बाबुरामलाई संसद सचिवालयले भन्यो :  महिन्द्रराय र उमरावती माओवादीकै सांसद

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०८०
baburam

पोखरा । संघीय संसद सचिवालयले बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीलाई सो पार्टीका अर्का अध्यक्ष एवं सांसद महिन्द्र राय यादव र समानुपातिक तर्फबाट निर्वाचित सांसद उमरावती देवी नेकपा माओवादी केन्द्रको संसदीय दलको सदस्य रहेको पत्र पठाएको छ।

संसद सचिवालयका उपसचिव रामहरि थापाले फागुन २७ गते पठाएको पत्रमा उनीहरूलाई समाजवादी पार्टीको सांसदका रूपमा अभिलेख कायम गर्न नसकिने उल्लेख छ।

समाजवादी पार्टीले यादव र देवीलाई आफ्नो दलको सांसदका रूपमा अभिलेख कायम गरिदिन २०८० माघ २८ गते पत्र लेखेको थियो।

पत्रको एक महिनापछि जवाफ पठाउँदै संसद सचिवालयले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४९ को उपदफा ३ बमोजिम नेकपा माओवादी केन्द्रको संसदीय दलको सदस्य नै रहेको जनाएको हो। यसकाे असर गण्डकीमा पनि पर्ने छ । यहाँ पनि माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेर आएका एक जना प्रदेश सभा सदस्य छन् ।

राजनीतिक दल सम्बन्धी ऐनको उक्त दफामा एकल चुनाव चिन्ह लिई दुई भन्दा बढी दलले निर्वाचनमा भाग लिएमा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुने र अन्य सांसदहरू सोही संसदीय दलको सांसद हुने व्यवस्था छ।

बाबुराम भट्टराई नेतृत्वको पार्टीले नेकपा माओवादी केन्द्रको गोलाकार भित्रको हँसिया हथौडा चिन्हबाट निर्वाचनमा भाग लिएको थियो। यादवले माओवादीकै चुनाव चिन्हबाट प्रत्यक्ष निर्वाचन जितेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width