भरतपुर प्रज्ञा प्रतिष्ठानको सम्मान

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०८०
Bharatpur samman

चितवन । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले आइतबार स्रष्टा सम्मान तथा पुरस्कृत गरेको छ । कार्यक्रममा प्रतिष्ठानका कुलपति रेनु दाहाल, महानगरका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, उपकुलपति इन्द्र रेग्मीले संयुक्तरुपमा स्रष्टाहरूलाई सम्मान तथा पुरस्कृत गरे ।

प्रज्ञा प्रतिष्ठानले वार्षिकरुपमा प्रदान गर्ने विभिन्न सम्मान, पुरस्कार तथा निबन्ध र कथा प्रतियोगितामा पुरस्कृत प्रतिभालाई सम्मान गरिएको हो । कार्यक्रममा भरतपुर प्रज्ञा सम्मानबाट भरतपुर ४ का प्रकाश थापा ‘प्रथा’, कृष्णबम मल्ल प्रज्ञा सम्मानबाट भरतपुर १२ का प्राडा कर्णबहादुर बानियाँ, चित्रवन प्रज्ञा पुरस्कार संस्कृतिको सोपानमा चितवन कृतिका लागि भरतपुर १० का डिआर पोखरेललाई प्रदान गरियो । उनीहरुले समान ५० हजार ७८ नगद, दोसल्ला र प्रमाणपत्र प्राप्त गरे ।

वागीश्वरी प्रज्ञा पुरस्कार भरतपुर १ का सिम्रन क्षेत्रीको झुमर उपन्यासलाई दिइएको छ । भरतपुर प्रज्ञा पुरस्कार (काव्य) जगन्नाथ पण्डितको घरबारीमा तोरी फुल्यो कविता संग्रहलाई दिइएको छ । भरतपुर प्रज्ञा पुरस्कार (आख्यान) अष्टदेव खनालको ‘अन्तश्चेतना’ उपन्यासलाई दिइएको छ । उनीहरुले समान २५ हजार ७८ नगद, दोसल्ला र प्रमाणपत्र प्राप्त गरे ।

राष्ट्रिय खुला कथा प्रतियोगिता २०८० मा पुरस्कृत स्रस्टालाई पनि सम्मान गरिएको छ । प्रतियोगितामा नुवाकोटका अनन्त लम्सालको अन्तिम पथ शीर्षकको कथा सर्वोकृष्ट बनेको थियो । लम्साललाई ४० हजार ७८ नगद र प्रमाणपत्रले पुरस्कृत गरियो । लमजुङकी अनिता पन्थीको मृत्युको अपील शीर्षकको कथाले उत्कृष्ट स्थान हासिल गरेको छ । पन्थीलाई ३० हजार ७८ नगद र प्रमाणपत्र प्रदान गरियो ।

काभ्रेका समीप खड्काको भाग्यको कुरो शीर्षकको कथाले उत्तम स्थान गरेको छ । खड्कालाई २० हजार ७८ नगद र प्रमाणपत्रले पुरस्कृत गरियो । त्यस्तै मोरङकी मन्दिरा मधुश्री (मन्दिरा कोइराला) को पहिचान र राधिका कल्पित (राधिका गौतम पौडेल) को अब लजाउँदैन लज्जावती शीर्षकको कथालाई प्रोत्साहन पुरस्कार प्रदान गरियो । प्रोत्साहन पुरस्कार १० हजार ७८ नगद र प्रमाणपत्र रहेको थियो ।

प्रतिष्ठानले ‘मेरो सपनाको भरतपुर’ शीर्षकमा चितवन जिल्लास्तरीय निबन्ध प्रतियोगिता २०८० आयोजना गरिएको थियो । प्रतियोगितामा हरिप्रसाद तिवारीको निबन्ध सर्वोकृष्ट, अनुष्का न्यौपानेको निबन्ध उत्कृष्ट र चिरञ्जीवी दाहालको निबन्ध उत्तम घोषित भएका थिए । सर्वाेत्कृष्ट, उत्कृष्ट र उत्तमका लागि क्रमश १० हजार ७८, ८ हजार ७८ र ६ हजार ७८ नगदका साथमा प्रमाणपत्र प्रदान गरियो ।

प्रोत्साहन पुरस्कारस्वरुप सन्तोष सुवेदी र स्वस्तिक शर्मालाई समान ४ हजार ७८ र प्रमाणपत्र दिइएको छ । प्रज्ञा परिषद्का उपकुलपति इन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले सहजीकरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width