Worldlink ads

स्वतन्त्रका पौडेलद्वारा क्रियाशील पत्रकारिता पुरस्कार घोषणा

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७५

लमजुङ, १९ वैशाख। लमजुङमा क्रियाशील पत्रकारिता पुरस्कार स्थापना गरिएको छ।

स्वतन्त्र पत्रकार संघ नेपाल, लमजुङ शाखाका नवनिर्वाचित जिल्ला अध्यक्ष चन्द्रकान्त पौडेलले संघमा आवद्ध मुलुकभरका क्रियाशील पत्रकारमध्येबाट हरेक वर्ष एक जनालाई पुरस्कृत गर्ने गरी सो पुरस्कार स्थापना गरेका हुन्।

संघको जिल्ला अधिवेशन उद्घाटन समारोहबीच सो पुरस्कार स्थापनाको घोषणा गरिएको हो।

यसै वर्षदेखि वितरण गरिने सो पुरस्कारको राशि ५ हजार ५ सय रुपैयाँ सहित सम्मानपत्र रहेको छ। पुरस्कारको निरन्तरताका लागि तत्काल २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको र कोषको रकम थप गरी ५० हजार पुर्‍याउने पौडेलले जानकारी दिए। साथै उनले संगठन विस्तारमा समेत आफू सक्रिय रहने प्रतिबद्धता जनाए।

अधिवेशन उद्घाटन गर्दै संघका महासचिव नवराज पहाडीले स्वतन्त्र पत्रकारिता नै आजको अपरिहार्यता रहेको बताए। उनले यसको आवश्यकता र महत्व दिनप्रतिदिन बढिरहेको बताए। ‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु नाराबाट संघको उद्देश्य पुष्टि भएको बताउँदै विभिन्न जिल्लामा शाखा विस्तारमा आफूहरू जुटिरहेको बताए।

उनले स्वतन्त्र व्यक्तिले मात्र निर्भिक रूपमा कसैको पक्षमा नलागी समाचार लेख्न सक्ने बताए।

कार्यक्रममा पत्रकारद्वय चन्द्रकान्त पौडेल र सुधा ढकाल पहाडीले आफ्ना धारणा राखेका थिए।

शाखाका जिल्ला अध्यक्ष कृष्ण आलेको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका उपाध्यक्ष वेलबहादुर थापाले स्वागत र सदस्य कुमार पौडेलले सञ्चालन गरेका थिए। जिल्ला अध्यक्ष आलेले प्रतिवेदन प्रस्तुत गरेका थिए।

यसैबीच, अधिवेशनले संघ अध्यक्षमा चन्द्रकान्त पौडेललाई चयन गरेको छ। संघ उपाध्यक्ष वेलबहादुर थापा, सचिव कुमार पौडेल र कोषाध्यक्ष सुधा ढकाल पहाडी छन्।  सदस्य अञ्जना पौडेल, इन्द्र सुयल र वीना दुलाल तथा निवर्तमान अध्यक्ष कृष्ण आले केन्द्रीय पार्षद चयन भए।

समिति सल्लाहकारमा रुद्रनिधि तिवारी, विष्णुकुमार श्रेष्ठ र तीर्थ पराजुली छन्।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads