पहुँचवालाको कब्जामा फिर्के

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७४
sagarmatha school at firke khola (1)

पोखरा, २२ चैत। सगरमाथा स्कूलका प्रिन्सिपल धनबहादुर थापाले फिर्केमाथि डोजर चलाउने अनुमतिका लागि फागुन २९ गते महानगरपालिकामा एउटा निवेदन दिए। जतिबेला महानगर फिर्के क्लीयर गर्ने काममा व्यस्त थियो। तुरुन्तै मेयर मानबहादुर जिसीले प्रमुख प्रशासकीय अधिकृतलाई तोकादेश दिए। प्रशासकीय अधिकृतबाट योजना महाशाखा प्रमुख शारदामोहन काफ्लेहुँदै इ. चिरञ्जीवी भट्टराई र उनले पनि जुनियर इ. प्रकाश वाग्लेलाई स्थलगत अध्ययन गरी आवश्यक राय सुझाउन आदेश गरे। वाग्लेले अध्ययन गरेर निवेदनमा उल्लेख भएअनुसारको जमिन भवन निर्माणका लागि सम्याउनुपर्ने भन्दै डोजर चलाउन आवश्यक भएको सुझाव पेश गरे। उनकै सुझावका आधारमा डोजर चलाउने अनुमति पाए, स्कूलका प्रमुख थापाले। डोजर चलाउनुअघि नै उनले फिर्केमाथि ग्याभिन भरिसकेका थिए। फिल्डमा खटिएका इञ्जिनियरका अनुसार ग्याभिन नपुर्न सुझाव दिइएको थियो।

‘प्राविधिकको सिफारिसमा ग्याभिन नपुरी जग्गा सम्याउनुस् भनेर डोजर चलाउने अनुमति दिएका हौं। ग्याभिन पुरेको बल्ल जानकारी भयो,’ महानगरका प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलले भने, ‘यो सरासर कमजोरी हो। अनुगमन गरेर तत्कालै कानूनको दायरामा ल्याउँछौं।’ कित्ता नम्बर ९, १०, ११६ र ११८ को २ हजार ९ सय ५५ वर्गमिटर क्षेत्रफलमा स्कूलले भवन निर्माणको तयारी गरेको छ। श्रोतका अनुसार त्यो जग्गा पहिले नै प्लटिङ गरिएको ठाउँ हो। प्लटिङकै बेला फिर्केको बहाव परिवर्तन गराएर ड्याम लगाइएको थियो। अहिले सोही ड्याममाथिबाट जाली भरेर पुरिएको छ। स्थानीयका अनुसार अहिले जालि लगाइएको ठाउँ फिर्केको बहाव क्षेत्र हो।

महानगरले फिर्के खोलामा किनारबाट कम्तिमा १० मिटर छोडेर मात्रै संरचना निर्माण गर्न पाउने प्रावधान बनाएको छ। ‘१० मिटर नछोडी पर्खाल पनि लाउन पाइँदैन। मापदण्डभित्र परेका कुनै पनि संरचना बाँकी हुँदैनन्,’ महानगरका इ. महेन्द्र गोदारले भने, ‘भोलि नै प्राविधिक पठाएर छानविन थाल्छौं। दोषी भेटिए कारबाही हुन्छ।’ गोदारकै नेतृत्वमा अहिले फिर्केको मापदण्ड कार्यान्वयनबारे अध्ययन भैरहेको छ।

विशेषगरी फिर्के खोला आसपासमा बनेका मापदण्डविपरीतका संरचनालाई रेजा लगाउने र त्यसलाई हटाउन महानगरको जोड छ। केही साताअघि मेयर मानबहादुर जिसीले फिर्केको तिरमा पुगेर नापजाँचको काम थालेका थिए। त्यसपछि प्राविधिकलाई जिम्मा लगाएर राईट अफ वे निक्यौर्ल गर्ने काम टुंगाइसकिएको छ। प्राविधिकले फिर्केको ‘राईट अफ वे’ नापिरहेका बेला पोखराको एक प्रतिष्ठित विद्यालयले फिर्के मिचेर भवन बनाउन डोजर चलाउनु सरकारमाथि अटेरी गरेको महानगरकै अधिकारीले बताएका छन्। पोखरा ४ बागलुङ बसपार्कको आडमा सगरमाथा स्कूलले भवन निर्माणका लागि १ रोपनीभित्र भवन निर्माणका लागि महानगरबाट अस्थायी इजाजत समेत गैसकेको छ। भवनको अस्थायी स्वीकृतिका लागि वडासँग समन्वय भए पनि डोजर चलाउने बारे जानकारी नभएको पोखरा ४ का अध्यक्ष शंकरप्रसाद बास्तोलाले जानकारी दिए।

‘वडा कार्यालयमा १ महिनाअघि नै भवन निर्माण र जग्गा सम्याउने स्िवकृतिका लागि निवेदन परेको थियो। अध्ययन गर्दा अवैधानिक ठहरियो त्यसैले सिफारिस रोक्यौं,’ अध्यक्ष बास्तोलाले भने, ‘पछि वडासँग समन्वय नै नगरी अनाधिकृत रुपमा काम भएछ। मलाई थाहा दिइएन।’ आफू विदेशमा गएका बेला मौका छोपेर काम गरिएको उनले बताए। बास्तोलाले तत्कालै कारबाहीका लागि महानगरलाई जानकारी पठाउने बताएका छन्। सगरमाथा स्कूलका प्राचार्य धनबहादुर थापाले चाहीँ मापदण्ड छोडेर मात्रै वाल उठाएको प्रतिक्रिया दिए। ‘१० मिटर भनेको ठाउँमा ११ मिटर मापदण्ड खोला किनारबाट छोडिएको छ। खोलामा माटो जाने भएकाले प्रोटेक्सनका लागि मात्रै जाली लगाइएको हो,’ उनले भने, ‘फिर्केलाई चाहिने मापदण्ड छोडेका छौं। प्रक्रिया अनुसार नै काम गरेको हो।’ मेयर मानबहादुर जिसीले पनि गलत काम गर्ने कसैलाई पनि छुट नहुने बताए। ‘मापदण्ड सबैले मान्नुपर्छ। महानगरको ध्यान मापदण्ड कार्यान्वयनमा बढी छ,’ उनले भने, ‘गलत गर्ने कारबाहीको दायरामा आउँछन्। कसैलाई छुट हुँदैन।’ अध्ययनका लागि तत्कालै प्राविधिक खटाउने र प्राप्त रिपोर्टका आधारमा आवश्यक कारबाही हुने उनको भनाइ छ।

फिर्केको मापदण्ड मिच्ने झण्डै २ सय घरटहरा छन्। सर्वसाधारणदेखि पहुँचवालाले समेत मापदण्डविपरीत संरचना बनाएर प्रयोग गरिरहेका छन्। प्राविधिक रिपोर्ट अनुसार १ सय ९२ घरटहरा मापदण्डविपरीत छन्। तीमध्ये ३ वटा स्कूलमात्रै छन्। पोखरा इञ्जिनियरिङ कलेज, लिटिल स्टेप बोर्र्डिङ स्कूल र अमरज्योति स्कूलले मापदण्ड मिचेका रिपोर्टमा लेखिएको छ। सरकारी कार्यालय र सामाजिक संघसंस्था पनि निकै धेरै छन्, फिर्के मिच्ने। १३ वटा सामाजिक संघ संस्था र ७ वटा सरकारी कार्यालयले फिर्केको मापदण्डभित्रै संरचना बनाएका छन्। पोखरा २ स्थित नेपाल पुनमगर समाज, अर्चलबोट आमा समूह, वडा नम्बर ५ को सहनशील आमा समूह भवन, गिरी कुल मन्दिर, पोखरा क्यान्सर केयर सेन्टर, पोखरा ६ स्थित वडा प्रहरी कार्यालय, प्रहरी अस्पताल, प्रहरी ब्यारेक, जिल्ला अदालत, वडा ७ को सशस्त्र प्रहरी कार्यालय, प्रदेश ४ प्रहरी कार्यालय, बराल कुल मन्दिर, लायन्स क्लब, पोखरा ८ को बराल समाज, नेपाल मगर संघ, सोंपाल तमू समाज घर, फिर्के तमू समाज घर, बहिरा संघ, राधाकृष्ण बहुउद्देश्यीय भवन र पश्चिमाञ्चल प्रहरी गणले मापदण्डविपरीत घरटहरा बनाएका हुन्।

३० वटा घर सुकुम्बासीका छन् भने अरु पहुँचका भरमा घर बनाएर बसेकाहरु छन्। अबैध रुपमा निर्माण गरिएका संरचनालाई छिट्टै सूचना निकालेर हटाउन आग्रह गर्ने र नभए महानगरले आँफै हटाउने मेयर जिसीले जानकारी दिए। ‘महानगर मापदण्ड कार्यान्वयन गराउन निर्मम भएर लाग्छ। प्राविधिकको अध्ययन हेरेर जतिसक्दो छिटो सूचना निकाल्ने पक्षमा छौं,’ उनले भने, ‘सूचना अवधिमा पनि संरचना हटाउन अटेर गरे महानगरले बाध्य भएर हटाउनुपर्छ। यसरी हटाउँदा लागेको खर्च घरधनी स्वयंले ब्यहोर्र्नुपर्छ।’ उनले फिर्के सहित सेती नहरलाई पनि क्लीयर गर्ने तयारीमा लागेको जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width