छोम्रोङमा सेन्चुरी ल्होसार मेला

आदर्श समाज सम्वाददाता
पौष १२, २०८०
chomrong mela

पोखरा । अन्नपूर्ण आधार शिविरको प्रस्थान विन्दु कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा २२ औं सेन्चुरी ल्होसार मेला २०८० सुरु भएको छ । सेन्चुरी युवा क्लबले आयोजना गरेको मेलाको गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले बिहीबार उद्घाटन गरे । मेला १५ पुससम्म चल्ने छ ।

मेलाको उद्घाटनपछि बोल्दै सांसद बरालले छोम्रोङमा अधुरो रहेको टेनिस कोर्ट निर्माण पुरा गर्ने प्रतिबद्धता जनाए । अन्नपूर्ण आधार शिविर पदमार्गको स्तरोन्नति गर्न पनि प्रदेश सरकारसँग बजेटका लागि पहल गर्ने उनले बताए ।

अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरूङले केन्द्रीय विद्युतको पहुँच अन्नपूर्ण आधार शिविरसम्म पु¥याउन पहल भइरहेको जानकारी दिए । त्यसका लागि टेण्डर आव्हान् भएर कार्यान्वयनको अन्तिम चरणमा पुगेको उनले बताए ।

मेलामा क्लबस्तरीय पुरूष भलिबल र बास्केटबल प्रतियोगिता, ठेलो प्रतियोगिता, रस्साकस्सी र घैंटो फुटाउने प्रतियोगिता हुने आयोजकले जनाएको छ । पुरूष भलिबल प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने सेञ्चुरी युवा क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए । बास्केटबल प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ३० हजार र २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । भलिबलमा १२ र बास्केटबलमा १७ टिमबीच प्रतिस्पर्धा हुनेछ । ठेलो हान्ने प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १० हजार र ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाउने अध्यक्ष गुरूङले जानकारी दिए ।

मेलाको पहिलो दिन बिहीबार साँझ अन्नपूर्ण ब्याण्ड छोम्रोङमा गुञ्जियो । बाँकी दिन लोकदोहोरी कलाकार र आदिम कला मञ्चले आफ्नो प्रस्तुति राख्ने आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width