टाइगर कप भलिबल प्रतियोगितामा १२ टिम

आदर्श समाज सम्वाददाता
पौष १३, २०८०
Tiger Cup Photo

पोखरा । चौथो टाइगर कप आगामी माघ १ देखि ६ गतेसम्म हुने भएको छ । उक्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला ६ र पुरुष ६ गरी १२ टिमले भाग लिने छन् ।

टाइगर ग्रुप अफ पोखरा नेपाल आयोजनामा पोखरा रंगशालाको भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र पारिएको शुक्रबार पत्रकार सम्मेलनमा अध्यक्ष नारायण शर्माले बताए । उनका अनुसार प्रतियोगिता लिग कम नकआउट आधारमा सञ्चालन हुनेछ ।

महिलातर्फ भारतको हरियाणा पुलिस क्लब, चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड महिला भलिबल टिम, आयोजक गण्डकी प्रदेशसँगै ३ विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबले भाग लिने छन् । पुरुषतर्फ श्रीलंकाको आर्मी टिम, हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेशको टिम, विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लबले भाग लिने छन् ।

हेल्प नेपालले पाकिस्तानी खेलाडी टिममा ल्याइसकेको आयोजकले जनायो । गण्डकीले पनि आफ्नो उपाधि रक्षाका लागि विदेशी खेलाडी भिœयाउने तयारी गरिरहेको अध्यक्ष शर्माले बताए ।

महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले समान २ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । तेस्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी, सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले ट्रफी साथमा जनही २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् भने अन्य विधातर्फ उत्कृष्ट खेलाडीले जनही १० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । जसमा उत्कृष्ट सर्भर, सेटर, बलकर, लिब्रो, स्पाइकर र कोच रहेका छन् ।
प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । दर्शकलाई सहज ढंगले खेल हेर्न प्यारापिटमा दर्शक क्षमता बढाइने संस्थाले जनाएको छ । गत संस्करणमा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ एएिएफ क्लब च्याम्पियन बनेका थिए ।

प्रतियोगिता सम्पन्न गर्न अध्यक्ष नारायणप्रसाद शर्माको अध्यक्षतामा १ सय १ सदस्यीय मूल आयोजक समिति तथा संस्थाका सदस्य दीपक कार्कीको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरिएको छ ।

प्रतियोगिता उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width