राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारी दर्ता भोलि, गठबन्धन रस्साकस्सीमै

आदर्श समाज सम्वाददाता
पौष २२, २०८०
national assembly

पोखरा । राष्ट्रिय सभा चुनावका लागि मनोनयनको दिन नजिकिए पनि सत्ता गठबन्धनले उम्मेदवार टुंग्याउन सकेको छैन । सत्ता गठबन्धनसँग कुरा नमिलेपछि एमालले १९ वटै सिटमा उम्मेदवार उठाउने निर्णय गरेको छ । निर्वाचन आयोगले मनोनयनका लागि पुस २३ गते सोमबारलाई मिति तोकिसकेको छ । त्यसै अनुसार निर्वाचन अधिकृतको कार्यालय खुलेर काम पनि थालिसकेको छ । शनिबार बसेको गठबन्धनको बैठकमा कांग्रेसले १३, नेकपा (माओवादी केन्द्र) ले ७, नेकपा (एकीकृत समाजवादी) ले ५ र जनता समाजवादी पार्टी (जसपा) ले ४ सिटमा दाबी गरेको बैठकका सहभागीले बताएका छन् ।

आगामी माघ ११ गते हुने निर्वाचनमा गण्डकी प्रदेशबाट ३ जना नयाँ सांसद निर्वाचित हुन्छन्् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित प्रकाश पन्थ र दीपा गुरुङको ६ वर्षे कार्यकाल अहिले सकिन लागेको हो ।

उनीहरूको ठाउँमा हुने निर्वाचन मार्फत पुनः ६ वर्षका लागि सांसद निर्वाचित हुनेछन्् । गण्डकीबाट रिक्त हुने पदमध्ये २ जना एमालेका हुन् भने १ कांग्रेसका । तिमिल्सिना र गुरुङ एमालेबाट निर्वाचित भएका हुन्, पन्थ कांग्रेसबाट ।

निर्वाचनको मिति नजिकिँदा उम्मेदवार छनोट र गठबन्धनमा पनि रस्साकस्सी छ । गण्डकीको चुनावी समीकरणबारे अझै पक्का भइसकेको छैन । गठबन्धनबाट कांग्रेसले २ सिट पाउने दाबी गरिरहेको छ भने बाँकी माओवादीले पाउने आकलनछ । एकीकृत समाजवादीले पनि एक सिट आफूहरूले पाउनुपर्ने दाबी छोडेको छैन । कांग्रेसले जिल्लाबाट प्रदेश हुँदै केन्द्रमा नाम सिफारिस गरिसकेको छ । माओवादी र एमाले लगायत अन्य दलहरू छलफलमा छन् ।

निर्वाचनमा प्रदेश सभाका सांसद र स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख÷/पप्रमुखले मतदान गर्न पाउँछन् । गण्डकीमा सांसदको संख्या ६० छ, प्रमुख र उपप्रमुख १ सय ७० जना छन् । अहिले जनप्रतिनिधिको मतभार पनि बढेको छ । सांसदको मतको भार ५३ र प्रमुख/उपप्रमुखको मतको भार १९ पुगेको छ । यसअघिको निर्वाचनमा सांसदको ४८ र पालिका प्रमुख उपप्रमुखको १८ थियो ।

एक्लाएक्लै चुनाव भए गण्डकीमा सबै सिट कांग्रेसको पोल्टामा पर्छ

नेपालको जनसंख्या पहिलेभन्दा बढेका कारण मतभार थप भएको हो ।

निर्वाचनमा गण्डकीका दुवै तहका जनप्रतिनिधिको ६ हजार ४ सय १० मतभार छ । यहाँ प्रदेश सभाका ३६ निर्वाचन क्षेत्र छन् भने पालिका ८५ छन्् । सांसदको पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने व्यवस्थाबमोजिम निर्वाचन हुन लागेको हो ।

गण्डकीमा कांग्रेस सबैभन्दा बलियो दल हो । एक्लाएक्लै चुनाव भए सबै सिट कांग्रेसको पोल्टामा पर्छ । कांग्रेससँग प्रदेश सभामा २७ सांसद र पालिकातर्फ ६७ जना छन् । प्रदेश सांसदको मतभार मात्रै १ हजार ४ सय ४ छ भने स्थानीय जनप्रतिनिधिको मतभार १ हजार २ सय ७३ हुन्छ । दुवै मतभार जोड्दा कांग्रेस एक्लैसँग २ हजार ६ सय ७७ मतभार छ । तर गठबन्धन सरकारमा समेत रहेकोले सोहीअनुसार उम्मेदवारी दिने कांग्रेसले जनाएको छ । गठबन्धनमा रहेका दलहरू माओवादीसँग ८ जना प्रदेश सांसद र पालिकाका जनप्रतिनिधि ३० जना छन् । उनीहरू दुवैको मतभार ९ सय ९४ हुन्छ ।

राष्ट्रिय जनमोर्चाको ३ जना प्रमुख उपप्रमुख छन् । उनीहरूको मतभार ५७ तथा १ सांसद र १ जना मेयर रहेको एकीकृत समाजवादीको ७१ मतभार हुन्छ । गठबन्धनको सबै मतभार जोड्दा ३ हजार ७ सय ९९ हुन्छ ।

दोस्रो ठूलो दल एमालेसँग चाहिँ २२ सांसद र ६९ प्रमुख उपप्रमुख छन् । सांसदको मतभार १ हजार १ सय ४४ र पालिकाको मतभार १ हजार ३ सय ११ छ । दुवै जोड्दा २ हजार ४ सय ५५ पुग्छ । यसको अर्थ गठबन्धन तलमाथि भए मात्रै चुनावी नतिजा फरक आउन सक्छ । अन्यथा हालकै गठबन्धनले तीन वटै सिट चुनाव जित्ने पक्का छ ।

कांग्रेसले गण्डकीबाट १ सय ७५ जनाको नाम पठाएको छ । वडामा चुनाव हारेकादेखि भर्खरै राजनीतिमा लागेकाहरुको नामसमेत सिफारिस भएको छ । माओवादीले तनहुँकी ओमकुमारी पौडेललाई महिलातर्फबाट अगाडि बढाउन सक्ने नेताहरूको भनाइ छ । एमालेले ९ जनाको नाम सिफारिस गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width