पूर्व बैंकर सञ्जीवको ‘छोटु’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
असार २, २०८१
Chitwan news

चितवन । कृषि विकास बैंकका सञ्चालक समिति सदस्य सञ्जीव पौडेलको संस्मरणात्मक कृति ‘छोटु’ सार्वजनिक भएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त एवं साहित्यकार दिनेशकुमार थपलिया र पौडेलका गुरु रमाकान्त सापकोटालगायतले शनिबार भरतपुरमा कृति सार्वजनिक गरेका हुन् ।

प्रमुख अतिथि दिनेशकुमार थपलियाले साहित्य लेखनले मुलुकको समृद्धि र सामाजिक जागरणमा भूमिका खेल्ने बताए । नेता, शिक्षक तथा कर्मचारीले नदेख्ने बेथिति एकजना लेखकले देख्नसक्ने भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले साहित्यले लेखकलाई जीवित राख्ने बताए । ३० वर्षे जागिरे जीवनबाट अवकाश पाएर पूर्व कर्मचारी बनेका सञ्जीव पौडेल यो कृतिबाट अभूतपूर्व बनेका थपलियाको भनाइ छ ।

‘लेखक कहिल्यै पूर्व हुँदैनन् । उनीहरू अभूतपूर्व हुन्छन् । लेखक सधैं बाँचेका हुन्छन्,’ थपलियाले भने । पुस्तक सार्वजनिकीकरणमा पुस्तकबारे समीक्षा गर्दै प्राडा कर्णबहादुर बानियाँले यो पुस्तक संस्मरण भए पनि आख्यानात्मक भएको बताए । ‘संस्मरण भए पनि यसमा आख्यान मिसिएको छ । जीवनी छ, वंशावली छ’ उनले भने, ‘यो पुस्तक आख्यान, जीवनी र वंशावलीको त्रिवेणी हो । कृषि विकास बैंक र कर्मचारीको योगदानको वृतान्त पनि किताबमा छ ।’

कृतिले आम नेपालीलाई साहस, धैर्य र आँट जगाउन भूमिका खेल्ने बानियाँको भनाइ छ । ३०४ पृष्ठ भएको पुस्तकको मूल्य ४ सय रुपैयाँ रहेको भन्दै बानियाँले विभिन्न शीर्षकमा लेखिएको विचारप्रदान पुस्तक भएको बताए । लेखक आफू भारत गएर छोटु बनेको, संघर्ष गर्दै पढेको विषयसहित छोटा वाक्यशैली एवं सुपाच्य भाषाशैलीमा लेखिएको पुस्तक रुचिकर भएको उनको भनाइ छ ।

अर्का समीक्षक वासुदेव अधिकारीले लेखक पौडेलले लमजुङमा बिताएको बाल्यकाल, युवाकालमा भारतमा बिताएको जागिरे जीवन र त्यसपछि बैंकमा गरेको सेवालाई किताबमा महत्वका साथ समेटेको बताए । पुस्तकमा विद्यार्थी आन्दोलन, द्वन्द्वको भोगाइलगायत विषयवस्तुहरुलाई सुन्दर ढंगले प्रस्तुत गरिएको अधिकारीको भनाइ छ ।

कार्यक्रममा लेखकका बाल्यकालका सहपाठी कृषि तथा वन विज्ञान विश्वविद्यालयकी प्राडा कल्याणी त्रिपाठी मिश्रले कृति दबाब र अभावमा सिर्जना गरिएको बताइन् । कृतिले सामाजिक, पारीवारिक तथा आर्थिक विषयवस्तुलाई समेटेको उनको भनाइ छ । कार्यक्रममा लेखक पौडेलको चिनारी राख्दै अनील पौडेलले सञ्जीव पौडेलको जीवनवृत्त सुनाएका थिए ।

भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीले शुभकामना मन्तव्य राखेका थिए भने स्रष्टा रविकिरण निर्जीवले स्वागत मन्तव्य राखे । लेखक पौडेलले आफूले इमानदारीपूर्वक संस्मरण लेखेको बताए । ‘मेरा जीवनका उकाली–ओरालीहरू छोटुमा समेटेको छु, जीवन भोगाइलाई तोडमोड नगरी दुरुस्त राखेको छु’ पौडेलले भने ।

कृषि विकास बैंकमा ३० वर्ष सेवा गरेका पौडेल हाल सोही बैंकका सञ्चालक सदस्य हुन् । सञ्जीवकी धर्मपत्नी मीना अधिकारी पौडेलले प्रकाशन गरेको पुस्तकको वितरक सम्पूर्ण किताब नारायणगढ रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग