पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत लिँदै छन् । त्यसका लागि ३ बजे बैठक डाकिएको छ । दलहरूसँगको छलफलपछि नै उनले संसद फेस गर्न लागेको बुझिएको छ । तर औपचारिकरुपमा उनलाई मत दिने निर्णय कसैले गरेका छैनन् । २ सिट रहेको राप्रपा अहिलेसम्म औपचारिक निर्णयमा पुगेको छैन । केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलाई निर्णय गर्ने अधिकार दिइएको छ । दलका नेता पञ्चराम गुरुङले निर्णय नभएकाले अन्योलमा रहेको बताए । ‘विश्वासको मत दिने वा नदिने टुंगो छैन । हामी निर्णय कुरिरहेका छौं,’ उनले भने, ‘अधिकार अध्यक्ष ज्यूलाई छ । उहाँको आदेश आएपछि सोहीअनुसार गर्छौं ।’ त्यसो त संघमा बनेको गठबन्धनलाई राप्रपाले समर्थन नगर्ने र सरकारमा पनि नजाने निर्णय गरिसकेको छ । तर उक्त गठबन्धन बाहिरको सरकारलाई साथ दिने विषयमा पनि राप्रपा अनिर्णीत छ । प्रवक्ता मोहनकुमार श्रेष्ठले ३१ मत पुग्ने अवस्थामा राप्रपाले साथ दिने बताउँछन् । राप्रपाले समर्थन नगरे विश्वासको मतको ‘च्याप्टर क्लोज’ हुन्छ ।
मुख्यमन्त्री पाण्डेको प्रयासलाई विफल पार्न विपक्षी दल एमाले र माओवादीले कसरत गरिरहेका छन्
राप्रपाले समर्थन गरे २९ सिट पुग्छ । त्यसो त स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे र माओवादीबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटालाई पनि फकाउने काम भइरहेको छ । उनीहरूले पनि मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने वा नदिने टुंगो छैन । मनाङेले पनि ३१ सिट पुग्ने अवस्था आए आफूले समर्थन गर्ने बताए । ‘३० सिट पुगेपछि ३१ पु¥याउन मैले सहयोग गर्छु,’ उनले भने । देवकोटाले फ्लोर क्रस गर्ने सम्भावना देखाइएको छ । तर उनी अहिले गठबन्धनसँग संवादमै रहेका कारण क्रस गर्ने सम्भावना नरहेको दाबी गरिएको छ । माओवादीको ह्विप लाग्ने भएकाले १६८ को (३) मा फ्लोर क्रस गर्न सजिलो छैन । २७ सिटसहित पहिलो पार्टी नेपाली कांग्रेसका दलका नेता पाण्डेलाई सर्वोच्च अदालतको परमादेशअनुसार धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । माओवादी प्रमुख सचेतक कुसुम बुढा भने प्रदेश सभा सदस्य देवकोटाले फ्लोर क्रस गर्ने सम्भावना नै नरहेको बताउँछिन् । ‘उहाँ माओवादीको सांसद हो । पार्टीको ह्विप उहाँले मान्नुहुन्छ,’ उनले भनिन्, ‘फ्लोर क्रस गर्ने सम्भावना छैन ।’
प्रतिपक्षीले संसद् बहिष्कार गर्दै छन् ?
पाण्डेले विश्वासको मतको प्रस्ताव टेबुल गर्नुअघि नै विपक्षी दलहरूले संसद बैठक बहिष्कार गर्ने चर्चा बाहिरिएको छ । तथापि एमाले सचेतक देवका पहारी बहिष्कार गर्ने योजनामा नरहेको भन्दै चर्चालाई खण्डन गर्छिन् । ‘विश्वासको मत लिने सूचना पाएका छौं । उपस्थित हुन्छौं । विश्वासको मत पाउने सम्भावना चाहिँ छैन,’ उनले भनिन्, ‘त्यसपछि फेरि संवैधानिक प्रक्रियाअनुसार सरकार बन्छ । हामी त्यसको तयारीमा छौं ।’
पाण्डेले विश्वासको मत पाउने पक्का भए विपक्षी गठबन्धनले संसद् बहिष्कार गर्नेसम्मको आन्तरिक तयारी भइरहेको स्रोतको दाबी छ । सभामुख र उपसभामुखले राजीनामा दिएर एमाले र माओवादी दुवै पार्टी संसदमा उपस्थित नहुने अन्तिम विकल्पका रूपमा छलफल चलिरहेको स्रोत बताउँछ । यसका लागि विपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले केन्द्रीय नेताहरूसँग गुहारेका छन् । सभामुख कृष्ण धिताल राजीनामा दिने निष्कर्षमा पुगेका छैनन् । ‘दबाब ठूलो छ तर राजीनामा दिने कुरामा कन्भिन्स हुनुभएको छैन,’ उनी निकट स्रोतले भन्यो ।
माओवादीकी प्रमुख सचेतक बुढा पनि राजीनामाबारे दलमा छलफल नभएको बताउँछिन् । ‘हामी उपस्थित नहुने कुरा छैन । सभामुखको राजीनामा दिने कुरा भएको छैन । दलमा छलफल भएको छैन,’ उनले भनिन्, ‘राजीनामाले मात्रै निकास निस्किँदा पनि निस्किँदैन । यो सही प्रक्रिया पनि होइन ।’ सबै सांसदलाई विपक्षमा मतदान गर्न ह्विप जारी भएको उनले जानकारी गराइन् । माओवादी दलको बैठक आइतबार बसेको थियो । पाण्डेले विश्वासको मत नपाए गण्डकीमा उपधारा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम सरकार बन्छ । सत्तापक्ष र प्रतिपक्ष दुवै उपधारा (५) मा जाने दाउमा छन् । पाण्डेले उपधारा (३) को सरकार ढले पनि (५) मा आफैँले बहुमत देखाएर मुख्यमन्त्री दाबी गर्ने योजना बनाएका छन् । दलका सांसदहरूलाई यो उपधारा अनुसार दलको ह्वीप लाग्दैन । त्यसैले आफ्नो पक्षमा बहुमत पुग्ने सत्तापक्षको दाबी छ । विपक्षीहरू पनि उपधारा (५) मै आफूले मुख्यमन्त्री दाबी गर्ने र प्रदेश प्रमुख अनुकूल भएका कारण मुख्यमन्त्री नियुक्त हुने योजनामा छन् । दुवै पक्ष उपधारा (५) अनुसार विश्वासको मत नपाए पनि कम्तीमा चुनावी सरकारको नेतृत्व गर्ने दाउमा छन् ।
सबैसँग मागे मत
मुख्यमन्त्री पाण्डेले विपक्षी एमाले र माओवादी सहित सबै दल र स्वतन्त्र सांसदसँग विश्वासको मत मागेका छन् । विपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, माओवादी नेता हरिबहादुर चुमान, राप्रपा नेता पन्चराम गुरुङ, नेसपाका फडिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङलाई पत्र पठाएर विश्वासको मत मागेका हुन् । ‘स्थायित्व र जनआकांक्षा अनुरूप प्रदेशको समग्र विकास र उन्नति हामी राजनीतिक दल बीचको सहकार्य र समन्वयबाट मात्रै सम्भव छ,’ उनले भनेका छन्, ‘राजनीतिक दलहरू बिचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडि बढाउन मैले प्रस्ताव गरेको विश्वासको मतको प्रस्तावको पक्षमा यहाँ र यहाँको दलको सदस्यहरूले मतदान गरी सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ।’ एमालेसँग गण्डकी प्रदेशसभामा २२ सिट र माओवादीसँग सभामुख बाहेक ७ सिट छ ।
नीति कार्यक्रमको पत्र संसदमा
मुख्यमन्त्री पाण्डेले विश्वासको मतको टुंगो नलाग्दै नीति तथा कार्यक्रम पेस गर्ने सूचना संसद सचिवालयमा पठाएका छन् । मंगलबार संसदमा नीति तथा कार्यक्रम पेस गर्न मुख्यमन्त्रीले पत्र पठाएका संसद सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रम पनि ३ बजे ल्याउने सूचना संसदले सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रम तयार अवस्थामा रहेको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
कृष्णले गरे ८० औं पटक रक्तदान
आहा रारामा ११ टिम टुंगो
करार फालेर करार नियुक्त गर्दै महानगर
भलिबल क्रेज बढाउँदै टाइगर कप
मिसिङः केटी हराएको सूचना रिलिज
hero news full width
मुख्य समाचार
पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न
धारापानी माविको ७४ औं वार्षिकोत्सव
माघ १२, २०८१सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
माघ १२, २०८१सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१