हाम्रो एजेण्डा छ ।’

संघीय संरचना बनेपछि विदेश भ्रमणमा जाने उनी दोश्रो मुख्यमन्त्री हुन् । तर, औपचारिक भ्रमण भने आफ्नो पहिलो भएको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width