सरकार गठनको वर्षदिनमा ज्येष्ठ नागरिक सम्मान

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७५
ward-04

पोखरा, १४ जेठ । सरकार गठन भएको वर्षदिन पुगेको अवसरमा पोखरा लेखनाथ महानगरपालिका ४ वडा समितिले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

वडा समितिको पहिलो निर्णय अनुसार वाषिर्कीको अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । सोमबार ६४ जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् । केही ज्येष्ठ नागरिक छुटेकाले घरमै पुगेर सम्मान गरिएको वडा कार्यालयले जनाएको छ । उनीहरुलाई दोसल्ला, सम्मानपत्र र हर्लिक्स सहित सम्मान गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरका सहायक प्रशासकीय अधिकृत यामलाल अधिकारीले ज्येष्ठ नागरिकको सम्मान र संरक्षण अहिलेको आवश्यक्ता रहेको भन्दै वडा ४ ले सुरुवात गरि प्रशसंनीय काम गरेको बताए ।

वडा ३ का वडाध्यक्ष रवीन्द्रबहादुर प्रजु, समाजसेवी रामकृष्ण पराजुली, लागू औषध नियन्त्रण वडा समन्वय समिति संयोजक भगवती कोइराला (लला) लगायतले वडा ४ ले वर्षदिनभित्र धेरै राम्रा काम गरेको र जनप्रतिनिधिको भूमिका असल रुपले पूरा गरेको बताए । वडाध्यक्ष शंकरप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यालयकी कर्मचारी सीता कोइरालाले गरेकी थिइन् भने स्वागत कार्यक्रम संयोजक तथा वडा सदस्य पुष्करबहादुर श्रेष्ठले गरेका थिए ।

कार्यक्रमपछि वृद्धवृद्धालाई पोखराको केदारेश्वर मन्दिर दर्शन गराई नगर परिक्रमा गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width