मुद्रण उद्योग संघद्वारा कामदारको निशुल्क बिमा

आदर्श समाज सम्वाददाता
जेठ १०, २०८१
printer association program

पोखरा । मुद्रण उद्योग संघ कास्कीले मुद्रण व्यवसायमा आवद्ध कामदारको निशुल्क बिमा गराएको छ ।

पोखरामा आयोजित एक कार्यक्रमबीच लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स गण्डकी र लुम्बिनी प्रदेशका प्रमुख शिव पौड्याल र मुद्रण उद्योग संघ कास्की अध्यक्ष चिन्तामणि बास्तोलाले मजदुरको बिमा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

मुद्रण उद्योग संघ कास्की अध्यक्ष बास्तोलाले पोखरामा १ सयभन्दा बढी छापाखाना व्यवसायी भएको र करिब ८ सय जना मजदुर रहेको जानकारी गराउँदै जोखिम न्यूनीकरणको लागि बिमा गरिएको जानकारी गराए । उनले हाल १ सय १५ जनाको बिमा गराइएको र छिट्टै नै सम्पूर्ण मजदुरको निशुल्क बिमा गराइने बताए । अध्यक्ष बास्तोलाका अनुसार बिमाको लागतमा ५० प्रतिशत व्यावसायिक प्रतिष्ठानले र ५० प्रतिशत रकम मुद्रण उद्योग संघ कास्कीले व्यहोर्ने गरी जीवन बिमा गरिएको बताए ।
लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सका पौड्यालले बिमा सम्झौतामा दुर्घटना उपचार खर्च वार्षिक २० हजार, मृत्यु भएमा १ लाख र दुर्घटना भइ मृत्यु भएमा थप ५० हजार र अपांग (पूर्ण अशक्त) भएमा ५० हजारको लाभ लिन सकिने जानकारी गराए । बिमा गर्नु खर्च नभई लगानी भएको उनले बताए ।

कार्यक्रममा मुद्रण उद्योग संघ कास्की र नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशले संयुक्त रुपमा निकालेको नयाँ वर्षको टेबल क्यालेन्डर सार्वजनिक गरियो । नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद तिवारीले क्यालेन्डर सार्वजनिक गरेका हुन् । उनले मुद्रण उद्योग व्यवसायमा राज्यले कुनै मूल्य र दररेट नतोक्दा पनि व्यवसायीहरु आफैँमा प्रतिस्पर्धा हुँदा व्यवसाय नै धराशयमा पुगेको बताए । ‘हामी हाम्रो उत्पादनको मूल्य आफैं तोक्छौं, राज्य नै कुनै अंकुश लगाएको छैन । तर पनि व्यवसाय सफल बन्न सकेको छैन र दुखी बन्छौं । कारण हामी उचित मूल्य लिन सकेका छैनौं,’ उनले भने, ‘हामी र हाम्रो व्यवसायलाई सफल बनाउन मूल्यमा प्रतिस्पर्धा होइन, स्तरीय काममा ध्यान दिनुपर्छ ।’ राज्यका विभिन्न निकायले मुद्रण व्यवसायीको घाँटी थिच्ने काम गरेको आरोप लगाए ।

कार्यक्रममा मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश अध्यक्ष वसन्त बास्तोलाले स्वागत मन्तव्य, नेपाल मुद्रण उद्योग महासंघ केन्द्रका निवर्तमान उपाध्यक्ष पदमलाल श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरे । कोषाध्यक्ष कोपिला श्रेष्ठले दुर्घटना र जीवन बिमाकोे अनुभवबारे जानकारी गराइन् । दुर्घटना बिमा संयोजक तथा मुद्रण उद्योग संघ कास्कीका वरिष्ठ उपाध्यक्ष दिनेशचन्द्र बास्तोलाले बिमा सम्झौताबारे बताएका थिए ।

मुद्रण उद्योग संघ कास्की अध्यक्ष बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव पदम श्रेष्ठले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width