एसओएस गण्डकीमा ४० औं वार्षिक खेलकुद सकियो

आदर्श समाज सम्वाददाता
पौष २१, २०८०
sos (1)

पोखरा । एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४० औं वार्षिक खेलकुद कार्यक्रम शनिबार समापन भयो । जसमा अन्नपूर्ण सदन यस शैक्षिक सत्रको विजेता सदन विजयी भएको छ । गौरीशंकर उपविजेतामा सीमित भयो । धौलागिरि उत्कृष्ट मार्चपास्ड प्रस्तोता तथा माछापुच्छ«े सर्वाधिक अनुशासित सदन घोषित भए ।

त्यस्तै, कक्षा ११ र १२ तर्फ कक्षा ११ ‘क’ विजेता र कक्षा १२ ‘ग’ उपविजेता भए । विजयी विद्यार्थीलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य र प्रअ चूडामणि सुवेदीले संयुक्त रूपमा पुरस्कार प्रदान गरे ।

३ दिनसम्म चलेको उक्त खेलकुद कार्यक्रमको समापन गर्दै मन्त्रालयका सचिव प्रकाश पौडेलले नेपालमा शिक्षण पद्दतिको विकास गर्न नसकिएकाले देशमा बेरोजगारीको संख्या बढेको र त्यसैका कारण प्रतिभा पलायन हुन गएको बताए । ‘धेरै अभिभावकविहीन बालबालिकाको संरक्षण, लालनपालन र शिक्षादीक्षाको यथोचित व्यवस्था गर्दै आइरहेको एसओएसजस्तो परोपकारी संस्थालाई सबै पक्ष मिलेर अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘प्रदेशको शिक्षा, स्वास्थ्य, सामाजिकलगायत धेरै क्षेत्रको जिम्मेवारी बहन गर्दै आएको मन्त्रालय भएका नाताले एसओएसजस्तो मानवतावादी संस्थालाई सहयोग गर्नु हाम्रो पनि जिम्मेवारी हो भन्ने महसुस गरेका छौं ।’

एसओएस बालग्राम गण्डकी परियोजना निर्देशक प्रदीपभक्त आचार्यको अध्यक्षतामा भएको समारोहमा प्रअ चूडामणि सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । विद्यालय प्रअ सुवेदीले अभिभावक गुमाएका र गुमाउने जोखिममा रहेका बालबालिकाको संरक्षण गर्दै आएको विद्यालयले बर्सेनि उत्कृष्ट नतिजा प्राप्त गरी नेपालको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए । सार्वजनिक गुठीअन्तर्गत सञ्चालित एसओएसले कुनै नाफानोक्सान हिसाब नगरी विशुद्ध सेवामूलक भावना राखेर बालबालिकालाई शिक्षा प्रदान गर्दै आइरहेको र यस कार्यमा गण्डकी प्रदेशबाट निरन्तर सहयोग प्राप्त भएको सुवेदीले जानकारी दिए ।

एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक आचार्यले खेलकुदमा विद्यार्थीले प्रदर्शन गरेको प्रतिभाको प्रशंसासहित खेलकुद समारोहलाई सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति धन्यवाद ज्ञापन गरे ।

पोखरा १५ का अध्यक्ष तोरणबहादुर बानियाँ, एसओएस बालग्राम पोखराका परियोजना निर्देशक लोब्स्याङ ग्याल्ट्सेन, विद्यालय निरीक्षक कृष्णप्रसाद भण्डारी, कालिका माविका प्रअ बलराम गिरी, सिद्ध मावि प्रअ गुरुदत्त कोइराला, छोरेपाटनस्थित एसओएस व्यावसायिक तालिम केन्द्रका कार्यवाहक प्रमुख मोहन केसी, एसओएस बालग्राम गण्डकी उपनिर्देशकद्वय बाबुराम बराल र राजेन्द्र रेग्मी, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकी एकाइ अध्यक्ष टीकाराम सुवेदी लगायत उपस्थिति थिए । साथै एसओएस गण्डकीका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, एसओएस बालग्राम गण्डकी आमा प्रतिनिधि पार्वती पाण्डे, बालग्रामकी सेवानिवृत्त आमा शारदा पराजुली, एसओएस गण्डकीकी पूर्व शिक्षिका एवम् छात्रवृत्ति कोष स्थापक जया बराल, चिकित्सक डा. वर्षा बराल लगायतको सहभागिता थियो ।

कार्यक्रममा माध्यमिक तहका विद्याथीबीच विभिन्न दूरीका दौड, रिले दौड, हाइजम्प, लङजम्प, स्याक रेस, सर्ट पुट, टग अफ वारलगायत अन्तरसदनात्मक खेल सम्पन्न भए । शिशु कक्षाका विद्यार्थीबीच रिले रेस, बल पिक रेस, स्विट रेस, म्युजिकल चियर, बेलुन ब्रस्ट गेम, ओरेन्ज रेस, स्याक रेसलगायत खेल आयोजना गरिएका थिए । खेलकुद समारोहमा विद्यालयमा गठित विभिन्न ४ सदनमा आबद्ध विद्यार्थीले राष्ट्रिय गीतको धुनमा सुसज्जित विशेष मार्च पास्डका साथै विविध लोकसांस्कृतिक नृत्य पनि प्रस्तुत गरे । यस्तै ‘तायमाचा’ लोकसांस्कृतिक झाँकी पनि प्रदर्शन गरिएको थियो । अभिभावकबीच म्युजिकल चियर प्रतियोगिता र शिक्षिकाबीच टग अफ वारले रौनकता थपेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै