एमाले गण्डकीले १० करोडमा घर किन्ने

आदर्श समाज सम्वाददाता
पौष १४, २०८०
uml office

पोखरा । नेकपा एमाले गण्डकीले १० करोडमा घर किन्ने भएको छ । पोखरा ८ सिर्जनाचोकमा रहेको घर ९ करोड ६५ लाखमा खरिद गर्ने मौखिक सम्झौता भइसकेको सचिव धनन्जय दवाडीले जानकारी दिए । उनका अनुसार पास गर्दा १० करोडभन्दा बढी लाग्छ । ‘४ महिनाभित्र घर पार्टीको नाममा पास गर्ने सहमति भएको छ,’ उनले भने, ‘रकम चाहिँ पार्टी सदस्यबाटै उठाउने निर्णय गरेका छौं ।’

यसअघिको बैठकले प्रत्येक सदस्यबाट ५ सय नघट्ने गरी उठाउने निर्णय गरेको थियो । गण्डकीमा ६३ हजार पार्टी सदस्य रहेका एमालेको दाबी छ । पार्टी सदस्यबाट मात्रै ३ करोड १५ लाख भन्दा बढी उठ्छ । बाँकी रकम शुभेच्छुक र चन्दादाताबाट संकलन गरिने उनले बताए । ‘सहमति चाहिँ लिखित होइन, मौखिक हो । तर घर किन्ने निर्णय भएको पक्का हो,’ उनले भने, ‘फिनिसिङ गर्नुपर्ने भएकोले केही समय ढिलो भएको छ ।’ कास्कीकै मनबहादुर गुरुङको नाममा रहेको उक्त घरको बैना १५ लाख रुपैयाँसमेत एमालेले दिइसकेको छ । हाल उक्त घरमा रेडियो गोर्खाली छ । ब्रिटिस आर्मीका अवकाशप्राप्त गुरुङका योवाहेक अरु पनि घर छन् ।

एमालेले गण्डकी प्रदेश अन्तर्गत जिल्ला अधिवेशनहरु चैतभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । एघारै जिल्लाको अधिवेशन चैतभित्र सक्ने निर्णय भएको उपसचिव मन्जु अधिकारीले जानकारी दिइन् । त्यसअघि माघभित्र जनवर्गीय संगठनको अधिवेसन हुने बताइएको छ । बैठकले पार्टी कमिटिका सदस्यहरूको कार्य विभाजन पनि गरेको छ । निर्वाचन क्षेत्र, भूगोल, जिल्ला, पालिका, जनवर्गीय संगठन विभागीय जिम्मेवारी तोकिएको एमालेले जनाएको छ । पार्टीको प्रदेश कमिटी १ सय ६५ सदस्यीय छ । ‘सबैलाई कुनै न कुनै जिम्मेवारी पर्ने गरी निर्णय गरिएको छ,’ उनले भनिन्, ‘यो अवधिमा पार्टीलाई सकेसम्म सक्रिय बनाउन प्रदेश कमिटीले जोड दिन्छ ।’

बैठकलाई सम्बोधन गर्दै एमालेका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीको गतिविधिलाई व्यवस्थित बनाउन निर्देशन दिएका छन् । समृद्धिको नेतृत्व एमालेले मात्रै दिन सक्ने उनको दाबी छ । पछिल्ला वर्षहरुमा उल्लेख्य काम सरकारले देखाउन नसकेका कारण नागरिकमा निराशा बढेको उनले बताए । एमाले सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण बिष्टले पार्टीको सुदृढीकरणमा लाग्न आग्रह गरे । स्थायी कमिटी सदस्य खगराज अधिकारीले मिसन ८४ को अभिष्ट पूरा गर्न पार्टीका सबै कमिटी सक्रिय रहन अपिल गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width