फेवा नव वर्ष महोत्सवको तयारी

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०८०
fewa festival

पोखरा।होटल संघ पोखरा, नेपालको आयोजनामा लेकसाइडमा फेवा नव वर्ष महोत्सव २०८१ हुने भएको छ । चैत २९ देखि वैशाख १ गतेसम्म आयोजना हुने महोत्सवको तयारी तीब्र पारिएको संघले सोमबार पत्रकार सम्मेलनको गरी जानकारी दिएको हो ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा पश्चात आयोजना हुन लागेको महोत्सवलाई विविध सांस्कृतिक कार्यक्रम सहित वृहत रुपमा आयोजना गरिने आयोजकले जानकारी दिएको छ । ‘पर्यटन संस्कृति र खाना’भन्ने नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले आयोजना गर्न लागिएको महोत्सव संयोजक एवं होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । महोत्सवमा करिब ३ लाख पर्यटकले अवलोकन गर्ने अपेक्षा गरिएको उनले सुनाए ।

अङग्रेजी नयाँ वर्षलाई जस्तै नेपाली नयाँ वर्षलाई पनि भव्य बनाउन महोत्सवको तयारीका लागि २१ वटा विभिन्न समिति र एरिया संयोजक गठन गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए । महोत्सवको अवसरमा संघ मातहतका होटलहरुको प्रकाशित दररेटमा २० प्रतिशत सम्म छुटको घोषणा यसअघि नै गरिसकेको छ । महोत्सवमा विविध सांस्कृतिक झाँकी, नृत्य र खानाका स्टल राखिने भएको छ ।

परम्परागत नेपाली खानाको प्रवद्र्धन, सांस्कृतिक झाँकीका कार्यक्रम, लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य, हास्यव्यङ्ग्य प्रहशन र पर्यटक दौड प्रतियोगिता महोत्सवको मुख्य आर्कषणमा रहेको अध्यक्ष सुवेदीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width