अन्नपूर्णमा अख्तियारको अन्तरक्रिया

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०८०
ciaa annapurna

पोखरा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको आयोजनामा अन्नपूर्ण गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनका लागि अन्तक्र्रिया भएको छ ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले भ्रष्टाचारका लागि अन्नपूर्णमा शून्य सहनशीलता कायम गरिएको जनाउँदै जनताको करमा गिद्दे नजर नराख्न सबैसँग आग्रह गरे । उनले कुनै न कुनै रुपमा देशैभर भ्रष्टाचार भइरहेको जनाउँदै नियमपूर्वक जनताको पक्षमा कार्य गर्न कर्मचारीलाई निर्देशन दिए । उनले गुणस्तरीय कार्य गर्न उपभोक्ता समितिको ध्यानाकर्षण समेत गराए ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराका प्रमुख  अश्मान तामाङले सदाचार तथा निष्पक्षतामा जोड दिए । घूस लिने र दिने उत्तिकै दोषी भएको उनको भनाइ थियो । उनले भ्रष्टाचारीलाई बहिष्कार गर्नुपर्ने भन्दै सुशासन निर्माणतर्फ होमिन जनप्रतिनिधि तथा कर्मचारीलाई सुझाव दिए ।

गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले भ्रष्टाचारविरुद्ध जुट्न सबैसँग आग्रह गरिन् । त्यसको निम्ति व्यक्तिगत सोच तथा आनीबानीमै परिवर्तन जरुरी रहेको धारणा राखिन् ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले भ्रष्टाचार विरुद्ध जुट्नु सबैको अभिभारा भएको उल्लेख गरे । राज्यकोषको हिनामिना गर्ने छुट कसैलाई नभएको स्पष्ट पारे । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समितिका प्रतिनिधि, प्रधानाध्यापक तथा शिक्षक लगायतको सहभागिता रह्यो ।

त्यस अवसरमा अख्तियार कार्यालय पोखराका प्रमुख तामाङले भ्रष्टाचार नियन्त्रण सम्बन्धमा सहजीकरण गरे । उनले सदाचार, निष्पक्षता, निर्भीकता, जवाफदेहिता, पेशागत विशिष्टता, सिर्जनशीलता, कर्तव्यनिष्ठता, विनम्रता जस्ता विषय आयोगका संस्थागत मूल्य मान्यता भएको जनाए । कार्यक्रमको आयोग पोखरा कार्यालयका कम्प्युटर अपरेटर राजुप्रसाद रेग्मीले सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width