विपक्षी विरोधले नगरसभामा अवरोध

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७४
mahanagar

पोखरा, ६ चैत । पोखरा लेखनाथ महानगरपालिकाको दोश्रो नगरसभा मंगलबार काँग्रेस प्रतिनिधिको अवरोधले केही समय रोकियो । महानगरपालिकामा कर्मचारी भर्ना लगायत निर्णयमा काँग्रेससँग छलफल र समन्वय नभएको भन्दै भर्ना प्रक्रिया नै रोक्ने माग सहित नगरसभा अवरोध गरे ।

बिहान ११ बजेका लागि डाकिएको बैठकमा राष्ट्रिय गान बज्नेबित्तिकै पोखरा ९ का वडाध्यक्ष तथा महानगरमा काँग्रेसका सचेतक रामराज लामिछानेले विशेष समय मागेर सभा नचलाउन आग्रह गरे । ‘महानगरले काँग्रेसका प्रतिनिधिलाई पाखा लगाएर निर्णय प्रक्रियामा सहभागी गराउँदैन । कर्मचारी भर्ना गर्दा हामीलाई एकपटक पनि सोधिएन,’ उनले भने, ‘अनमी र प्राविधिक राख्दा बहुमतको रवाफमा एकलौटी निर्णय भयो । हामीलाई यो स्वीकार्य छैन ।’

आफ्ना कुरा सकेपछि उनले नगरसभा स्थगित गर्न आग्रह गरेका हुन् । त्यसपछि वडा ४ का अध्यक्ष शंकरप्रसाद बास्तोलाले समय मागेर नगरपालिकामा गठन भएको पदपूर्र्ति समितिलाई जानकारी नै नदिइकन आफूखुशी कर्मचारी भर्ना प्रक्रियामा लगिएको आरोप लगाए ।

यसअघि नियुक्ती पाइसकेका स्वास्थ्यतर्फका अनमी र एचए तथा पछिल्लो समय परीक्षा लिएर नतिजा सार्वजनिक भैसकेका प्राविधिकतर्फ उनको आरोप लक्षित थियो । ‘स्वास्थ्यमा अनमी र एचए गरेर १९ जना राख्ने सर्वसहमति भएको हो । पछि एकजना स्टाफ नर्स परीक्षाबिनै राखियो,’ उनले भने, ‘प्राविधिकलाई पनि गलत प्रक्रियाबाट परीक्षा सञ्चालन गरेर नतिजा निकालिएको छ । काँग्रेसका प्रतिनिधिसँग समन्वय भएन ।’

वडा ६ का अध्यक्ष जगत पहारी, वडा ३ रवीन्द्रबहादुर प्रजु, १२ का मोहनप्रसाद बास्तोला लगायतले लगातार स्थगनको माग गरेपछि मेयर मानबहादुर जिसीले १५ मिनेट सभा स्थगित गरेर समस्या सुल्झाउन आग्रह गरे । समय सकियो, पुनः बैठक कक्षमा जनप्रतिनिधि छिरे । सभा चल्न नपाउँदै काँग्रेसका वडाध्यक्ष र सदस्यले नाराबाजी सहित विरोध गरिरहे । मेयर जिसीले पटक पटक विरोध रोकेर सभा सञ्चालनमा सघाउन आग्रह गरे पनि उनीहरुले समस्या सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने अडान लिए । एमालेतर्फका केही वडाध्यक्ष र सदस्यले सभा चलाउन माग गर्दै मेयरलाई दबाब दिए । तर निरन्तर नाराबाजीपछि पुनः आधा घण्टा सभा स्थगित भयो । परीक्षा प्रक्रिया छानबिन गर्ने सहमति पछि झण्डै २ घण्टापछि नगरसभाले निरन्तरता पायो । प्राविधिक तर्फको परीक्षाका विषयमा छानबिन गर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा काँग्रेस र एमालेले १/१ जना विज्ञ खटाउने छ । माग सुनुवाइ नभए पुनः आन्दोलन गर्ने काँग्रेसको चेतावनी छ ।

उता मेयर जिसीले भने कुनै त्रुटी नभएको भन्दै त्रुटी देखिए नतिजा खारेज गरेर पुनः नयाँ प्रक्रियाबाट परीक्षा लिने प्रतिबद्धता जनाए । ‘प्रक्रिया अनुसार नै परीक्षा लिइएको हो । यसमा गलत नियत हाम्रो छँदै छैन,’ उनले भने, ‘छानबिन समिति गठन भएको छ । त्रुटी भेटिए पुनः परीक्षा हुन्छ ।’

सहमतिपछि सञ्चालन भएको नगरसभामा मंगलबार ६ वटा विधेयकमािथ दफावार छलफल भएको छ । महानगरीय कृषि ऐन, कृषि बजार प्रवर्द्धन ऐन, कृषि नीति, पशु नीति, उपप्रमुखसँग महिला कार्यक्रम निर्देशिका र महानगरीय सहकारी ऐनका विषयमा छलफल भएको र बाँकी विधेयकबारे बुधबारको बैठकमा छलफल हुने नगरसभाका सचिव दीर्घनारायण पौडेलले जानकारी दिए ।

महानगरपालिकाले तत्काल १८ वटा नीति तथा कार्यविधि, ऐनलाई विधेयकको रुपमा सभामा प्रस्तुत गर्ने तयारी गरेको छ । सार्वजनिक निजी साझेदारी नीति तथा ऐन, शिक्षा कार्यविधि, एफएम रेडियो संचालन कार्यविधि, योजना आयोग गठन कार्यविधि, विधायन समितिको कार्यविधि, फोहोरमैला व्यवस्थापन निर्देशिका, भवन मापदण्ड निर्देशिका, विज्ञापन नीति तथा निर्देशिका, न्यायिक समिति विधेयक र बजार अनुगमन निर्देशिकाबारे पनि छलफल हुने र नगरसभाबाट पारित हुने पौडेलले बताए ।

गत फागुन २८ गते बसेको नगरसभाको दोश्रो बैठक विधेयकको अध्ययन गर्ने समय छुट्याएर साता दिनपछि बसेको हो । बैठक कानूनकेन्द्रित छ । सम्बन्धित ऐन नियमका विषयविज्ञसँग छलफल गरेर सभामा प्रस्तुत गरिएको विधायन समितिका संयोजक तथा वडा १९ का अध्यक्ष शोभामोहन पौडेलले बताए । समितिमा एमालेबाट वडा ५ का अध्यक्ष धनबहादुर नेपाली र २१ का खगराज आचार्य तथा काँग्रेसबाट वडा ४ का अध्यक्ष शंकर बास्तोला र ११ का मोहन बास्तोला सदस्य छन् । पहिलो चरणमा महानगरले स्थानीय तहसँग मात्रै पूर्ण अधिकार रहेका कानूनको मस्यौदा बनाएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width