बोलबम तयारी पूरा, प्रचारार्थ मोटरसाइकल र्‍याली

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७५
bolbom

पोखरा, ५ साउन  । साउन महिना शुरुसँगै बोलबम रौनक हुँदैछ । यसै सर्न्दर्भमा केदारेश्वर महादेवमणि सेवाश्रम समिति बोलबमधाम, पोखराले हरेक वर्ष साउन सोमबार आयोजना गर्दैआएको बोलबम जलयात्रा कार्यक्रम प्रचारका लागि मोटरसाइकल र्‍याली प्रदर्शन गरेको छ ।

बैदामस्थित मन्दिरको मूलगेटबाट शनिबार बिहान शुरु भएको र्‍यालीको बोलबम संयोजक समेत रहेका विश्व हिन्दू महासंघ कास्की अध्यक्ष शंकर खरालले उद्घाटन गरेका थिए । उनले १५ वर्षअघि केदारेश्वरले शुरु गरेको बोलबम जलयात्रा छिमेकी जिल्लामा समेत फैलिँदै गएको बताए । उनले यसपालि पनि कार्यक्रम भव्यरुपमा सम्पन्न गर्न सबैको सहयोगको खाँचो औल्याए । र्‍याली लेकसाइड, हल्लनचोक, जिरो किमी, सिर्जनाचोक, विन्ध्यवासिनी, बगर, नदीपुर, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, पृथ्वीचोक, बिरौटा हुँदै पुनः केदारेश्वर पुगेर समापन भएको थियो । ‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ भक्तजनले साउन सोमबार सेतीनदी किनार गाईघाटबाट जल लिएर भजनकीर्तनका साथ केदारेश्वरमा जलार्पण गर्दै शिवको पूजाआजा गर्दछन् । मन्दिरमा पूजाआजाका लागि हजारौं भक्तजनको भीड लाग्ने हुँदा आयोजकले सोही अनुसार तयारी पूरा गरेको केदारेश्वर महादेवमणि सेवाश्रम समिति सचिव खिमबहादुर पहारीले जानकारी दिए । पोखरा बृहत् सरसफाइ अभियान गत साता मन्दिरमा पुगेकोमा शनिबार डिभाइन युथ क्लबले पनि सो क्षेत्रमा सरसफाइ गरेको छ ।

मन्दिरका पीठाधीश डा लेखनाथ आचार्यले साउनमा भगवान् शिवको पूजाआजा गरे चिताएको पूरा हुने विश्वास रहेको उल्लेख गर्दै यसको महिमा अपरम्पार रहेको बताए । यस वर्ष १५ औं संस्करणको बोलबम जलयात्रा साउन ७, १४,२१ र २८ गते  हुनेछ । यसैबीच, केदारेश्वर मन्दिर व्यवस्थापन समिति पूर्व अध्यक्ष सूर्यनाथ अधिकारीको निधनमा मोटरसाइकल र्‍यालीका सहभागीले कार्यक्रम शुरु हुनुअघि मौनधारण गरेका थिए । बैदाम निवासी अधिकारीको ७३ वर्ष उमेरमा गत साता निधन भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width