फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०८०
HAN News

पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन् । होटल संघ पोखराले यही चैत २९ देखि आगामी वैशाख १ सम्म फिस्टेल गेटदेखि हल्लनचोकसम्म उक्त महोत्सव गर्दैछ ।

महोत्सवमा नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै पछिल्लो पुस्ताको इच्छा र रुची समेतलाई ख्याल गरी कार्यक्रम पस्कने तयारी भइरहेको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताए । पर्यटक दौड र सम्भव भएसम्म डुंगा दौड समेत महोत्सवमा समेटिने उनले सुनाए ।

महोत्सवका अवसरमा पोखराका विभिन्न पर्यटकीय संघसंस्थातर्फबाट भारी छुट प्रदान गरिएको उनले बताए । महोत्सव भव्य बनाउन संघले गठन गरेका विभिन्न २१ उपसमितिले तयारी तीव्र पारेका छन् ।

महोत्सवमा सांस्कृतिक कार्यक्रम, पञ्चैबाजा, नाचगानका कार्यक्रम, दोहोरी र कन्सर्ट समेटिने छ । यसपालि ड्यामसाइड क्षेत्रमा समेत विविध गतिविधि सञ्चालन गरिने संघले जनाएको छ । स्टेज नै निर्माण गरी ड्यामसाइडमा मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने तयारी छ ।

कार्यक्रममा पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले महोत्सवको प्रचारका लागि डिजिटल मार्केटिङलाई जोड दिन र भारतीय सञ्चारकर्मीलाई समेत महोत्सवमा आमन्त्रण गर्न सुझाव दिए । पोखरालाई पर्यटनको राजधानीको रुपमा घोषणा गरिएपछि यसलाई एउटा ब्रान्ड रुपमा प्रचारित गर्नसमेत उनले सुझाए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, टान गण्डकी, नाट्टा गण्डकी, महिला पर्यटन व्यवसायी मञ्च, पोखरा पंक्षी समाज, नेपाल हवाई खेलकुद संस्था लगायतका तर्फबाट अध्यक्ष तथा प्रतिनिधिले महोत्सव सफल पार्न आफ्नो संस्थाका तर्फबाट साथ र सहयोग रहने प्रतिवद्धता जनाए । संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रम सञ्चालन संघ महासचिव राजेन्द्र ढकालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width