मृगौला तस्करीको अभियोगमा पाँच पक्राउ

आदर्श समाज सम्वाददाता
श्रावण १४, २०७५

चितवन, १३ साउन । जिल्लाका सोझा साझा सर्वसाधारणलाई ललाई फकाई भारत पुर्‍याएर मृगौला तस्करी गरेको अभियोगमा चितवन प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेहरुमा नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिका ४ बस्ने ४१ वषिर्य हरि परियार भन्ने दुर्गा बहादुर दर्जी, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ४ बस्ने ३५ वषिर्य बिक्रम पहरी, मकवानपुर जिल्लाको बकैया गाउँपालिका ५ बस्ने २८ वषिर्य प्रकाश तामाङ, मोरङ जिल्लाको बयरबन गाविस ६ बस्ने ३४ वषिर्य दिपक लिम्बु र रसुवा जिल्ला उत्तरगया गाउँपालिका ३ बस्ने २८ वषिर्य विशाल नेपाली छन् ।

डीएसपी ढकालका अनुसार पहरी, तामाङ र लिम्बुलाई साउन १ गते चितवनबाट, दर्जीलाई सोही दिन काठमाण्डौंबाट र नेपालीलाई साउन ४ गते रसुवाबाट पक्राउ गरी थप अनुसन्धान भई रहेको छ ।

निजहरु मध्ये परियार बाहेकका अन्यले अन्य तस्करहरुको सर्म्पर्कबाट भारतका बिभिन्न अस्पतालहरुमा गई १/१ वटा मृगौला बिक्रीसमेत गरिसकेको पाइएको डीएसपी ढकालले बताए ।

मृगौला बिक्री गर्ने मानिस खोजी गरी सर्म्पर्क गराई दिएबापत एक जनाको ५० हजारदेखि एक लाख रुपैयाँसम्म कमिशन लिने गरेको अनुसन्धानबाट खुल्न आएको ढकालले बताए । तस्करी कार्यमा संलग्न अन्य व्यक्तिहरुको समेत खोजतलास भई रहेको छ । पक्राउ परेकाहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी बिस्तृत अनुसन्धान भई रहेको डीएसपी ढकालले बताए । जिल्ला प्रहरी कार्यालय चितवनले स्वास्थ्यसम्बन्धी विभिन्न अपराध हुन सक्ने भन्दै असार २५ गते ७ जनाको मेडिकल रेस्पोन्स टिम (एमआरटी) गठन गरेको थियो । सोही टिम परिचालन भएपछि यहाँबाट मृगौला तस्करी हुने रहस्य खुलेको हो । स्वास्थ्य नगरीको रुपमा परिचित चितवनमा मानव अंग तस्कर सक्रिय हुन थालेपछि यहाँका अस्पतालहरुबाट समेत मानव अंग तस्करी हुन सक्नेप्रति सर्वसाधारण सशंकित हुन थालेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width