‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०८०
madal sarankot

पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण तथा नेतृत्व विकास तालिमअन्तर्गत मादल बजाउने सिपको पाँचौं दिन शनिबार भएको समापन कार्यक्रमबीच उनीहरूले त्यस्तो बताएका हुन् ।

पोखराको मुख्य सहरलाई डाँडाबाट मादलको ताल सुनाउने सजकता आमा समूहकी सदस्य सरिता भारतीले बताइन् ।

भारती जस्तै उक्त वडाका ३५ आमा समूहका प्रतिनिधिले यतिबेला ५ दिने मादल प्रशिक्षण लिएका छन् । उनीहरूले मादल बजाउने सिपलाई कला, संस्कृति जगेर्ना गर्ने उद्देश्यमा प्रयोग गर्ने पनि सुनाए ।
‘वडाका विभिन्न ठाउँमा घरबास कार्यक्रम सञ्चालन गरिएको छ । संस्कार संस्कृतिको पनि संरक्षण गर्नु नै छ त्यसका लागि मादल बजाउने सिप बहुउपयोगी हुन्छ,’ एकघरे आमा समूहकी कोषाध्यक्ष इन्दिरा पण्डितले बताइन् ।

वडाले ‘लैङिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ नाराका साथ आमा समूहका प्रतिनिधिलाई तालिम लिएको हो । जसको सहजीकरण विशाल गायकले गरे । त्यसका साथै वडाले वडाका प्रत्येक आमा समूहलाई ठूलो आकारका १÷१ वटा मादल पनि हस्तान्तरण गरेको छ ।

तालिमको समापन गर्दै वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले सिप सिकेकोमा मातृशक्तिलाई बधाई दिर्दै सीपको सदुपयोग हुने विश्वास लिए । उनले भने,‘अब हामी छिट्टै अचार बनाउने तालिम पनि सञ्चालन गर्दै छौं, त्यसमा पनि आमा दिदीबहिनीको सक्रिय सहभागिता हुनेछ । जसले उनीहरूलाई उत्पादनसँग जोड्ने छ ।’

वडा सदस्य कल्पना ढकाल क्षत्रीले आमा दिदीबहिनीको समुन्नतिको पक्षमा वडा रहेको सुनाउँदै उत्सुकताका साथ मादल सिप सिकेकोमा सहभागीलाई धन्यवाद दिइन् । उपमेयरसँग महिला दिदीबहिनी कार्यक्रममार्फत् पनि थप महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिने उनले स्पष्ट पारिन् ।

त्यस अवसरमा वडा सदस्यहरू रमेश थापा, नमराज सुवेदी तथा मीना नेपालीले आगामी वर्ष पनि महिला क्षमता विकासका कार्यक्रमलाई वडाले प्राथमिकता दिने प्रतिबद्धता जनाए । उनीहरुले सिकेको सीपलाई व्यवहारमा उतार्न सुझाव दिँदै वडाले युवा लक्षित कार्यक्रमलाई पनि ध्यान दिने स्पष्ट पारे ।

सहभागीको तर्फबाट पदमकुमारी थापा र विष्णु कार्कीले घरको दुखसुखसँगै महिलाले जीवनबारे धेरै कुरा सिकेको जनाउँदै तालिम प्रभावकारी रहे पनि तालिम अवधि छोटो भएको प्रतिक्रिया दिए ।

वडा सदस्य कल्पना ढकाल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रम वडा सदस्य मीना नेपालीले सञ्चालन गरिन् । वडास्तरीय महिला लक्षित कार्यक्रमअन्तर्गत तालिम गरिएको वडाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width